अपाङगताका अभिभावकको बिजोग

विवश  चेतन कुलुङ
“चारोटा छोराछोरीलाई फाप्लु अस्पतालमा लगेको हजुर ७ हजार ऋण प¥यो, अब त व्याज सहित डबल भईसक्यो” गुदेल ४ सोलुखुम्बुका पट्टबहादुर कुलुङले भने । उनका आठ जना छोराछोरीमध्ये ४ जना अपाङगता भएका छन् । गरिवीले नराम्रोसँग पिरोलिरहेका कुलुङ भन्छन् “यिनीहरुलाई लाउन, खान दिन अफ्ठेरो परेको छ, कोही नातेदारले थाङ्नाथुङ्नी दिए, कसैले पैसा पनि दिए, सरम लाग्छ तर सरम लागेर पनि के गर्नुर उनिहरुको ज्यान त बचाउनै प¥यो” आफ्ना अपाङ्गता भएका छोराछोरीको लाज ढाक्न र दुईछाक ख्वाउनकै लागि धौ—धौ पर्ने कुलुङले कुनै पनि छोराछोरीको उपचार गराएका छैनन् । ५ बर्षजती पहिले फाप्लुमा अपाङगता भएकाहरुको उपचारका लागि शिविर बसेको बेलामा उपचार गराउनका लागि चारजना छोराछोरी आउन जान ७ दिन लाग्ने बाटोमा बोकाएर पु¥याएकोे भएपनि त्यहाँ केही उपचार भएन । त्यहि बेला लागेको ७ हजार ऋण अहिले दोव्वर भएको गुनासो कुलुङ बारम्बार दोहो¥याउँछन् । आफ्ना चार जना सवलाङ्ग छोराछोरीलाई नै पढाउन नसकेका कुलुङ भन्छन् “अपाङगहरुलाई त कसरी स्कुल पठाउनु र घरमा पनि गोठालो लाग्न नसकेर कोही बेला घरभित्र थुनिराखेर काम गर्न हिड्नुपर्छ, मेरो पुर्पुरो नै उस्तो” कुराकानीका क्रममा कुलुङले आँखाभरी आँशु पार्दै थाप्लोमा हात राखेर आफ्नै भाग्यलाई गालि गरे ।
गुदेल १ सोलुखुम्बुकी धनकुमारी कुलुङको पिडा पनि पट्टबहादुरको भन्दा कम छैन । बिबाह गर्ने उमेर भईसकेका २ जना छोरीलाई कोक्रोमा बोकेर आफ्नै हातले खान ख्वाउँदै गरेकी कुलुङले भनिन् “एउटी १८ र अर्की १६ बर्षकी भइसके, बच्चाहरुलाई जस्तै स्याहार गर्नुपर्छ, काम गर्न   जानुकी उनिहरुको स्याहार गर्नु” रुन्चै हाँसोमा ठट्टा गर्दै कुलुङले भनिन् “बिहे गरेर उनिहरुको बच्चा खेलाउने बेला भईसक्यो उनिहरुलाई नै खेलाउनु पर्छ” कुलुङहरुको बाहुल्यता रहेको सो बस्तिमा प्राय सबैजसो महिलाहरु १६ देखी १८ बर्षमा आमा बनिसकेका हुन्छन् । उनका दुईजना अपाङग छोरीहरुले सामान्य मानिसले खाने खाना खान सक्दैनन् । त्यसलै पनि धनकुमारीलाई छोरीहरुका लागि खाना जुटाउन मुस्किल छ भन्छिन्“गरिव छौं हजुर खोलेफाँडो खाएर बाँच्नुपर्ने यिनिहरु बजारको खाना मात्र खान्छन्” समस्या निकै चर्को छ ।
