संघर्षले मजदुर देखि करोडपति सम्म

तामाखानी सोलुखुम्बुका डिल्ली मगर पर्यटन भरियाको रुपमा खुम्बु क्षेत्र पुग्नुभयो । खुम्बुमा पर्यटन भरिया, होटल कामदार लगायतको मजदुरी गर्नुभएका शेर्पा अहिले स्याङबोचे विमानस्थल नजिक घर तथा होटल मालिक हुनुहुन्छ । 
स्याङबोचे बिमानस्थलमा हेलिकोप्टर उडानको चाँजोपाँजो मिलाउने काममा कहलिएका मगर कामदारबाट खुम्बुमा करोडपती मालिक बन्नुभएको छ । खुम्बुमा अन्यत्रबाट आएकालाई जग्गा किन्न समस्या हुने भएपनि खुम्बुकै युवतीसँग विवाह गरेपछि उहाँले त्यहाँ घडेरी किन्न संभव भएको हो । उहाँ भन्नुहुन्छ “भरियाबाट संघर्ष गरेको अहिले राम्रो छ” । 
त्यस्तै धादिङका दिल थापामगर १९ वर्ष अघि होटल कामदारका रुपमा नाम्चे आउनुभएको हो । करिब नौ वर्ष त्यसरी काम गरेपछि उहाँ आफैंले होटल चलाउन थाल्नुभयो । उहाँ यतिखेर स्याङबोचे स्थित खुम्बु माउन्टेन भ्यु लज, नाम्चेभित्रै होटल एभरेस्ट र नेस्ट गरी तीन होटलका सञ्चालक हुनुहुन्छ । काभ्रे तिमालका राम लामा पनि ११ वर्षअघि खुम्जुङ ६ देबुचेमा काम गर्न आउनुभएको थियो । चार वर्षयता उहाँ स्योमारेमा हिमालयन लन्च स्पट चलाइरहनुभएकोछ । सिजनमा राम्रै कमाइ हुने उहाँले बताउनुभयो । 
यी तीन जना प्रतिनिधि पात्र हुन् । खुम्बु क्षेत्रमा कामदार मालिक बनेका निकै उदाहरण छ । “कम्तीमा दुई दर्जन जतिले कामबाट कमाएको पैसाले आफैं होटल चलाउन थालेका छन्” व्यवसायी डिल्ली मगरले भन्नुभयो । यस क्षेत्रमा घरजग्गा किन्न नपाइने भएकाले भाडामा घरजग्गा लिएर होटल चलाउनुपर्छ अथवा त्यतैका युवतीसँग विवाह गरेमा उनिहरुको नाममा किन्न पाईन्छ । 
चौरीखर्क नाम्चे र खुम्जुङ गाविसलाई खुम्बु क्षेत्र भनिन्छ । यस क्षेत्रमा कम्तीमा हजारभन्दा बढी होटल छन् । लुक्ला, चौरीखर्क घाट, ठाडो कोसी, फाक्दिङ, राङदिङ, टोकटोक, बेंकर, मोन्जो, जोरसल्ले, नाम्चे, खुम्जुङ, स्याङबोचे, पाङबोचे, स्योमारे, दिङबोचे, फेरिचे, थुक्ला, लबुचे हुँदै गोरक्सेपसम्मनै होटल रहेका छन् । 
होटल व्यवसाय सुरुवात गर्ने शेर्पा समुदाय भए पनि बिस्तारै उनीहरु राजधानी र युरोपतिर जान थालेपछि जिल्लाको अन्य गाविस तथा बाहिरी जिल्लाबाट आउने कामदारहरु आफैं मालिक बन्न थालेका हुन् । “पर्यकीय क्षेत्र भएकाले होटल व्यवसाय गर्न चाहनेका लागि खुम्बु क्षेत्र राम्रो सम्भावना बोकेको ठाउँ हो, त्यसैले यहाँ सामान्य तलबमा काम गर्न आउने कामदारहरु करोडपति बन्न थालेका उदाहरण धेरै छन्” खुम्जुङका दोर्जी शेर्पाले भन्नुभयो । यसरी बिभिन्न क्षेत्रबाट आउने थुप्रै कामदारहरु खुम्बुमा मालिक बनेका छन् भने धेरैले उतै वैवाहिक सम्बन्ध पनि गाँसेका छन् ।