बालविवाह चुनौतिको विषय

विवश कुलुङ
बाल विवाहको मुख्य कारण के हुन सक्छ ? गरिबी, अशिक्षा, बेरोजगार वा अन्य कुनै समस्याका कारण पनि हुन सक्छ । सोलुखुम्बुको गुदेलमा विद्यालय उमेरका बालबालिको विवाह हुने समस्या जटिल बन्दै गई रहेको छ । बाल विवाह रोकथामका लागि गुदेल माध्यमिक विद्यालयले धेरै पहल गरेको भएपनि खासै उपब्धिमुलक उपाय अप्नाउन नसकेको देखिन्छ । 
विद्यालयमा बालविवाह धेर्रै हुन थाले पछि विवाह गरेका बिद्यार्थीहरुबाट बाल विवाह नहोस भनि विवाह शुल्क असुल्न थालेको ४ वर्ष भईसकेको छ तर विद्यालय उमेरका बालबालिकाहरु विवाह शुल्क विद्यालयमा तिर्न तयार भएर रकम तिरीरहेका छन् तर कुनै रोकथाम हुन नसकेको विद्यालयका प्रधानाध्यपक खड्ग राज कार्कीले बतताउनु भयो । ‘यो जटिल समस्याको रुपमा आएको समस्या हो यसको न्युनिकरण विद्यालयले मात्र कोशिस गरेर सम्भव नभएकोले सबै सरोकारबालाले चासो दिनु पर्छ । साथै अभिभावक पनि सचेत भई आफ्नो बालबालिकालाई बालविवाहको फाईदा के छ बेफाईदा के छ, विवाह कति समयमा गर्नु पर्ने सबै विषयमा सचेत गराउनु आवश्यक छ ।’
विद्यालय र विद्यालय व्यवस्थाप पक्षले विगतमा बालविवाह रोक्नका लागि गरेको प्रयासलाई प्रधानाध्यपक यसरी सम्झनुहुन्छ ‘नियम हामी शिक्षकले बनाएको पनि हाईन, विद्यालय व्यावस्थापन समितिले बनाएको पनि होईन, यो त विद्यार्थीहरुले नै चुनावि प्रकृयाबाट बनाएको नियम हो” । विद्यालयमा धेरै बालविवाह हुन थाले पछि के गर्ने भन्ने विषयमा छलफल भयो अनि विद्यार्थीहरुबाट पनि सल्लाह लिदा कसैले विहे गरेको विद्यार्थीलाई यस विद्यालयबाट नै हटाउनु पर्ने माग गरे, कसैले एक वर्ष पढ्न नपाउन जस्त माग गरे भने कसैले विद्यालयमा पैसा तिर्नु पर्छ भन्ने माग गरे । यस  विषयमा निर्णायक जिम्मा कसैले नलिएर विद्यार्थीहरु चुनावी प्रकृयामा गएपछि यस्तो नियम लागु भएको हो ।’
बाल विवाह हुने तरिका पनि अचम्मको पाईएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिच प्रेम सम्बन्ध रहन्छ । प्रेमसँगै शारिरीक सम्पर्क पनि हुन थालेपछि जव बालिका गर्भवति हुन्छ तव मात्र विवाह हुने गरेको छ । यसरी गर्भवती भएपछि विवाह हुदा विद्यालय छाड्ने छात्राको संख्या पनि धेरै रहेको विद्यालयले जनाएको छ । 
बालविवाह  बढ्नुको मुख्य कारण गरिबी जस्ता जटिल समस्या नभई अभिभावकले आफ्नो अभिभावकत्व निर्वाह गर्न नसक्नु हो । आफ्नो छोरा छोरी विद्यालयमा हाजिर हुन्छ की हुदैन । पढ्छ कि पढ्दैन । आफ्नो छोराछोरीको शैक्षिक सुधार कस्तो छ । यि र यस्ता जानकारी विद्यालयसँग वर्षमा एक पटक पनि अभिभावकले नलिएको प्रधानाध्यपक कार्कीले बताउनु भयो । यति मात्र होईन विद्यालयमा १० वर्ष पढ्ने विद्यार्थीको आमा बुबासँग चिनजान नै नभई विद्यालयबाट विद्यार्थीहरुले विद्यालय शिक्षा पार गरिसकेको प्रधानाध्यपकको तितो अनुभव छ । 
अनि विद्यालयबाट घर फर्केपछि आफ्नो छोरा छोरीले के काम गर्छ । गृहकार्य गर्छ कि गर्दैन त्यो पनि अभिभावकको वास्ता छैन । छोराछोरी साथीभाईको घर जाने निहुमा २ दिनसम्म घर बाहिर हिडे पनि खोजखबर गर्ने चलन समेत नहुदा स्वतन्त्रको नाममा विग्रिरहेको अभिभावकलाई थाहा नभएको गुदेल माविका शिक्षक यमुनाथ राई बताउनु हुन्छ । 
गरिबी, बेरोजगारी, अशिक्षाका कारण नभई नानीहरुलाई स्वतन्त्र रुपमा बाहिर छाड्नु नै सानो उमेरमा हुने बालविवाहको मुख्य कारण रहेको शिक्षकहरुको बुझाई छ । त्यसैले विद्यालयको एकल प्रयासले मात्र बालविवाहको रोकथाम गर्न नसकिने भएकोले स्थानीय स्तरमा रहेको संघसंस्था,  विद्यालय व्यवस्थापन समितिले विभिन्न किसीमका सचेतनामुलक कार्यक्रम ल्याउनु र अभिभावक पनि आफु सचेत हुनु आवश्यक छ ।