चलचित्रमा सक्षम नायिकाको अभाव छ

मिस नेपाल मलिना जोशी पहिलोपटक नायिकाका रूपमा देखिँदै हुनुहुन्छ ।  उहाँले अभिनय गरेको नेपाली चलचित्र ऋतु शुक्रबारदेखि नेपालभित्र र बाहिर जापान अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशहरूमा एकैसाथ प्रदर्शन सुरुभएको छ ।  मिस नेपाल–२०११ मा अरू प्रतिस्पर्धाको भन्दा एकदमै अलग जवाफ दिएर विजेता बन्नुभएकी मलिनाको चलचित्र क्षेत्रमा पनि आफ्नो आगमनले यस्तै फरक र अलग्गै पहिचानको नायिकाका रूपमा आफूलाई स्थापित गर्ने सोच छ तर चलचित्र ऋतुले दर्शकको मन कतिसम्म छुनेछ त्यो भने हेर्न बाँकी नै छ । 
मलिनाको विचारमा भने दर्शकलाई फरक खालको स्वाद दिन ऋतु अति नै उत्कृष्ट चलचित्र बनेको छ ।  सानैदेखि अरूभन्दा केही राम्री हुन र फरक देखिन मन पराउने मलिनालाई फोटो खिचाउने भनेपछि हुरुक्कै हुने बानी भएको स्मरण गर्नुहुन्छ ।  यही कारण पनि ग्ल्यामर, मोडलिङ, कलाकारिता जस्तो रमाइलो क्षेत्रबाट आफू टाढा हुन नसकेको उहाँको बुझाइ थियो ।  मिस नेपाल बनेपछि अति नै उत्साही बन्नुभएकी मलिना आफूले अभिनय गरेको पहिलो चलचित्र ऋतुबाट पनि त्यति नै उत्साहित देखिनुहुन्छ ।  ऋतु अहिलेसम्म नेपाली चलचित्रमा आएका लभ स्टोरीभन्दा फरक खालको बनेको दाबी गर्ने मलिनासँग गरिएको सङ्क्षिप्त कुराकानी

० अचेल के गर्दै हुनुहुन्छ ?
– मैले अभिनय गरेको चलचित्र ऋतुको प्रचारप्रसारमा व्यस्त छु । 
० मिस नेपाल मलिना चलचित्रको नायिकाका रूपमा देखिँदै हुनुहुन्छ कस्तो लागिरहेको छ ?
– मिस नेपाल हुँदा पनि मेरो एउटा सपना पूरा भएको थियो ।  आशा छ, मैले अभिनय गरेको चलचित्र ऋतुले मलाई अझै धेरै लोकप्रिय बनाउनेछ । 
० ऋतु कस्तो चलचित्र हो ?
– सामाजिक कथावस्तुमा आधारित पूर्णतः लभ स्टोरी नै हो ।  अलि फरक खालको युवाको मन छुने खालको छ । 
० अन्य चलचित्रमा पनि काम गर्ने सोच छ ?
– मलाई मन पर्ने कथावस्तु भएको चलचित्र भए अवश्य काम गर्छु । 
० मिस नेपाल भएपछि चलचित्रका लागि कतिको अफर आएको थियो ?
– धेरै नै आयो तर त्यतिबेला नायिका नै बन्छु भन्ने सोच बनाएको थिइन पछि बिस्तारै रहर यतातिर मोडियो । 
० प्रायः मिस नेपालहरूले त्यतिबेला सामाजिक काम गर्छु भन्नुहुन्छ पछि अरू नै क्षेत्रमा लाग्नुहुन्छ किन होला ?
– सामाजिक काम गर्ने मेरो चाहना हो आफ्नो तरिकाले ठूलो सानो सेवाका कामहरू गरिरहेको छु ।  धेरै सामाजिक सङ्घ, संस्थामा आबद्ध छु यसका लागि त पहिला आफू पनि सक्षम हुनुप¥यो समाजमा स्थापित हुनुप¥यो अहिले म त्यही दौडधुपमा छु । 
० मिस नेपाल हुँदा सबैजसोले जे भन्नुहुन्छ पछि त्यो कसैले पनि पूरा गर्न नसक्नुको कारण के होला ?
– मिस नेपाल हुँदा भविष्यमा के गर्ने भन्ने निक्र्याेल भइसकेको हुँदैन समय अनुसार सोच, रहर र चाहनाहरू फेरिँदै जाने भएर पनि होला । 
० मिस नेपालको ताजले के दियो जस्तो लाग्छ ?
– मिस नेपालले समाजमा एउटा नामसहितको पहिचान दियो त्यसलाई सुरक्षित राख्नका लागि पनि केही राम्रो काम त गर्नैपर्छ । 
० भविष्यको सोच के छ ?
– समय अनुसार चल्दै जाने हो हेरौं के हुन्छ । 
० चलचित्रमा निरन्तरता दिनुहुन्छ नि ?
– नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट चलचित्र र सक्षम नायिकाहरूको अझै पनि अभाव छ ।  यो अभावलाई हामी जस्तै बौद्धिक वर्गहरूको आगमनले पूरा गर्नेछ ।  समय मिलेसम्म निरन्तरता दिनेछु ।