गर्मीमा मान्छे बढि हिंसात्मक


हिंसात्मक घटनामा वृद्धि र मौसममा आएको परिवर्तनको अन्तरसम्बन्ध रहेको अमेरिकी अनुसन्धानकर्ताले दावी गरेका छन् ।
तापक्रम या वर्षामा सामान्य परिवर्तन आएको अवस्थामा पनि हिंसात्मक आक्रमण, बलात्कार, हत्या र सामुहिक द्वन्द्व र युद्ध बढेको पाइएको उनीहरुको भनाइ छ ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका विज्ञले मौसम परिवर्तनमा बढ्दो प्रभावले विश्वलाई थप हिंसाग्रस्त बनाउँदै लगेको अनुसन्धानका क्रममा पाइएको बताएका छन् । जलवायु परिवर्तनले मुख्य गरी कृषि क्षेत्रमा बढी प्रभाव पारेकाले यसले आर्थिक अवस्थामा परिवर्तन आएको त्यसको असर स्वरुप मानिसलाई विद्रोहको अवस्थामा पुर्‍याउने अनुसन्धानकर्ताले बताएका छन् ।
यस्तै बढ्दो गर्मीले मानिसलाई आक्रामक बनाउने उनीहरुको तर्क छ । अनुसन्धानकर्ताले भारतमा हालैको खडेरीका कारण बढेको आन्तरिक हिंसा तथा अमेरिकामा बढ्दो गर्मीका दौरान बढेको आक्रमण, बलात्कार र हत्याको घटनालाई उदाहरणका रुपमा उल्लेख गरेका छन् ।
युरोपको जातीय हिंसा र अफ्रिकाको गृहयुद्ध जस्ता ठूला द्वन्द्व र जलवायू परिवर्तनको अन्तरसम्बन्ध रहेको उनीहरुको भनाई छ । अनुसन्धानकर्ताले विश्वव्यापी तापक्रममा २ डिग्री सेल्सियसको वृद्धि हुँदा व्यक्तिगत अपराध १५ र सामुहिक अपराध ५० प्रतिशतले बढ्ने अनुमान गरेका छन् ।