भरियाको बदलिदो जीवनशैली

‘‘उहिलेका भरियाहरु साहुको भारी माथि पनि बाटोका लागि खानेकुरा, खाना पकाउने भाँडा र ओढ्ने ओछ्याउने कपडा बोक्थे, नाम्लो र खकानले मात्र नभ्याएपछि तोक्माको सहारा समेत खाँचो पथ्र्यो । तर समय फेरिएको छ, अहिलेका भरियाहरुले न खानेकुरा बोक्नुपर्छ, न बासको समस्या हुन्छ जहाँ पुग्यो त्यही बस्न पाईन्छ । ठाउँ ठाउँमा बिसाउने चौतारो निर्माण भएका कारण अहिले त तोक्माको समेत जरुरत पर्दैन ।’’ भरियाको दुःखको कुरा गर्नसाथ पाका भरियाहरु यसै भन्न थाल्छन् । प्राय मानिसले दुःखको पेशा भनिने गरेको भरिया पेशा यी पाका भरियाको कुरा सुन्दा भने बर्तमान समयमा सजिलै छ भन्ने दर्शाउछ ।

हुन पनि कुनै समय दोलखाको मैनापोखरी र उदयपूरको कटारीदेखि नुन र चामलको मुरीका भारी बोकेरै जहान परिवार धानेका बुढापाकाहरु अहिलेका पुस्ताले त्यत्तिको दुःख झेल्नुपरेको भए जीवनदेखि हारेर मर्ने चुनौती दिन्छन् ।

‘‘मुरीको भारी माथि ओढ्ने ओछ्याउने कपडा, भाँडाकुडा र यात्रा भरिका लागि आवश्यक सामलतुमल बोक्नुपरेका उनीहरुले लगभग २४ पाथीको भारी बोक्नुपथ्र्यो । भनेको ठाउँमा खाना पकाउन नपाईने, बास पनि सबैले दिन मान्दैनथे । अधिकाँश बास ओढारमै हुने उनीहरुलाई कथंकदाचित कसैले बास दिईहाले पनि भरिया भनेर हेप्ने गर्थे ।’’ उनीहरुको कुरा सुन्दा यस्तै लाग्छ ।

शुरुमा दोलखाको मैनापोखरीेदेखि महिनौ लगाएर नाम्चेसम्म भारी बोकेका सोताङका धनबहादुर योन्जन भन्छन् ‘‘जिरीसम्म मोटर आएपछि जिरीदेखि भारी बोके, थोरै भएपनि नजिक भएको महसुस त गरे तर भारी संगै सामलतुमल र पकाउने भाँडाकुडा बोक्नुपर्ने चलन भने हटेन ।’’

यता कटारीको बाटो पनि सरेर अलि वर आयो । उदयपुरकै घुर्मीसम्म गाडी त आयो तर हर्कपूरदेखि १७÷१८ दिन लगाएर भारी बोक्नुपरेका उनीहरुको जीवनशैलीमा भने कहिल्यै परिवर्तन आएन । बल हुन्जेलसम्म मुरीका भारी बोकेर बालबच्चा पालेका उनीहरु भारी बोक्न नसक्ने भएपछि घरमै थन्किएका छन् र कुराकानीका क्रममा पहिलेको भारी बोक्ने पेशा र अहिलेको भारी बोक्ने पेशाबीच तुलना गर्छन् । भन्छन् ‘‘अहिलेको भरिया र उहिलेको भरियामा आकाश पातलको फरक छ ।’’

‘‘उहिलेका भरिया एकातर्फी बीस दिनसम्म त निरन्तर भारी बोक्थे अहिलेका भरिया पाँच देखि सातदिन सम्म लगातार भारी बोक्न सक्दैनन् । उहिलेका भरियाले बाटोका लागि आवश्यक पर्ने सामलतुमल, पकाउने भाँडाकुँडा र कपडा बोक्थे अनि अधिकाँश बास ओढारमै हुन्थ्यो, अहिलेका भरियाले खाजा समेत बोक्दैनन् । होटलमा पसेर आफूले बोकेको खाजा खान उनीहरु अफ्ठ्यारो मान्छन् अनि होटलमै खान्छन् होटलमै सुत्छन् ।’’ बल हुञ्जेल भारी बोक्ने पेशा नै अपनाएर बृद्ध भइसकेका गुदेलका पञ्चराम कुलुङले स्वर काम्दै भने ।

