बास नबसी गाविस भवन पुगिदैन

सोलुखुम्बु वाकु गाविस वडा नं. ४ सिबुचेका स्थानीयहरुलाई आफ्नै गाविस भवनसम्म पुग्नका लागि पनि बास बस्नु पर्दछ । भौगोलिक विकटताले गर्दा सिबुचेबासीलाई आफ्नै गाविस भवनसम्म पुग्नका लागि बास बस्नु पर्ने बाध्यता भएको हो । 
गाउँ विकास समितिको सेवा सुविधा लिनको लागि त्यस भेगका स्थानीयहरुलाई मर्का परेको उनीहरुको भनाई छ । आफ्नै गाविस भवन पुग्नको लागि दुई दिनको समय लाग्न भएकोले अबको समयमा वाकुको सिबुचेलाई जुभिङ गाविसमा गाभ्न पाएमा सिबुजेबासीलाई सहज हुने स्थानीयहरु बताउछन् ।  
आफ्नै गाविसको भवनसम्म पुग्नका लागि एकदिन भन्दा बढि समय खर्च गर्नु पर्ने अवस्थाले गर्दा धेरै समस्या भईरहेको वाकु ४ सिबुचेका पासाङ नुरु शेर्पाको भनाई छ “आफ्ना गाविस जानु भन्दा धेरै नजिक जुभिङ गाविस पर्छ । सिवुजे गएर कामकाज गरेर आउनको लागि त कम्तिमा तीन दिनको समय खर्च गर्नु पर्छ ।”
भोट हाल्न जाँदा बास बस्नु परेको, गाविसको सिफारिस लिएर घर फर्कदा तीन दिन लागेको, गाविस सचिव नभेद्दा दुईदिनसम्म फर्केर आउनु परेको, यी र यस्ता थुप्रै समस्याहरु यहाँका स्थानीय बासिन्दाहरुले भोगिरहेका छन् । वाकु गाविसको वडा नं. ४ को यो बस्तीलाई जुभिङ गाविससँग गाभ्नका लागी अहिले आएर मात्र महशुस भएको होइन, पञ्चायत कालीन समयदेखि नै पटक–पटक गाउँ भेला गरी निर्णय समेत गरेर पठाएको सिबुचेका पासाङ नुरु शेर्पा स्मरण गर्नु हुन्छ “हामीले पटक पटक हामीलाई गाविस भवन पुग्नको लागि समस्या भयो भनेर माग गरेका नै हौं तर हाम्रो माग सुनुवाई नै भईरहेको छैन ।”
तर हालसम्म भएका प्रयासहरु सबै खेर गएका छन् । उनीहरुका अनुसार सिबुचेलाई जुभिङसँग गाभ्न सकेको खण्डमा राज्यबाट पाउने सेवा सुविधा समेत प्राप्त गर्न सजिलो हुन्छ । गाविसको कार्यालयदेखि टाढाको दूरीमा रहनु परेको कारण उनीहरुले राज्यबाट लिनु पर्ने सेवा सुविधा समेत लिन पाएका छैनन् । सिबुचे बासीले जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता जस्ता पञ्जीकरण सम्बन्धिका कामहरु गरेका छैनन् भने मालपोत कर समेत बुझाएका छैनन् । 
दुर्गम गाविसका यी मानिसहरुले राज्यको नागरिकको हैसियतले पाउनु पर्ने सेवा सुविधा पनि पाएका छैनन् । हालसम्म दुर्गम भेगका जनताको लागि सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको चामल र नुनको स्वाद यहाँका बासिन्दाले लिन  नपाएको  स्थानीय बासिन्दा पासाङ नुरु शेपा  बताउनु हुन्छ । गाविसबाट प्रदान गरिने सेवा सुविधाहरु सिबुचेसम्म कमै पुग्ने गरेको छ ।