सोलुखुम्बुका विद्यार्थीको वाध्यता

विवश कुलुङ
 नेपालको शैक्षिक स्तर खस्कदै गईरहको अवस्थामा दुर्गम सामुदायिक विद्यालयका बालबालिकाहरु बिहान सबेरै उठ्यो, चिया खाजा खायो, त्यसपछि एकभारी घाँस, स्याउला या दाउरा त ल्याउनैपर्छ, त्यसपछि मात्र हस्याफस्याङ गर्दै स्कुल दौडनुपर्ने बाध्यता छन् दुर्गमका बालबालिकाको । दिनभरि शिक्षकले पढाएको सुनेपछि अपरान्ह चार बजे घर फर्केपछि पनि विहानकै क्रियाकलाप दोहोरिन्छन् फेरी । सोलुखुम्बुको बालबालिकाको होमवर्क भनेकै घर पुग्नसाथ डोको नाम्लो समातेर कि घाँस, सोतर वा स्याउला तिर दगुर्नुपर्छ कि त गाईबाख्रा, भैसी चराउन वा बस्तुभाउको चाकर गर्नु हो । गाउँ घरका स्कुल पढ्ने बालबालिकाले सामना गर्दै आएको साझा दैनिकी यस्तै छ ।
विहान बेलुकी बुबा आमालाई सघाएर मात्र स्कुल जानुपर्छ भन्ने मान्यता नै बसिसकेको छ कतिपय गाउँघरमा । आमाबााुलाई नै थाहा छैन की छोराछोरी होमवर्क गरे मात्र राम्रो नतिजा ल्याउछ भनेर, मा पढेर समय विताउने छोरा छोरी भन्दा आमाबाबुलाई सघाउने नानी नै प्यारो हुन्छ  । सोलुखुम्बु सगरमाथा मावि वाकु कक्षा ५मा पढ्दै गरेकी सोमिला राई भन्छिन् ‘बालबालिकाको काँधमा पनि केही जिम्मेवारी बाँडफाँट गरेर दिएकै हुन्छन् र त्यो जिम्मेवारी पूरा नगर्दा सम्म हामीले स्कुल जानै पाउँदैनौं, काम नसकी विद्यालय गएमा बेलुका कुटाई खाईहालिन्छ ।’
बिहान बेलुकी घरका ठूला मानिसलाई सघाउनुपर्दा बालबालिकाहरुले विद्यालयमा जत्ति सिक्यो त्यत्तिमै चित्त बुझाउन बाध्य छन् । विहान काममा गएर फर्कदा स्कुल जान ढिला भएकाले कि विद्यालयमा ढिला पुग्ने कि त खाना नखाईकन विद्यालय जानुपर्ने अवस्थाहरु बारम्बार दोहोरिने पावै सोलुकी नानीमाया विश्वकर्म बताउँछिन् । थाप्लोमा रित्तो डोको र हातमा हसिया बोकेर जंगलतिर जाँदै गरेकी नानीमायाले कहिलेकाही त कामबाट फर्केर आफैले खाना पकाएर खाएर मात्र स्कुल जान पाइने बताईन् । ‘दिनहुँ कि स्याउला कि घाँस त ल्याउनैपर्छ, घर गएर पनि आफैले पकाएर खाएर जानुपर्दा कहिलेकाही त हाजिर पनि भेट्दिन’ नानीमायाले दुःखेसो पोखिन् ।
घरमा काम गर्नै पर्ने बाध्यताका कारण आफ्नो व्यक्तिगत सरसफाई लगायतका कामहरु गर्नै नभ्याउने उनीहरुको अनुभव छ । कहिलेकाही त स्कुल जान ढिला हुने सम्भावनाले छिटै बाख्रा खोरमा फर्काउदा अभिभावकको कुटाई समेत खानुपरेको काँगेल सोलुखुम्बुका दीपक कार्कीको दुःखेसो छ । ‘मैले त दिनहुँ बाख्रा चराउनु पर्छ, समय थाहा नभएर बाख्रा छिटै खोरमा लैजादा समेत किन छिटो ल्याईस् भनेर कुटाई खानुपर्छ’ बाख्रा चराउँदै गर्दा काँगेलमा भेटिएका दीपकले भने ।
शहर बजारमा विद्यालयबाट फर्केपछि पनि पढ्न पर्याप्त समय दिने र अझ ट्यूशनको समेत व्यवस्था गरिने हुँदा शहरको तुलनामा ग्रामीण भेगका बालबालिकालाई पढाउन गाह्रो हुने बरबोट निम्न माध्यमिक विद्यालयकी शिक्षिका लता थापाले बताईन् । । उच्च तहमा पुगेर कम नतिजा प्राप्त हुनको कारण पनि घरायसी कारणहरु नै मुख्य जिम्मेवार रहेको शिक्षिका लता थापाको भनाई छ ।

