नेपाली फिल्मलाई दर्शककै अभाव

गत शनिबार लण्डनको वेम्बलमा हजारौं नेपाली दर्शक भेला भए । नेपालीहरु हल्याण्ड, वेल्जियम, नर्वे तथा अमेरिकाबाट त्यहाँ पुगेका थिए । विदेशी भुमीमा परिश्रमको पसिना बगाउने नेपालीलाई वेम्बलमा जुटाउने माध्यम बन्यो नेपाली साँगितिक ब्याण्ड नेपथ्य ।

ब्याण्डका अमृत गुरुङ समुहको प्रस्तुती हेर्न नेपाली दर्शकको ओइरो लागेको थियो । विश्वको तेस्रो तथा लण्डनको दोस्रो ठुलो इन्डोर कन्सर्ट भेन्युमा कन्सर्ट दिने नेपथ्य नेपालकै पहिलो ब्यान्ड हो । जस्ले सुरुवातमै हजार्रौ दर्शकलाई भेला गर्न सफल रह्यो र नेपालीको एकताको पनि झल्को दियो ।


म्युजिक कन्सर्ट तथा स्टेज प्रहसनमा दर्शकका सागर उर्लिएपनि फिल्म प्रदर्शनमा भने विदेशमा नेपालीको सहभागिता न्यून हुँदै गएको छ । ब्ल्कबस्टर फिल्म लुटले विस्तार गरेको विदेशी बजारलाई कुनै पनि फिल्मले उकास्न सकेका छैनन् । निश्चल बस्नेत निर्देशित लुटले ओभरसिज प्रदर्शनबाट झन्डै ४५ लाखको सेयर हात पारेको थियो । त्यसपछि ओभरसिज रिलिजको अवसर पाएका कुनै पनि नेपाली फिल्मले खरिद गरेको रकम उठाउन सकेनन् ।

सेक्सलाई बेचिएको फिल्म चपली हाईट होस् या दुर्व्यसनीको कथालाई बिकाइएको सायद होस् कुनै पनि फिल्मले ओभरसिजमा स्वदेशको व्यापार गर्न सकेनन् । यी फिल्मको ओभरसिज व्यापार हातमा लाग्यो शून्य रह्यो । व्यक्तिगत पहलमा भैरहेको फिल्मको ओभरसिज विक्रि पछिल्लो पटक रोकिएको छ ।

इनिसियलको रेकर्ड राख्न सफल फिल्म छड्केले ओभरसिजबाट ५४ लाख रुपैयाँ हात पारेको दाबी गर्ने निर्माता माधव वाग्ले भन्छन्- 'जे पायो त्यही फिल्मले विदेशी मार्केट बिगार्यो । विदेशमा जस्तो पनि फिल्मलाई प्रदर्शन गर्न रोक्नु पर्छ ।' छड्केबाट दर्शकको राम्रै खप्की खाएका निर्माता वाग्ले थप्छन्- 'विदेश पढ्न र पैसा कमाउन गएका नेपालीसँग हप्तै पिच्छे फिल्म हेर्ने रकम उपलब्ध नहुन सक्छ । त्यसकारण सेलेक्टेड फिल्मलाई मात्रै विदेशमा प्रदर्शन गर्नु उचित हुन्छ ।'

युरोपका व्यस्त शहर हुन् या कतार, मलेसिया, दुवई जस्ता खाडी मुलुक त्यहाँ साँस्कृतिक प्रस्तुतीले दर्शकलाई निराश कमै बनाएका छन् । तर, ओभरसिज शहरमा प्रदर्शन हुने नेपाली फिल्मलाई भने निराशा बढी छ । साँगीतिक प्रस्तुती हेर्न उर्लिने दर्शक नेपाली फिल्म हेर्न किन उत्साहित हुँदैन ? संगीत बजारमा परिचय खोज्दै गर्ने एक जना गायकले तान्ने दर्शक नेपाली फिल्मका स्टारहरूले किन तान्न सकिरहेका छैनन् ?

लगातार नेपाली फिल्मले सुपर फ्लपको विजनेश गर्नुमा फिल्म सम्बन्धी नेपालमा हुने टिकाटिप्पणी, थिएटरमा गर्ने व्यापार प्रमुख कारण रहेको अनुमान गरिएपनि नेपाली फिल्म प्रति दर्शकको वितृष्णा किन ? केमा चुक्दै छ नेपाली फिल्म ? पुरानै कथा, सृजन शिलताको अभाव र प्रचारमा देखिएको सुस्तताले नेपाली फिल्म ओभरसिजका दर्शकले आफ्नो बनाउन नसकेका हुन् त ?