‘डेटिङ स्थल’ मा परिणत हुदै जिल्ला बागवाणी केन्द्र

विवश कुलुङ 

सल्लेरी, साउन ११ गते । साउनको मध्य समय, लटरम्म फलेका विभिन्न जातका फलफूल, मनै भुलाउने गरी फूलेका रङ्गीविरङ्गी फूल, विभिन्न आकृतिमा कटिङ गरी सजाईएका बृक्ष र मनोरम् बातावरणका कारण जिल्ला बागवाणी केन्द्र सोलुखुम्बु डेटिङ स्थलको रुपमा परिणत हुन थालेको छ।

 प्रायः शुक्रबार र शनिबार त सयको हाराहारीमा आएका युवायुवतीले बागवाणी केन्द्रको आसपासको बातावरणलाई थप रौनक बनाईदिने जिल्ला बागवानी अधिकृत गणेशप्रसाद पाण्डे बताउँनु हुन्छ । 

खासगरी लटरम्म फलेका विभिन्न जातका फलफूल र फूलकै कारण यत्तिका धेरैको आकर्षण बढेको हुनसक्ने अधिकृत पाण्डेको अनुमान छ । उहाका अनुसार स्याउ किन्न, फोटो खिच्न तथा घुम्ने चाहनाले आएका युवायुवती दिनहुँ सयकै हाराहारीमा हुन्छ । ‘फोटो खिच्नका लागि जोडी जोडी बाँधिएर आउँछन्, मयुरपंखीको फेद, स्याउको बगान, फूलबारी जताततै तरुनतरुनीहरु नै हुन्छन्’ अधिकृत पाण्डेले भन्नु भयो । प्रायः मौसम खुलेको बेला यस्ता जोडाजोडी बढी आउने गरेको अधिकृत पाण्डेको अनुभव छ । अझ भदौको पहिलो साता ताका फूलहरु बढी हुने र बागवाणीको बातावरण रौम्य देखिने हुँदा बागवाणीमा आउने अवलोकनकर्ता बढ्ने उनको अनुमान छ ।

सोलुखुम्बुको तल्लो भेगमा यसरी घुम्ने र फोटो खिच्ने ठाउँ कतै नभएकाले आफूहरु बागवाणीमै जानुपरेको बागवाणी घुम्न जानेहरु बताउँछन् । यहाँ डाँडाकाडा, नाङ्गी पाखाहरु भएपनि मानव निर्मित पार्कको अभावमा आफूहरु बागवाणी केन्द्र जानुपरेको सल्लेरी बहुमुखी क्याम्पस स्नातक पहिलो वर्षमा अध्ययनरत हर्कजित राईले बताउनु भयो ।
विभिन्न आकार र बनौटमा कटिङ गरिएका मयुरपंखीहरु, फूलको बगान र लटरम्म फलेको स्याउ समात्दै फोटो खिच्नुको आनन्द नै बेग्लै हुने उनको अनुभव छ । त्यहाँ खिचेका फोटोहरु फेसबुक मार्फत सबै साथीको फेसबुक वालमा पुग्ने गरेकाले पनि अझ यसको चर्चा बढी भएको हर्कजितको कथन छ । ‘शुरुमा त बागवाणीको बारेमा मलाई पनि थाहा नै थिएन,साथीको फेसबुकमा फोटो देखें पछि बागवाणी केन्द्रमा खिचेको पत्ता लगाएँ, अहिले त मलाई पनि स्वर्ग जस्तै लागिरहेको छ’ राईले भन्नु भयो ।
प्रत्येक दिन बागवाणी भ्रमणमा आउनेहरु सँग ५ रुपैयाँका दरले मात्र प्रवेश शुल्क लिन पाउने प्रावधान भए स्याउ बेचेको भन्दा बढी आय हुने बागवाणी अधिकृत पाण्डे बताउँनु हुन्छ । तर केन्द्रमा आउनेहरु सँग त्यसरी प्रवेश शुल्क लिन पाउने प्रावधान नरहेको अधिकृत गणेश राज पाण्डेको भनाइ छ । 
तत्कालीन श्री ५ को सरकारको चौथो पञ्चबर्षीय योजना अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको विभिन्न लेकाली फलफूलको खेती गराई कृषकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले २०३४ सालमा बागवाणी केन्द्रको स्थापना गरिएको हो । केन्द्रले विभिन्न उन्नत लेकाली फलफूलका विरुवा, तरकारीका बेउ बेर्ना संकलन, संबद्र्धन तथा उत्पादन गरी विक्री वितरण गर्दै आएको छ ।
३ सय ५१ रोपनी  क्षेत्रफलमा फैलिएको केन्द्र समुन्द्र सतहदेखि करीब २ हजार ३ सय ९६ मिटरको उचाइमा पर्दछ ।