 कतिपय विद्यार्थी भोकै आउने र आएका बालबालिका पनि शारीरिक तथा मानसिक तन्दुरुस्तीका साथ विद्यालय नआउने हुँदा शिक्षण सिकाई उपलब्धी हासिल गर्न आफूहरुलाई गाह्रो हुने गुदेल माध्यमिक विद्यालयका प्रधानाध्यपक खड्ग राज कार्की बताउनु हुन्छ । ‘उदार कक्षोन्नति अनुसार विद्यार्थीलाई अनुत्तीर्ण गराउन नमिल्ने व्यवस्था छ, अनि घरमा पनि काम नगरी स्कुलमा आउन नसक्ने, स्कुलमा सिकेका कुरामा मात्र भर पर्नुपर्ने, यी लगायतका कारणले गर्दा शहरी क्षेत्रका बालबालिकाहरुसँग समान प्रतिस्पर्धा गर्न मुश्किल त पर्छ नै यसका अलावा उच्च तहमा कम नतिजा समेत आउने गरेको छ’  ।  कार्कीले भन्नु भयो ।
एकातिर घरमा बस्दा कामको बोझ अर्कोतिर घरको आर्थिक अवस्था कमजोर भएको हुदा आफ्नो पढाई खर्च जुटाउनको लागि भन्दै जिल्लाका अधिकांश विद्यालयका बालबालिका त आफैले भारी बोकेर नै पढाई खर्च समेत जुटाउनु पर्ने बाध्यता छ । सोलुखुम्बुमा  पर्यटकको भारी बोक्न नगए आफुहरुका लागि कपी, कलम तथा बिद्यालय पोषाक नजुट्ने भएकोले बाध्य भएर भारी बोक्न जाने गरेको बिद्यार्थीहरु बताउँछन् । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा बर्षको दुई पटक पर्यटकीय सिजन हुने भएकोले सोलुखुमबुका तललो भेगका बिद्यार्थीहरु बिद्यालय छाडेर भएपनि दुबै सिजनमा भारी बोक्न पुग्छन् ।
सोलुखुम्बु सोताङ ६ रोकका बालबालिको बाध्यता भनेको भिर र जंगलको नजिक रहेको बारीमा लगाइएको बाली जोगाउन बिहान उज्यालो भएदेखी साँझसम्म बारीमै बस्छन् । “गाउँभरका साथीभाई जम्मा हुन्छौं, बारीमै खैल्छौं, घरबाट लगेको खाजा उतै खान्छौं अनी साँझ परेपछि मात्र घर फर्कन्छौं,” सोताङ ६ का करिव १२ बर्षिय नौकुबीर राईले भने ।“बारीमा बाली पाक्ने बेलामा त कहिलेपनि स्कुल जाँदैनौं, स्कुलमा कोही पनि हुँदैनन् के जानु र” बालक राईको भनाई छ ।  आजभोली बारीमा आलु पाक्न थालेकोले बालबालीकाहरु आलु जोगाउनका लागि दिनभर बारीमै बस्ने गरेका छन् । “जंगल र भिरको छेउमा रहेको बारीमा बाली पाक्न नपाउँदै हुलका हुल बाँदर आएर सिध्याउने हुनाले बिहान उज्यालो भएदेखी साँझ सम्म बाँदर खेदाउन बारीमै बस्नुपर्छ रोकका बालबालिकाहरु । रोकका बालबालीकाहरु बर्षमा आधाभन्दा बढि समय बाँदर खेद्दैमा बिताउँछन् । कार्तिक—मंसिरमा कोदो, चैत्र—बैशाखका गहुँ जौ, जेठ—असारमा आलु अनी साउन—भदौमा मकैबाली जोगाउनु पर्ने भएकोले सँधैजसो बारीमा बसेर बाँदरको गोठालो लाग्नुपर्छ ।
दुर्गमका अभिभावकसँग एकातिर छोराछोरीका लागि धन नहुनु अर्कातिर मन पनि नहुनु पनि देखिन्छ किनकी आफैले श्रम गरेरै भए पनि छोराछोरीलाई पढाउनु पर्ने समयमा छोराछोरीलाई नै ?म गर्न लगाउछन् । गुदेलका लक्ष्मि प्रसाद कुलुङले भने,“ म सुरुमा विद्यालय जादा पनि भागेर गएको थिए, बुबाले स्कुल त जान दिनुभयो तर खर्च दिनु भएन त्यसैले अहिले सम्म पनि साहुको भारी बोकेर नै पढेको हु, एसएलसी सम्म त पढ्ने धोको छ साहुको भारी बोकेर भएपनि घरमा बसेर दैनिक ज्यालामा काम गरेर भएपनि मेरो पढ्ने ईच्छा पुरा गर्छु ।”
   यस्तै सोहि विद्यालयमा अध्ययन गर्ने अर्को बिद्यार्थी हिमन कुलुङले पनि विद्यालयमा पाईला टेकेको ८ वर्ष पुरा भई सकेको छ । बुबाले खर्च नगरे कै कारण अहिले सम्म ५ दिनको बाटोमा पर्ने नेलेसम्म गएर साहुको बारी बोकेर नै आफ्नो विद्यालयको पोशाक किन्नु, कापी कलम किन्नु लगायतको स्कुल खर्च जोहो गर्नु पर्ने बाध्यता रहेको छ ।