 सयबर्ष अन्तरालको भरिया पेशाको विकासक्रमलाई तीन भागमा बाँडेर हेर्ने हो भने भरियाको जीवनशैली कति परिवर्तन उन्मुख छ भनेर थाहा पाउन सजिलो हुने पन्चरामको भनाई छ । ‘‘शुरुका पचास बर्ष सवारी साधन बिनाको भरियाको अवस्था, त्यसपछिको पैतालीस बर्ष सवारी साधन र विस्तारै परिवर्तन हुदै गरेको सूचना प्रविधिको विकासक्रमको अवस्था र पाँच बर्ष यताको भरियाको जिन्दगी पूरै आधुनिकता तिर उन्मुख छ’’ पन्चरामले भने ।

भरिया पेशामै जुनी बिताएका पन्चराम कुलुङकै भनाईमा शुरुका पचास बर्षमा भरिया पेशा अपनाएकाहरु धेरै हुन्थे । लामो बाटो महिनौं लगाएर भारी बोक्नुपर्ने भएकाले मानिसका आवश्यकता आपूर्ति गर्नका लागि पनि त्यति नै भरियाको खाँचो पथ्र्यो र धेरैले पैसाको मुहार देखिरहने पेशाको रुपमा भरिया पेशा नै सम्झन्थे । त्यो बेलाको भारी बोक्ने पेशा अति नै कष्टकर थियो । महिना दिन भारी बोक्दा पनि उनीहरुको हातमा सय रुपैयाँ पर्न पनि मुश्किलै हुन्थ्यो ।

त्यसपछिका पैतालीस बर्षको अवधिमा देशका केही भागमा सडक निर्माण भए जसका कारण भरियाले भारी बोकेर पार गर्नुपर्ने दुरी भने कम भयो । देशमा केही विकास निर्माणका कामहरु शुरु भएपछि कतिले भारी बोक्ने पेशालाई त्याग्दै पनि गए । जत्ति भरियाले यो पेशालाई अंगालि रहे उनीहरुको व्यक्तिगत जीवनशैली भने विस्तारै फेरिंदै गयो । फलस्वरुप ओढ्ने ओछ्याउने र भाँडाकुँडाका सट्टा टेपरेकर्ड र साउडबक्स् बोक्न थाले । करीब सात आठ बर्ष अघि भरिया हिड्ने बाटोहरु यस्तो हुन थालेका थिए कि मानौं त्यो गीति क्यासेटहरु विक्री गर्ने स्थल हो वा गीत बजाएर नाचगान गर्ने कार्यक्रम ।

समयले कोल्टे फे¥यो भरियाले बाटो सार्नका लागि सहायता लिएका संगीतका साधनहरु वाल्क मेन, टेपरेकर्डर, साउण्डबक्स विस्तारै विस्थापित भए र त्यो ठाउँ मोबाइलले लिन पुग्यो । अहिले त उनीहरु गीत सुन्नुपरे मोबाइलमा मेमोरी हालेर नयाँ नयाँ गीत सुन्छन् । होटलमा अगाडि नै खाना तयार पार्न होस् वा साथीभाइ संग सरसल्लाह गर्न मोबाइलकै प्रयोग गर्छन् ।

‘‘पहिलेका भरियाहरु जस्तो मरी मरी भारी बोक्दैनन् अहिलेका भरिया’’ केरुङ सोलुखुम्बुका माइला बम्जन गफिन थाले । उनीहरुले भारी बोकिहालेमा पनि पहिलेको जस्तो कष्टर पटक्कै छैन, हामीले बास बस्न प्रयोग गरेका ओढारहरुमा अहिले कोही बस्दैनन् त्यो बेला ओढारमा बस्ने ठाउँ नपुगेर झगडा समेत पथ्र्यो ।’’

 बम्जनका अनुसार भारी बोक्नेहरुले पहिलेका भरिया जस्तो जीउ नै माया मारेर भारी नबोक्ने मात्र होइन, भारी बोक्ने तरीका समेत बदलेका छन् । अहिलेका भरियाले भारी त बोक्छन् तर ढाकरमा खकान हुदैन । एकादुईले तोक्मा प्रयोग गरेमात्र नत्र तोक्मा समेत त्यागिसकेका छन् ।

भरियाकै भरमा सामान ओसारपसार गर्ने बेला बाटाबाटामा बनाएका पाटीपौवा र ओढारहरु हिजोआज गाईभैंसीले ओत लाग्ने स्थानको रुपमा प्रतिस्थापित भएका छन् । जो ओढारमा वा पाटीमा बास बस्छन् उनीहरुलाई असभ्यको भिल्ला भिराईन्छ अहिले । त्यसैले पनि बर्षौ पहिले ओढारमै सुतेका भरियाहरु पनि ओढारमा बास बस्न चाहदैनन् । पहिले पहिले बास बसेको ठाउँको हैसियतले माया लागेको भए पनि ओढारमा बस्दा अरुले गिल्ला गरेका कारण सरासर होटलतिरै हान्निने गरेको भरिया आसमान राई बताउँछन् ।

