दर्जी दाई टालटुलमा सिमित

परम्परादेखि हाते मेसिन गाँउ गाँउमा घुमाउँदै कपडा सिलाएर जिविकोपार्जन गर्ने कालीगडहरुको व्यवशाय आधुनिक किसिमका खुट्टे मेसिन र विद्युतीय मेसिनका कारण संकटमा पर्दै गईरहेको छ ।
पहिले बाजेको पाला देखि नै हाते मेसिनले कपडा सिलाएर एक परिवारलाई सहजै पाल्न सक्नेहरु अहिले दिनभरी काम गरेर एक दुई सय मात्र हुने गरेको बताउछन् । पहिले जस्तोसुकै कपडा पनि हाते मेसिनले नै सिलाउने गरेको थियो भने अहिले थोत्रो कपडा मात्र टाल्ने गरेका छन् । 
 विगत १४ वर्ष अघिलेखि सल्लेरीमा लाग्ने साप्ताहिक हाटमा हाते मेसिनले कपडा सिलाउदै आउनु भएका तिङलाका मान बहादुर नेपालीले पहिले आफ्नो घरखर्च मजाले जुटाउने गर्नुभएको थियो । तर अहिले काम नभएकोले दुई चार रुपैयांमै चित्त बुझाउनुपर्छ ।  
 पहिले व्यवशायीक रुपमा हातेमेसिन चलाउने गरेका कृष्ण बहादुर नेपाली अहिले आफ्नो व्यवशाय नै आधुनिक मेसिनले ठप्प बनाएको बताउनुहुन्छ “पहिला जुनसुकै कपडा सिलाउनु परेपनि हाते मेसिनले सिलाउने गरेका थियौँ भने अहिले थोत्रो मात्र टाल्ने गरेको छु ।”
 पहिले प्रतिस्पर्धा पनि कम थियो भने अहिले धेरै प्रतिष्पर्धा गर्नु पर्ने हुन्छ भने अहिले आधुनिक किसिमका मेसिनहरु बजारमा आएकोले हाते मेसिनले प्रतिष्पर्धा गर्न नसकिने जोगडाबाट सल्लेरीमा लुगा सिलाउन आउनु भएका कालीगड टेक बहादुर नेपालीको भनाई छ । 
 हाते मेसिन चलाउनेसँग इन्टरलक, आईरन जस्ता सुविधा नभएकोले पनि पाखा लागेको भुपाल नेपालीको भनाई छ । उहाका अनुसार हाते मेसिन चलाउने कालीगडले यस्ता सुविधा दिन पनि गाह्रो भएकोले काम पनि नपाएको हो ।
 पछिल्लो समयमा हाते मेसिन चलाउने कालीगडहरु विस्तारै विस्थापित भईसकेकोले परम्परागत रुपमा हाते मेसिन चलाउदै आएका व्यवशायीलाई समस्या हुने गरेको छ । त्यसैले आधुनिक सामाग्रीको प्रयोग गर्नुको विकल्प नरहेको देखिन्छ ।