आफन्तबाटै असुरक्षित

विवश कुलुङ
बालिकाको मुख्य संरक्षक को हुन सक्छ ? आफ्नो आमा, बुबा, दाई, दिदी, काका, काकी, मामा, वा नजिकको आफन्त । आफन्तभन्दा बढि कहा सुरक्षित महशुस गर्न सक्छन् बालबालिकाहरु ? तर पछिल्लो समयमा सोलुखुम्बुको बालिका हिंसा र बालिका बलत्कारको घटनालाई हेर्ने हो भने आफन्तबाट नै बालिकाहरु असुरक्षित भईरहेका देखिन्छ । बालबालिकाले आफ्नो संरक्षक मानेको व्यक्तिबाट नै सुरक्षा नपाएपछि सोलुखुम्बुका बाल अधिकार कर्मीहरु चिन्तित देखिएका छन् । 
बालिका हिंसाका पछिल्लो तथ्याङ्क हेर्दा २०७० साल चैत्र २५ गते बासाका ३० वर्षिय मंगले राईले आफ्नै फुपुकी ५ वर्षिया छोरीलाई जबरजस्ती करणी गरे । घरमा कोही नभएको अवस्थामा परिवर्तित नाम रमालाई उनले ललाई फकाई बलात्कार गरेका थिए  । यसरी हेर्दा मिठो खानेकुरा दिने बहानामा घरमा कोहि नभएको मौका वा एकान्त लगेर बालिकाहरुलाई बलत्कार गर्ने क्रम अत्यधिक मात्रामा बढिरहेको छ । 
बासामा घटना भएको पाँचदिनपछि चैत्र ३० गते सल्लेरीका रिञ्जी शेर्पाले १४ वर्षिया आफ्नै छोरीलाई बलात्कार गरे । रातको ११ बजे धारिलो हतियार देखाएर परिवर्तित नाम नितालाई उनले बलात्कार गरेका थिए । सानो नानीहरुलाई विभिन्न किसिमको आश्वासन दिएर बलत्कार गर्ने गरेका पाईन्छ भने किशोरी अवस्थामा पुगेकालाई भने ज्यान मार्ने धम्की दिएर बलत्कार गरेका पाईन्छ ।
 सोहि दिन अर्काे पनि त्यस्तै बलत्कारको घटना घटेको छ । सोहि दिन अथवा चैत्र ३० गते नै चौरीखर्कका पासाङ नुरु शेर्पाले छिमेककी ९ वर्षिया बालिकालाई बलात्कार गरे । चकलेट दिन्छु भन्दै पिडक शेर्पाले आफ्नै घरमा ति बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुसन्धानले देखाउँछ ।
 यस्तै २०७१ साल बैसाख ९ गते आफ्नी भान्जीलाई जबरजस्ती करणी गर्ने तिङलाका जाङबु शेर्पा पक्राउ परे । तिल्पुङ जंगलमा बस्तु चराउन गएकी परिवर्तित नाम विन्दुलाई जबरजस्ती करणीको प्रयास गरिएपछि उनी फुत्किएर घर पुगेकी थिईन् । 
गाउ गाउमा जनचेतनाको अभावका कारण यस्तो बाल हिंसाका घटना बढिरहेकोले गाउ गाउमा जनचेतना मुलक कार्यक्रमको आवश्यकता भएको  जिल्ला बाल अधिकार अधिकृत पुष्पलता बानस्तोला बताउनु हुन्छ । “ज्यान मार्ने धम्की दिएर आफुमाथी यौन पिपासु आईलागे पछि बलात्कृत हुन बाध्य भईरहेका छन् । जिल्लको विभिन्न स्थानबाट त न्यायको ढोकासम्म पनि नआउने भएकोले हामीलाई थाहा हुदैन”
जो बलत्कृत हुन्छ त्यसैको इज्जत जान्छ भन्दै अधिकाँश घटनाहरु गाउमा नै छोप्ने गरिएको अधिकारकर्मीेहरु बताउछन् ।
यसरी बलत्कारको तथ्याङकलाई हेर्ने हो भने बालीका बलात्कार तथा यौन हिंसाका घटनाहरु अफ्नै अभिभावक, नातागोता तथा छिमेकीहरुबाट भएको पाईन्छ । यौनका कुरा नबुझ्दै र शारीरिक अगंको विकास नभएका बालिकाहरु आफन्तबाट असुरक्षित हुने गरेको तथ्याङकबाट पनि प्रष्ट भएको सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक बद्रिबिक्रम थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “यस्ता अधिकाँस घटनाहरु पिडकले माद्यकपदार्थ सेवन गरेको समयमा हुने गरेकोछ” । अभिभावकहरुले नै यौनहिंसा गर्नेकुराबाट बालिकाहरु बढि जोखिममा देखिने प्रहरी नायव उपरिक्षक थापाको भनाईछ । अहिले जनचेतना बृद्धिका कारण घटना सार्वजनिक भएको तर यस्ता घटना भने पहिले पनि हुने गरेको प्रनाउ थापाको भनाई छ ।
अहिलेको समयमा अपराधीलाई राजनितिक दलहरुले संरक्षण गर्नाले पनि अपराधिक क्रियाकलापको घटनाहरु बढिरहेकोले अपराध न्युनिकरण गर्न  राजनितिक दलले अपराधिलाई संरक्षण नगर्नु पर्ने ईन्सेक जिल्ला प्रतिनिधी पासाङ बम्जनको भनाई छ । “जो कोहिकसैले अपराध गरिहलेमा पनि मेरो पार्टीको सदस्य हो भन्दै अधिकारकर्मीमाथि राजनितिक दलले दबाव दिने गरेकोले यसको अन्त्य भए मात्र अपराधिक कृयाकलापको अन्त्य गर्न सकिन्छ ।”
घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीका अध्यक्ष एकाकुमारी बस्नेत जिल्लामा हुने अधिकाँस यौन हिंसाका घटनाहरु आफन्त तथा छिमेकीहरुबाट नै हुने गरेको बताउनुहुन्छ । सचेतना अभावमा यस्तो घटनाहरु हुने गरेको अध्यक्ष बस्नेतको भनाई छ । जिल्ला बालकल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उदब तिमल्सिना पनि आफन्तबाट बालिका बलात्कारमा पर्ने गरेको बताउनुहुन्छ । अब यसको लागि सम्बन्धित कार्यालय तथा संघसंस्थाले सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमिल्सिना बताउनु हुन्छ । 

अपराध भनेको न्यायको अगाडि कानुन विपरित हो भने धर्मका अगाडि महापाप हो त्यसैले जस्तोसुकै अपराधीलाई पनि हामी सबैले  कानुनी दायरामा ल्याएर कारवाही गर्नै पर्छ । यसको साथमा बालिकामाथि हुने बलात्कार जस्ता जघन्य अपराधिक कृयाकलाप घटाउन जनचेतनामुलक कार्यक्रम पनि गर्नु आवश्यक छ ।