पर्यटक चाहियो, मतदाता नामावली होइन

विवश कुलुङ राई
 नागरिकको ब्यक्तिगत अभिलेख अभिलेखिकरणसँगै फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम देशभरि चलिरहेको अवस्थामा सोलुखुम्बुको नाम्चे खुम्जुङलगायतका हिमाली जनतालाई भने नजीकै रहेको मतदाता दर्ताटोली सम्म पुग्न पनि फूर्सद भएन । अघिल्लो हप्ता नागरिकता सहितको मतदाता नामावली दर्ता टोली त्यसतर्फ प्रस्थान गर्दै गर्दा वाटोमा भेटिनुभएका एक स्थानीय पर्यटन ब्ययवसायीले सरकारको यस कार्यलाई त्यति वास्ता गर्नुभएन । वहाँले भन्नुभयो ‘तपाईँहरु यतिबेर किन आउनुभएको बरु हामीलाई पर्यटक पठाइदिनुस तपाइहरु नआए पनि हुन्छ, फर्कनुहोस ।’ सोलुखुम्बुको तल्लो क्षेत्रमा रहेको काँगेल विमानस्थलमा अघिल्लो दिन अवतरण भएका पर्यटक लिन आउँदै गरेका ती अधबैँसे पथ प्रदर्शक सरकारको काममा खुशी देखिएका थिएनन् ।
     सदरमुकामदेखि चार दिन लगाएर नाम्चे पुगेको नागरिकता वितरण तथा फोटोसहितको मतदाता नामावली दर्ता टोलीले आफ्नै आँगनमा बसेर काम गरिरहँदा पनि नाम्चेका होटल ब्यवसायी दिनेश मगर नामदर्ता गर्न आउनुभएन । विहानैदेखि साँझसम्म ल्यापटप लिएर बसिरहेका जिल्ला निर्वाचन कार्यालयका दर्ता कर्मचारीले फोटो खिच्न पटक पटक बोलाउँदा वहाँले भन्नुभयो, ‘यतिबेर मैले फोटो खिचाउँन थालेपछि मेरो होटल र पसल कसले चलाउँछ ?’
    नागरिकता टोली बाटामा हिडिरहँदा तलमाथि गरिरहेका पथ प्रदर्शकहरुले टोलीलाई आफूहरुलाई टोली आउने थाहा भएर पनि नामदर्ता गर्न नभ्याउने बताइरहँदा सरकारको यो कामको कुनै अर्थ नभएको जस्तो देखियो । चाँडै चुनाव हुने र त्यसका लागि नागरिकता र मतदाता नामावली आवश्यक रहेको कुरा टोलीले उनीहरुलाई सम्झाउँदा पनि उनीहरु आफूलाई सबैकुरा थाहा भएर पनि यतिबेर यो कार्यमा सामेल हुन नसक्ने बताउँथे, पथ प्रदर्शक दातेम्बा शेर्पाले भन्नुभयो, हामीले रेडियोमा सूचना सुनेको भएपनि आजकाल भ्याउने अवस्था छैन । नामावली दर्ता गराएर पनि कुनै फाइदा छैन, हामीलाई भोट दिनु छैन, पर्यटक राम्ररी आइदिए पुग्छ तपाईहरु कुनै फाइदा दिन आएको भए बस्नुहोस्, नत्र फर्केर गएपनि हुन्छ ।
    २०६८ को जनगणना अनुसार एकहजार पाँचसय ४० जना मानिस रहेको नाम्चे गाविसका नागरिकहरु मध्ये निर्बाचन कार्यालयमा छ सय त्रियासी जना मात्र दर्ता भएका छन् । विगत दुइ बर्ष भित्रमा जिल्ला निर्वाचन कार्यालयले यस क्षेत्रमा ३ पटक मतदाता दर्ता टोली खटाएपनि हालसम्म अपेक्षित उपलब्धि पाउन सकेको छैन । नाम्चे खुम्जुङ क्षेत्रमा निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा रहेकी सामाजिक परिचालिका गंगा राई मतदाता दर्ता टोलीमा पनि प्रत्यक्ष रुपमा सहभागी हुनुहुन्थ्यो, बहाँ भन्नुहुन्छ, यहाँका मानिसलाई सरकारी सेवामा कुनै चासो छैन । हामीलाई सरकारी तलब खाएर यहाँ बस्न पनि अति नै गाह्रो छ, काम पनि गर्न सक्ने अवस्था छैन, यहाँका मानिसहरुसँग मिलेर काम गर्नु फलामको चिउरा चपाउन जत्तिकै गाह्रो छ । एकातिर हामीलाई सरकारले किन काम नगरेको भनेर प्रश्न गर्छ, यहाँका मानिसहरु तिम्रो सेवाको हामीलाई खाँचो छैन भनेजस्तो ब्यवहार देखाउँछन् ।
    सर्बोच्च शिखर सगरमाथा रहेको खुम्जुङ गाविसमा पछिल्लो जनगणना अनुसार एकहजार नौसय १२ मध्ये नौसय १२ जनाले मात्र नामदर्ता गरेका छन् । सगरमाथा आधार शिविर सम्म बस्ती रहेको यस क्षेत्रमा पनि अत्यन्त न्यून स्तरमा मतदाता दर्ता हुनुमा सरकारको र स्थानीय बासिन्दाको उत्तिकै जिम्मेवारी रहेको देखिन्छ । खुम्जुङको स्याङवोचेबाट करिब छ घण्टाको यात्रा भरेर पुगेका टोलीले दिनभर बस्दा जम्मा अठार जनाको मात्र नाम दर्ता गर्न सफल भएको थियो ।
‘सरकार आवश्यक छ कि छैन भन्ने प्रश्न जताततै आउँदोरहेछ,’ यस प्रति चिन्ता ब्यक्त गर्दै जिल्ला निर्वाचन अधिकारी पुण्यप्रसाद भट्टराईले भन्नुभयो । ‘कमसेकम राज्यले खर्च गरेर टोली पठाएपछि आँगनमै रहेको टोली सम्म पुग्न नसक्नुमा चाहीँ हामीले अझै उनीहरुलाई घरदैलो शिक्षा कार्यक्रम नै आवश्यक रहेको देखिन्छ ।’
आधा जति मानिसहरु बेलायत, अमेरिकामा बस्ने र केही मानिसहरु पर्यटन ब्यवसाय गर्ने यस क्षेत्रका मानिसहरुलाई सरकारले पु¥याएको सेवामा कुनै सन्तुष्ठि छैन । उनीहरु पर्यटन ब्यवसायबाट नै पर्याप्त कमाउन सफल भएका छन् । तथापि यस क्षेत्रका राजनीतिक दल तथा प्रशासनिक निकायहरुले आवश्यक मात्रामा उनीहरुलाई सार्वजनिक सरोकार र सरकारी प्रावधानका सम्बन्धमा जानकारी गराउन सके, राज्यले बेला बेलामा गर्ने यस्ता लगानी खेर जाने थिएनन् कि ?