यातायात अभावमा चुनावी प्रचारमा समस्या

 हिमाली जिल्ला सोलुखुम्बुका उम्मेदवारहरु पैदल यात्राकै भरमा चुनावी प्रचारप्रसार गर्न वाध्य छन् । । कुनै पनि गाविस सडक यातायातले नजोडिएका कारण पैदलकै भरमा प्रचारमा जुटेका उनीहरु घुम्दा घुम्दा अब थकित भईसकेका बताउँछन् । संविधान सभाको निर्वाचन नजिकिदै गर्दा अन्य जिल्लाका राजनीतिक दलका कार्यकर्ताहरु गाडी र हेलिकप्टरबाट चुनावी प्रचारप्रसार गर्दै हिडेपनि सोलुका उम्मेदवारका लागि त्यो आकाशको फल आँखा तरी मर जस्तो मात्र भएको छ ।

३४ वटा गाउँ विकास समिति रहेको सोलुखुम्बु एउटै मात्र निर्वाचन क्षेत्र भएका कारण पनि उम्मेदवारलाई चुनावी प्रचारका लागि धौ धौ परेको हो । क्षेत्रफलको हिसावले ठूलो भुभाग ओगटेको सोलुखुम्बुको कतिपय एक मतदान केन्द्रदेखि अर्को मतदान केन्द्रसम्म पुग्नको लागि समेत एकदिनको समय खर्चनु पर्छ । दशै अघि देखि नै विभिन्न ठाउँमा आमसभा गर्दै हिडेका सोलुखुम्बुका उम्मेदवारका लागि भौगोलिक विकटताका कारण प्रचारमा बाधा पुगेको हो । उनीहरुका लागि यो समय समेत अति नै छोटो भएको विभिन्न दलका कार्यकर्ताहरु बताउँछन् ।

जिल्लाको उत्तरी हिमाली गाविसहरु नाम्चे खुम्जुङ र चौरीखर्क र बाँकी ३१ गाविसको क्षेत्रफल लगभग बराबरी छ । त्यसो छ नेपाली काँग्रेस सोलुखुम्बुले नाम्चे र खुम्जुङ गाविसमा समय अभावको कारण प्रचारप्रसारको जिम्मा स्थानीय कार्यकर्तालाई दिएको छ । समय अभावकै कारण ती गाविसहरुमा उम्मेदवार पुग्न नसकेको चुनाव प्रचार प्रसार समितिका संयोजक तथा जिल्ला कार्यसमितिका सचिव चन्द्र प्रसाद आचार्यले बताए । ‘समय र सडक यातायातको अभावले जिल्लाको टाप्टिङ, गोराखानी र केरुङलाई लक्षित गरेर सीसाखोलामा मात्र चुनावी सभा गर्ने कार्यक्रम राखेका छौं ।’ उनले भने ।

प्रचारप्रसारका लागि निक्कै आक्रमक देखिएको एकीकृत नेकपा माओवादीले समेत गाविसगत कार्यक्रम गर्न सकेको छैन । उसले समय नपुग्ने भएपछि तीन चार वटा गाविसको लागि एउटै स्थल तय गरी चुनावी सभा गर्दै आएको छ । माओवादीले टाप्टिङ, गोराखानी र केरुङको लागि तीनै गाविसको केन्द्रमा पर्ने गरी सीसाखोलामा कार्यक्रम राखेको जनाएको छ ।

नेकपा एमालेले पनि जिल्लाको नाम्चे र खुम्जुङ गाविसमा उम्मेदवार पुग्न नसकेको जनाउदै स्थानीय कार्यकर्तालाई नै प्रचारप्रसारको जिम्मा दिएको छ । उम्मेदवार सहितको कार्यक्रम जिल्लाको ३२ गाविसमा मात्र रहेको नेकपा एमालेका समानुपातिक उम्मेदवार बुद्धिकुमार राजभण्डारीले बताउनु भयो ।

उता संघिय समाजवादी पार्टी जिल्ला कार्यसमितिले जिल्लाको १८ वटा गाविसमा मात्र चुनावी सभा तय गरेको छ भने बाँकी गाविसमा स्थानीय स्तरका नेता तथा कार्यकर्तालाई नै जिम्मा दिएको संघिय समाजवादी पार्टी जिल्ला कार्यसमितिले जनाएको छ ।

चुनाव प्रचारप्रसारका लागि यातायात असुविधा मुख्य बाधक भएको दलका नेता तथा कार्यकर्ता बताउँछन् । ओखलढुंगा सल्लेरी सडक यातायातले जोडेको चार बर्ष भईसकेपनि अझै यो सडक मौसमी सडककै रुपमा सन्चालन हुदै आएको छ । बर्षातको समयमा करीब पाँच महिना ठप्प रहने सडकमा अझै सल्लेरीसम्म मोटर चल्न सकेका छैनन् ।