हटेन मानापाथीको चलन

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाटमा अझैपनि मानापाथीको प्रयोग भईरहेकोछ । नापतौलको व्यवस्था अनुसार खरिद बिक्री गर्दा मानापाथीको चलन अबैधानिक हुने भएपनि सदरमुकाम सल्लेरी स्थित सार्वजनिक हाटमा नै मानापाथीको प्रयोग भईरहेको हो । 
आफ्नै घरमा उत्पादन भएका अन्न लगाउत बिक्रीका लागि ढक तराजु खरिद गर्न नसक्नु र मानापाथीकै चलन हुनुले यसको प्रयोग भईरहेको व्यापारीहरु बताउँछन् भने ग्राहक कसको मानापाथी ठुलो र सानो भन्दै खोजी गरिरहेका हुन्छन् ।  नेलेबाट मकै बिक्री गर्न आउनु भएका भिम बहादुर कार्की मानाले भरेर मकै बेच्दै हुनुुहन्थ्यो । उहाँ भन्नुहुन्छ “केही पाथी अन्न बेच्न कहाँबाट ढक तराजु किन्नु र ?” । नापतौलको सर्वमान्य ईकाईको प्रयोग गर्नुपर्ने व्यवस्था रहेको भएपनि सल्लेरीको साप्ताहिक बजारमा परम्परागत नापतौलको साधन मानापाथी चलनमा छ । 
मकै किन्न लाग्नुभएका सल्लेरी ५ का गोपी निरौला कसको माना ठुलो भनेर खोज्दै हुनुुहुन्थ्यो उहाँले भन्नुुभयो “मानापाथी व्यक्तिपिच्छे साना ठुला छन्, कहाँ ठुलो छ भन्दै खोज्दैछु” । बजारमा मानापाथीको प्रयोग खुल्ला रुपमा भईरहेकोछ भने मानापाथीको आकार सानो ठुलो हुने गरेको ग्राहकहरुको भनाईछ । तिंलाका व्यापारी रेवतकुमार कार्की आफै मानापाथी सानो ठुलो हुने स्विकार्नुहुन्छ । 
जिल्ला बजार अनुगमन समिति सोलुखुम्बुले पछिल्लो समयमा बजार अनुगमनको कामलाई तिब्रता दिईरहेको छ । तर मानापाथीमा भने उसको ध्यान नगएको पाईन्छ । किन त ? जिल्ला बजार अनुगमन समिति सोलुखुम्बुका संयोजक चौमेन्द्र न्यौपाने भन्नुहुन्छ “प्राय गाउँबाट आफ्नै उत्पादन ल्याएर बेचिरहेका छन्, त्यसैले हामीले कडाई नगरेको हो, अहिलेका लागी आफ्नो उत्पादन बिक्री गर्नेलाई कारबाही नगरेको भएपनि मानापाथीको प्रयोग बिरुद्ध कारबाही शुरु हुन्छ” 
सदरमुकाम स्थित साप्ताहिक हाटमा अहिलेपनि खुलेआम मानापाथीको प्रयोग भईरहेकोछ । चलनमा रहेको कारण परम्परागत मानापाथीको प्रयोग तत्काल हटाउन व्यवहारीक कठिनाई भएपनि चेतनामुलक कार्यक्रम गरी निस्चित अबधिभित्र यस्ता नापतौलका साधनलाई बिस्थापित गर्नुपर्छ । अहिलेपनि मानापाथी सानोठुलो हुने गुनासो रहेकोले बजार अनुगमण समितिले यसमा ख्याल गर्नैपर्छ ।