सडकले थन्क्याउदैछ भरिया पेशा
  जिरीबाट सगरमाथा जाने पैदलयात्रीका भारी बोक्ने भरियाहरु स्याङबोचेको हेलिकप्टर उडानले बेराजगार भए । उदयपूरको कटारीदेखि ओखलढुङ्गा सदरमुकाम सम्म गाडी चलेपछि हर्कपूर ओखलढुङ्गा सोलुखुम्बु भारी खेप्ने भरियाहरु ओखलढुङ्गा सोलुखुम्बुमै सीमित भएका थिए ।  झनै  जिरी हुदै रामेछापको भण्डारसम्म सवारी साधन आएपछि भण्डार—नाम्चे भारी बोक्ने भरियाहरु अहिले ओखलढुंगा सोलुखुम्बु सडकले जोडेपछि यतै सारिएका छन् ।

 ओखलढुङ्गा सल्लेरी भारी बोकेर जीविकोपार्जन गर्दै आएका भरियाहरु पनि सदरमुकाम केन्द्रित भएका छन् । उनीहरु अहिले खच्चडले बोक्न नमिल्ने भारीहरु जस्तापाता, विस्कुट, चाउचाउ जस्ता सामग्रीहरु सल्लेरी —नाम्चे, सल्लेरी— बासा, सल्लेरी —सोताङ्ग, नेले —जुबु, तथा नेले —सोताङ, र नेले —छेस्काम भारी बोक्नमै ठीक्क भएका छन् । 

करीब दुईबर्ष पहिले नै ओखलढुङ्गा —सल्लेरी जोडिएको सडक विस्तारै गाउँ गाउँमा विस्तार हुने क्रम र निकट भविश्यमा गाउँ सम्मै सडक पुग्ने कुराले उनीहरु बिचलित भएका छन् । खासगरी भारी बोक्ने पेशा अपनाई जहान परिवार धान्दै आएका भरियाहरु यसबाट त्रस्त छन् । मोटरबाटो गाउँसम्मै पुग्ने खबरले जो कोहीलाई खुशी तुल्याए पनि मोटरबाटो बनेमा आफूहरुको रोजगारी गुम्ने डरले उनीहरु चिन्तित बनेका हुन् ।

ओखलढुङ्गा केत्तुकेका रामे तामाङ सदरमुकाम सल्लेरी हुदै जुभिङसम्म मोटरबाटो पुग्ने कुराले चिन्तित छन् । मोटरबाटोले भारी खेप्ने गन्तव्य परिवर्तन गर्दै आएका तामाङ्ग कुनै समय जिरी नाम्चे भारी खेप्ने गर्थे । जिरीदेखि सीधै स्याङबोचे विमानस्थलमा हेलिकप्टर चलेपछि उनले कटारी, ओखलढुङ्गा नाम्चे भारी बोक्ने यात्रा तय गरेका थिए । सडकले खुम्च्याउदै ल्याएको उनको बाटो विस्तारै घुर्मी— नाम्चे, हर्कपूर —नाम्चे, ओखलढुङ्गा —नाम्चे हुदै अहिले आएर सल्लेरी नाम्चेमा सीमित भएको छ ।

सल्लेरी देखि नेलेसम्म सडक पुगेपछि सल्लेरी —छेस्काम भारी ओसार्ने छेस्कामका विर्खराज कुलुङ गाडीकै पछाडि दौडिएर नेले पुगेका छन् । बिकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमले छेस्कामसम्म सडक पु¥याउने हल्लाले यत्तिबेला बिर्खराज जस्ता कयौंको बेचैन भएको छ । सल्लेरी —रातनाङ्गे—घुम्नेमेरा —बासा सडक यसैबर्ष जोडेपछि सल्लेरी—बासा भारी खेप्ने वाकुका चमर मगर जस्ता धेरैको भारी बोक्ने पेशाको अन्त्य भएको छ । अब उनीहरुको लागि आफ्नो जीवनमा भारी बोकेको स्मरण भन्दा केही हुने छैन । किनकि अब उनीहरुले भारी बोक्ने पेशा अंगाल्न पाउने छैनन् उनीहरु संग भारी बोक्ने पेशाको प्रमाणको रुपमा आफूहरुले प्रयोग गरेको तोक्मा, खकान लगाएको ढाकर भन्दा अरु केही छैन ।