अपाङगता भएकाहरुको लगत राख्ने र उनिहरुलाई परिचयपत्र दिने कार्यालय महिला तथा बालबालीका कार्यालय सल्लेरीका अनुसार सोलुखुम्बुको बुङ, छेस्काम र सोताङगरी तीनवटा गाविसमा मात्र १ सय २ जना अपाङगता भएका व्यक्तिहरु छन् । जसमध्ये १७ जना पूर्ण अपाङगता अथवा क बर्गका  छन् । उनिहरु खान, सौचालय जानदेखी हरेक क्षण अरुको साहारामा बाँच्नुपर्छ । महिला तथा बालबालीका कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार जिल्लाको गुदेल गाविसमा ४४ जना अपाङगताहरु रहेका छन् । जसमध्ये क बर्गका ६, ख बर्गका १०, ग बर्गका ७ र घ बर्गका २१ जना छन् । त्यहाँ २३ जना महिला र २१ जना पुरुष रहेका छन् । छेस्काम गाविसमा १३ महिला र १४ पुरुष गरी २७ जना अपाङगताहरुमध्ये क बर्गको ५ जना, ख बर्गको ११ जना, ग बर्गको ६ जना र घ बर्गको ४ जना छन् । त्यस्तै २२ पुरुष र ८ महिला गरी ३१ जना अपाङगताहरु रहेको बुङ गाविसमा क बर्गका ६, ख बर्गका ९, ग बर्गका ३ र घ बर्गका १३ जना रहेका छन् । अपाङगताहरुको अबस्थाअनुसार जटिललाई क बाट क्रमस कम जटिलको बर्गिकरण गरिएको छ ।
भौगोलिक बिकटता, आर्थिक अभावजस्ता समस्याले सताईरहेको सोलुखुम्बुको कोशीपारिका ३ गाविस बुङ, छेस्काम र गुदेलमा अपाङगताहरुको समस्या निकै जटिल छ । धेरैजसो अपाङगताहरुले बिद्यालय जान पाएका छैनन् । पूर्ण अपाङगता भएकाहरुलाई सरकारले सामाजिक सुरक्षाको भत्ता अन्तर्गत प्रतिमहिना १ हजारका दरले भत्ता दिने व्यवस्था भएपनि तीनवटै गाविसमा कसैले पनि प्रतिमहिना १ हजार भत्ता नपाएको जिल्ला अपाङग समन्वय समिति सोलुखुम्बुकी संयोजक नर्बदा गिरीले दावी गरिन्् । कोटा अनुसार रकम आउने र अपाङगताहरु धेरै भएकोले सबैलाई बाँढेर दिने गरेकोले बर्गअनुसार भत्ता दिन नसकेको छेस्काम गाविसका सचिव चन्द्रप्रसाद लुईटेलले बताए । उनका अनुसार प्रति अपाङगता मासिक ३ सयका दरले भत्ता दिएको भएपनि धेरैसँग अपाङगता परिचय पत्र नभएकोले पाएका थिएनन् । “यसपटक घुम्ति शिविरमा परिचयपत्र बितरण गरिएको छ अब सबैले पाउँछन्” स्थानीय विकास अधिकारी चिरञ्जीवी तिमिल्सीनाका अनुसार एकमुष्ट रकम आएको र कम रकम आएकोले अपाङगताको बर्गअनुसार भत्ता नपाएका हुन् । उनले भने“यसपटक माग गर्नुको साथै तथ्याङक संकलन र परिचयपत्र बितरण भएको छ, कानुनमा भएको व्यवस्था अनुसार भत्ता दिन सचिवलाई निर्देशन दिएको छु,”
समस्या नै समस्याले भरिएको छेस्काम गाविसका अपाङगताहरु थप समस्यामा छन् । शिक्षा तथा बिभिन्न तालिमहरुको पहुँच त हैन खान लगाउन पनि निकै असहज छ । यस्ता बिकटता र दुर्गमका अपाङगताहरुलाई खान, बस्न तथा शिक्षा र तालिमको जिम्मेवारी राज्यले लिनुपर्ने अपाङगता भएका अभिभावकहरु माग गर्छन् ।
                                                                                 mcbkulung@gmail.com