धर्म परिवर्तनले प्राचीन गुम्बाको अस्तित्व संकटमा

विवश कुलुङ राई
 बौद्ध धर्मावलम्बीहरुले बुद्ध धर्म त्यागी क्रिश्चियन धर्म अंगाल्न थालेपछि प्राचीन गुम्बाको अस्तित्व संकटमा पर्न थालेको छ । सोलुखुम्बुको बुङमा रहेको बौद्धमार्गीको आस्थाको धरोहर च्याम्बलिङ (ङोन्गा थेक्ता छोलिङ )गुम्बाको अस्तित्व संकटमा परेको हो ।

करीब ६ सय बर्ष पुरानो मानिने गुम्बामा विगतमा पाठपूजा गर्न आउने बुद्ध धर्मावलम्बीहरु हिजो आज एकजना पनि नआउने गरेको गुम्बाको रेखदेख गरी बसेका लामा दोर्जी शेर्पाले बताउनु भयो । ‘यो सात पूस्ता पुरानो ऐतिहासिक गुम्बा हो र यो पूरै संकटमा पर्न थालेको छ, अहिले त पहिले जस्तो बुद्धमार्गीहरु आउँदै आउँदैनन्’ लामा शेर्पाले भननु भयो । 


बुद्ध धर्म त्यागेर क्रिश्चियन धर्म मान्न थालेपछि गुम्बाको अवस्था नाजुक हुदै गएको बताउने लामाका अनुसार गुम्बामा पाठपूजा त हुदै हुदैनन् भन्दा पनि फरक पर्दैन । ‘पाठ पूजा भईहाले पनि तालिकामा जसको पर्छ उसको परिवार मात्र आउछन्, सबैजसो मानिसहरु बुद्धीष्टबाट ख्रिष्टियन बनेकाले गुम्बाको अस्तित्व नामेट हुदै गएको हो’ लामाले दाबी गर्नु भयो ।
    गुम्बामा कोही नआएपछि आफूलाई बस्न पनि मन नलागेको उनको तर्क छ । ‘कोही आउँदैनन्, कुनै समय खचाखच पूजा गर्ने मानिसले भरिने गुम्बा हिजोआज रित्तै हुँदा म आफैलाई बैराग चलेर आउँछ’ भत्किन लागेको भक्तजन बस्ने भवन देखाउँदै लामाले भननु भयो ।
    ‘अब गुम्बा भत्किए पनि कसैले हेर्ने वालामा छैन’ उहाले भन्नु भयो ‘चुहिएर बिग्रिएर भत्कि गएमा पनि कसैले वास्ता गर्ने वालामा छैन, त्यसैले बस्न भन्दा जानु नै जाति ।’
    क्रिश्चियन धर्मलाई विदेशी धर्म भन्न रुचाउने उनले विदेशीको प्रलोभनमा परी पौराणिक बौद्ध धर्म त्याग्दै गएको आरोप लगाउनु भयो । क्रिश्चियन धर्म मानेमा रोजगारी पाईन्छ, विदेश जान पाईन्छ, विना औषधोपचार पनि रोगबाट मुक्ति मिल्छ भन्ने गलत प्रचारका कारण बौद्धमार्गीहरु त्यतातिर लोभिएको उहाको कथन छ ।
    आफ्नो गुम्बालाई सोलुखुम्बुको प्राचीन महत्व बोकेको तेङबोचे गुम्बा सँगसँगै निर्माण भएको दाबी गर्ने लामा एउटा धर्मको विरोध अर्को धर्मले गर्न नहुने तर्क राख्नुहुन्छ । क्रिश्चियन बाहेक अन्य धर्म नराम्रो र आफ्नो धर्म मात्र राम्रो भन्दै गलत प्रचार गर्नेहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्नुपर्ने उहा बताउनु हुन्छ । ‘धर्म परिवर्तन स्वतन्त्र ढंगले गर्न पाइए पनि अन्य धर्मको विरोध गर्दै आफ्नो प्रचारप्रसार गर्न नपाईनु पर्ने हो तर यहाँ त खुलामखुल्ला यो काम गरिरहेको छ ।’
    नेपालको अन्तरिम संविधान २०६३ ले धर्म सम्बन्धी हकलाई मौलिक हक अन्तर्गत राखी प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परम्पराकाल देखि चलि आएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुने व्यवस्था गरेको छ ।
    यस्तै धर्म सम्बन्धीकै उपदफा १ मा कसैले कसैको धर्म परिवर्तन गराउन नपाउने र एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम व्यवहार गर्न नपाइने व्यवस्था रहेको छ ।
    संविधानको धर्म सम्बन्धी हकमा यस्तो व्यवस्था भएपनि क्रिश्चियन धर्म प्रचारकहरुले गैरसरकारी संस्थाकै शैलीमा गाउँ प्रवेश गरी व्यापक धर्म प्रचार गरिरहेको स्थानीयको आरोप छ ।
    यता क्रिश्चियन धर्म प्रचार गर्दै आएकाहरु भने आफूहरु पाँच बर्ष यता सोलुखुम्बुमा खाङ्री मिसन् अभियान अन्तर्गत रहेको बताउँछन् । खाङ्री चर्च बुङकी रोज म्यारी लेप्चाका अनुसार यस अवधिमा सोलुखुम्बुको लुृक्ला, फाक्दिङ, खरीखोला, वाकु र बुङ लगायतको स्थानमा चर्च निर्माण गरिसकेको र बाँकी चार वटा स्थानमा समेत चर्च बनाउने लक्ष्य रहेको छ ।