खुला आकाशमुनि थाप्लोको भरमा पुषको कठङ्ग्रिने जाडो होस् या जेठको टन्टलापूर घाम अथवा असार साउनको मुसलधारे बर्षात नै किन नहोस्, दुई कुममा खकान, एक हातमा तोक्मा र टाउकोमा नाम्लो अड्याएर आफूलाई पूरै किच्ने गरी खाँदिएको भारी बोकेर पसीनाले निथु्रक्कै भिजेको शरीरलाई दिनभर अगाडि बढाउनु पर्ने भारी बोक्ने काम त्यति सजिलो हुदैन । तर उनीहरुलाई यी मौसमी झन्झट र दर्द भन्दा पनि सडकले रोजगार खोसिन्छ भन्ने चिन्ता छ । उनीहरु भन्छन् ‘‘हामीलाई त गाडीले पेलेर अब घरकै आँगनमा धकेलिसक्यो, अर्को सालदेखि त काम पनि पाईदैन होला ?’’ आपूmहरुले नपढेका कारण दुःख पाएको बताउने छेस्कामका सौबीर कुलुङ भन्छन् ‘‘ हाम्रा त छोराछोरीलाई पढाउने पेशा पनि यही हो, अब यो सडकले हाम्रो पेशा जोखिममा परिसक्यो, त्यसपछि के गरेर कमाउने ?’’

पेशा विस्थापित हुन लागेकोमा चिन्ता व्यक्त गर्ने अर्का भरिया बीरमान भुजेल भन्छन् ‘‘हामीले जानेकै भारी बोक्ने काम थियो, अब भारी बोक्ने काम पनि पाईएन भने हाम्रा जहान परिवार कसरी पाल्ने ?’’
हुन पनि उनीहरुको पक्षमा विचार पु¥याउने कोही छैन । भरिया पेशा नै विस्थापित भएमा उनीहरुको बैकल्पिक पेशाको रुपमा सोच्ने कोही छैन । छोटो बाटो नै किन नहोस् उनीहरुले पाउने उचित ज्यालाका बारेमा बोलिदिने पनि कोही छैन । उनीहरुको पक्षमा बोलिदिने कुनै पनि संगठन नभएकै कारण उनीहरु पारिश्रमिकबाट पनि ठगिएका छन् ।

काम गर्ने स्थान, अवधि र रोजगारदाताको स्थायित्व पनि छैन । यही बाध्यताका कारण उनीहरु जति पायो त्यत्तिमै काम गर्ने मनस्थितिमा पुगेका छन् । उनीहरुको कुरा सुन्दा ज्याला कम पाईयो भन्ने भन्दा पनि भोलिका दिनमा भारी बोक्ने काम बन्द हुने हो कि भन्ने चिन्ताले ग्रसित देखिन्छन् । कतिपय भरियाहरुको ढाकर थन्किए बाट उनीहरुको पेशा जीवित नरहने सम्भावना पनि प्रशस्तै छ ।

आफ्नो गाउँको विकास होस्, विजुली मोटरबाटो, रोपवे आदि पुगोस् गाउँ झिलीमिली होस् भन्ने उनीहरु पनि चाहन्छन् । ‘‘विहान बेलुकी हातमुख जोड्ने समस्याको समाधान होस्, छोराछोरी शिक्षित हुन्, सीप सिकुन् र बैकल्पिक रोजगारीको सिर्जना होस्, भारी नै बोक्नुपर्ने विवशता नदोहोरियोस्, हाम्रा श्रीमतीले सुत्केरी भएको महिना दिन नबित्दै भारी बोक्न हिड्न नपरोस्’’ धेरैजसो भरियाहरु जानी नजानी यही कुरा व्यक्त गर्छन् ।

चेतनाले नछोएका र अत्यन्तै जोखिमपूर्ण जीवन विताईरहेका भरिया समुदायको लागि बैकल्पिक व्यवसायको व्यवस्था गर्नसक्नुपर्छ । विकासले कसैको गाँस खोसिनुहुन्न । यसो भएमा मात्र गाउँसम्म सडक पुगेकोमा, हवाई मैदान बनेकोमा र हेलिकोप्टर चलेकोमा अन्य नागरिक सरह भरिया समुदायले समेत खुसी व्यक्त गर्ने दिन आउनेछ ।

