यौन पेशा गर्न पाउने छुट दिलाउने पार्टीलाई भोट दिने

कैलालीको दोदोधरा गाविस ७ मुढाको राजमार्ग छेउमा रहेका बादी बस्तीका यौन व्यवसायमा संलग्न महिलाले यौन पेशा गर्न पाउने छुट दिलाउने पार्टी र उम्मेदवारलाई भोट दिने बताएका छन् । सरकारले केही बादी महिलाले गर्दै आएको यौन व्यवसाय निषेध गरेपछि उनीहरुको जीविकाको बैकल्पिक व्यवस्था नहुँदा खान लाउन समस्या परेकोले पेशा खुलाउनेलाई मत दिने बताएका हुन् ।

यौन व्यवसाय गरी जीवनयापन गर्दै आएका महिलाका लागि गास बास कपासको व्यवस्था गर्ने भनिएपनि लामो समय बितिसक्दा पनि त्यो नभएपछि पेशा खुलाउनुपर्ने माग आफूहरुको रहेको सोनी बादीले बताइन् । उनका अनुसार यौन पेशामा संलग्न अधिकांश दिदीबहिनी पेट पाल्नका लागि भारतमा गइ यौन व्यवसाय गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय स्तरमा निगरानी समुह बनाइ बादी महिलाले गर्दै आएको यौन पेशा बन्द गराइएपछि उनीहरु भारतका विभिन्न शहरमा जाने गरेका छन् ।
स्थानीय दिलबहादुर बुचामगरको संयोजकत्वमा निगरानी समुह बनाइ बादी समुदायका केही महिलाले गर्दै आएको यौन व्यवसाय रोक्ने प्रयास गरिएको छ । यौन व्यवसाय रोक्नकै लागि बादी बस्तीमा प्रहरी बिट पनि बनाइएको छ ।
यौन पेशा बन्द गर्न अभियान संचालन भएपछि बादी समुदायको हकहितका लागि कार्यरत सामुदायिक सहयोग समिति कैलालीले मुढाका १४ जना  बादी महिलालाई अन्य व्यवसाय संचालनका लागि ७ हजारका दरले रकम पनि दिएको थियो । तर त्यो रकम अपर्याप्त भएका कारण अन्य व्यवसाय गर्न नसकिएको रुक्मिणी बादीले बताइन् । ‘७ हजार पाएर  बाख्रापालन, बंगुपालन तथा खुद्रापसल लगायतका व्यवसाय संचालन गर्ने प्रयास गरेपनि हुन सफल हुन सकेनौ साझविहानको छाक टार्न समस्या भयो,’  उनले भनिन् ।
यौन व्यवसायमा लागेका बादी महिलाको पुनस्थापनाका लागि सरकारी पक्षबाट कुनै कार्यक्रम नआएकोले कतिपय उनीहरु जीविकोपार्जनका लागि भारततिर गएका पनि रुक्मिणिले बताइन् । यौन पेशाका कारण ९४ प्रतिशत निर्दोष बादीलाई समेत यौन पेशा गर्ने जातीका रुपमा हेर्ने गरेको सामुदायीक सेवा समितिकि अध्यक्ष उमादेवी बादीले भनिन । ‘वादी समुदायको आत्मसम्मान रक्षा गर्न आफुहरु यौन पेशा निर्मुल गर्ने अभियानमा जुटेको’ उनले बताइन ।