टुट्दैछ सम्बन्ध

सोलुखुम्बुमा श्रीमान् र श्रीमतीबीच असमझदारीका कारण सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गईरहेको छ  । जिल्ला अदालत सोलुखुम्बुमा विगतका वर्षहरुमा वार्षिक रुपमा तीन÷चार वटा मात्र सम्बन्ध विच्छेदका मुद्धाहरु दर्ता हुने गरेको थिए । तर पछिल्लो दुई आर्थिक वर्षमा सम्बन्ध विच्छेदको मुद्धा बढेको जिल्ला अदालत सोलुखुम्बु तहशिल शाखाका तहशिलदार बाबुराम बस्नेतले बताउनुभयो ।
जिल्ला अदालत सोलुखुम्बुमा आर्थिक वर्ष ०६९÷०७० मा १५ वटा मुद्धा दर्ता भएको छ भने आर्थिक वर्ष ०७०÷०७१ मा ११ वटा मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष ०७०÷०७१ मा दर्ता भएका मुद्धा मध्ये अंश दावी सहित छ वटा मुद्धा दर्ता भएको छ भने अंश दावी नगरिएको पाँच वटा मुद्धा रहेकाछन् । 
श्रीमान्ले दर्ता गरेको मुद्धा गाविसले हेरेर दुई वर्षपछि मात्र अदालतमा आउने व्यवस्था भएकोले श्रीमतिले दर्ता गरेको मुद्धा मात्र जिल्ला अदालतमा रहेको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ । गाविस सचिव हकहित संरक्षण केन्द्र सोलुखुम्बुका अध्यक्ष पशुपति पोखरेलका अनुसार जिल्लाको ३४ वटै गाविसमा श्रीमान्ले श्रीमती विरुद्ध कुनै मुद्धा दर्ता नगरेको बताउनु भयो । 
जिल्ला अदालत सोलुखुम्बुका तहशिलदार बाबुराम बस्नेतका अनुसार जिल्ला अदालतमा दर्ता भएका मुद्धालाई हेर्दा उमेरका कारण हेला, कुटपिट, मादक पदार्थ सेवन लगायतका मुद्धा रहेको छ । अहिले महिलाहरु सचेत भएकोले सम्बन्ध विच्छेदको मुद्धा दर्ता बढेको घरेलु हिंशा तथा प्रभावितका लागि सेवाकेन्द्र सोलुखुम्बुका अध्यक्ष एकाकुमारी बस्नेतले बताउनुभयो ।