कम आम्दानी बढी खर्च
 सूचना प्रविधिको बढ्दो विकासले भरियाको जिन्दगीलाई सहज बनाए पनि उनीहरुको कमाईले धान्न मुश्किल परिरहेको छ । प्रविधिको विकासले खर्चमा ल्याएको बढोत्तरीका कारण स्वयं भरियाको जीवनशैलीमा परिवर्तन आए पनि उनीहरुको पूरै परिवारले भने अभावग्रस्त जिन्दगी जिउनु परेको छ । भन्छन् ‘‘तीन महिनामा तीन हजार रुपैयाँ पनि घर पु¥याउन सक्दैनौं, मासिक एक हजार रुपैयाँले हाम्रा परिवारले कसरी घर खर्च धान्न सकोस् र ?’’
खासगरी मोबाइलका कारण उनीहरुको कमाईको तुलनामा खर्च बढिरहेको छ । सदरमुकाम सल्लेरीबाट भारी बोक्दा सात दिनको अवधिमा पाँच हजार रुपैयाँ सम्म कमाएपनि प्रत्येक तीन दिनको फरकमा सय रुपैयाँ रकम सक्ने गरेको सोताङ्ग सोलुका भरिया पदम नाछिरीङ्गको भनाई छ । प्रायः दिउसोको खान अर्डर गर्न र बासको निधो गर्न तथा पर्देशीको सुखदुःखको खबर परिवारलाई सुनाउन उनीहरु मोबाइल प्रयोग गर्छन् ।

रिचार्ज कार्ड बाहेक उनीहरुले मेमोरी कार्ड भर्नका लागि पनि उत्तिकै खर्च गर्छन् । बजारमा आउने नयाँ नयाँ गीत भरिरहन मन लाग्ने र यसका लागि प्रति गीतको तीन रुपैयाँले महिनामा ३ सय रुपैयाँ जत्ति गीतमै खर्च हुने विगत दश बर्षदेखि भारी बोक्दै आएका लोखिमका जीवन तामाङ बताउँछन् । संगीत भए बाटो काट्न सजिलो हुने र यसका लागि मोबाइलको मेमोरी कार्डमा गीत भरेर सुन्ने गरेको उनको भनाई छ । शुरुका दिनहरुमा सानो वाल्क मेनमा गीति क्यासेट हालेर साउण्ड बक्स मार्पmत ठूलो आवाज बनाएर सुन्दै आएका जीवनले मोबाइलमा सुन्न थालेको डेढ बर्ष मात्र भएको बताए ।

गीत नबजाई हिड्दा बाटो काट्न बढी समय लाग्ने भएकाले गीतका लागि खर्च गरेर गीत बजाउँदै हिड्दा नै फाइदा पुग्ने उनको धारणा छ । ‘‘गीत नबजाई हिड्दा पाँच दिन लाग्ने बाटो सात दिन लाग्न सक्छ बरु गीत बजाउदै हिड्दा बचेको दुई दिनमा गीत किन्न पुग्ने पैसा त कमाईन्छ ।’’ जीवनले बताए ।
भरियाको संगठन छैन ।
भरियाकै हकहीतका लागि आवाज उठाउने कुनै संगठित संस्था छैन उनीहरुको । अखिल नेपाल ट्रेड युनियन मजदुर संघ भनेर गठन त भएको छ तर सबै भरियाहरुलाई समेटेर लैजान नसकेको ट्रेकिङ्ग भरिया सुन्दर कुलुङ्ग बताउँछन् । संगठन नभएका कारण आफूहरुले भरियाको साझा समस्या उठाउने गरेको भए पनि सुनुवाई नभएको र कम पारिश्रमिकमै भारी बोक्नुपरेको उनको दुःखेसो छ ।
 संगठन नभए कुनै पनि कुराको सुनुवाई नहुने भन्दै उनले ट्रेकिङ भरियाहरुको साझा समस्याको हल गर्नका लागि भरिया एकताको आवश्यकता औल्याए । भरियाको हकहीतका लागि बन्ने त्यस्तो संगठन राजनीतिक पार्टीको भातृ संगठनको रुपमा नभई सारा भरियाको साझा संगठन हुनुपर्ने उनको तर्क छ । कुलुङका अनुसार उच्च हिमाली क्षेत्रमा जाँदा भरियाहरु लेक लागेर मृत्यु हुने हुँदा दुर्घटना बीमा, चित्तबुझ्दो पारिश्रमिक, बिरामी पर्दा औषधी उपचारको व्यवस्था लगायतका माग भरियाका साझा मागहरु रहेका छन् ।
                                                                                                                                          विवश कुलुङ राई