साल्पा पोखरी

पूर्वी नेपालमा अवस्थित साल्पा पोखरी प्राकृतिक, धार्मिक तथा पर्यटकीय दृष्टीकोणले महत्वपूर्ण मानिन्छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगम स्थलको रुपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण साल्पा पोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा रहेको छ ।



   संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडाँ, मझुवा, केदाकाउले, ताबुटार, चौकिडाँडाँ, दोभाने पार गरेपछि साल्पापोखरी पुग्न सकिन्छ । 
भोजपुरको सदरमुकामबाट सुन्तले, मैयुङ हुदै पनि साल्पापोखरीको दर्शन लिन सकिन्छ भने सोलुखुम्बु जिल्लाको सोताङ, बुङ, गुदेल, लोखिमको बाटो हुदै पनि यहाँ पुगिने छ । त्यस्तै खोटाङ जिल्लाको खानीडाँडाँ विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ, लामीडाँडाँ विमानस्थलबाट नुन्थला, मुडे, रुपाकोट, सुङदेल हुदै तीन दिनको पैदल यात्रा गरेपछि पनि यहाँ पुग्न सकिन्छ । 



पहिलो पटक सगरमाथाको आरोहण गर्न जाँदा सर एडमण्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले साल्पा पोखरीकै मार्गको प्रयोग गरेका थिए । सुर्यदय र सुर्यास्तको मनोरम दृष्यावलोकन गर्न पर्यटकहरुले साल्पा पोखरी नजिक रहेको शिलिचुङ डाँडाँको चुचुरोको साथ लिन सक्छन् । 

  शिलिचुङ पिकसँग साल्पा पोखरी देखि करिब ५ देखि ६ घण्टाको उकालो पदैलयात्रा पछि सात्क्षतकार हुन्छ । शिलिचुङ पिक पुगेपछि हिमालका सेताम्मे दृष्यहरुसँग चुम्बन गर्न सकिन्छ । सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, मेरापिकलगायतका हिमश्रृंखलाहरुल विश्वसुन्दरीलार्ई नै ओझेलमा पारेर ठिङ्ग अगाडी उभिएका छन् । त्यस्तै तराईका फाँटहरु, सुसाउदो कुनै अवरोधको पर्वाह नगरि लमतन्न परेर अविरल बगिरहेका नदि, हरियो जंगल र सुन्दर बस्तीहरुले दक्षिणतिर जवरजस्त तानिरहेका छन् ।