ग्रामीण भेगका विद्यालय उमेरका बालबालिकालाई कामको बोझ


विवश कुलुङ राई
बिहान सबेरै उठ्यो, चिया खाजा खायो, त्यसपछि एकभारी घाँस, स्याउला या दाउरा त ल्याउनैपर्छ, त्यसपछि मात्र हस्याफस्याङ गर्दै स्कुल दौडन्छन् । दिनभरि शिक्षकले पढाएको सुनेपछि अपरान्ह चार बजे घर फर्केपछि पनि विहानकै क्रियाकलाप दोहोरिन्छन् फेरी । घर पुग्नसाथ डोको नाम्लो समातेर कि घाँस, सोतर वा स्याउला तिर दगुर्नुपर्छ कि त गाईबाख्रा, भैसी चराउन वा बस्तुभाउको चाकर गर्नुपर्छ । गाउँ घरका स्कुल पढ्ने बालबालिकाले सामना गर्दै आएको साझा दैनिकी यस्तै छ ।

विहान बेलुकी बुबा आमालाई सघाएर मात्र स्कुल जानुपर्छ भन्ने मान्यता नै बसिसकेको छ कतिपय गाउँघरमा । काँगेल सोलुखुम्बुका नारायण कार्की भन्छन् ‘बालबालिकाको काँधमा पनि केही जिम्मेवारी बाँडफाँट गरेर दिएकै हुन्छन् र त्यो जिम्मेवारी पूरा नगर्दा सम्म उनीहरुले स्कुल जानै पाउँदैनन् ।’ बिहान बेलुकी घरका ठूला मानिसलाई सघाउनुपर्दा उनीहरुले विद्यालयमा जत्ति सिक्यो त्यत्तिमै चित्त बुझाउन बाध्य छन् । विहान काममा गएर फर्कदा स्कुल जान ढिला भएकाले कि विद्यालयमा ढिला पुग्ने कि त खाना नखाईकन विद्यालय जानुपर्ने अवस्थाहरु बारम्बार दोहोरिने पावै सोलुकी नानीमाया विश्वकर्म बताउँछिन् । थाप्लोमा रित्तो डोको र हातमा हसिया बोकेर जंगलतिर जाँदै गरेकी नानीमायाले कहिलेकाही त कामबाट फर्केर आफैले खाना पकाएर खाएर मात्र स्कुल जान पाइने बताईन् । ‘दिनहुँ कि स्याउला कि घाँस त ल्याउनैपर्छ, घर गएर पनि आफैले पकाएर खाएर जानुपर्दा कहिलेकाही त हाजिर पनि भेट्दिन’ नानीमायाले दुःखेसो पोखिन् ।

घरमा काम गर्नै पर्ने बाध्यताका कारण आफ्नो व्यक्तिगत सरसफाई लगायतका कामहरु गर्नै नभ्याउने उनीहरुको अनुभव छ । कहिलेकाही त स्कुल जान ढिला हुने सम्भावनाले छिटै बाख्रा खोरमा फर्काउदा अभिभावकको कुटाई समेत खानुपरेको काँगेल सोलुखुम्बुका दीपक कार्कीको दुःखेसो छ । ‘मैले त दिनहुँ बाख्रा चराउनु पर्छ, समय थाहा नभएर बाख्रा छिटै खोरमा लैजादा समेत किन छिटो ल्याईस् भनेर कुटाई खानुपर्छ’ बाख्रा चराउँदै गर्दा काँगेलमा भेटिएका दीपकले भने ।

शहर बजारमा विद्यालयबाट फर्केपछि पनि पढ्न पर्याप्त समय दिने र अझ ट्यूशनको समेत व्यवस्था गरिने हुँदा शहरको तुलनामा ग्रामीण भेगका बालबालिकालाई पढाउन गाह्रो हुने बरबोट निम्न माध्यमिक विद्यालयकी शिक्षिका लता थापाले बताईन् । कतिपय विद्यार्थी भोकै आउने र आएका बालबालिका पनि शारीरिक तथा मानसिक तन्दुरुस्तीका साथ विद्यालय नआउने हुँदा शिक्षण सिकाई उपलब्धी हासिल गर्न आफूहरुलाई गाह्रो हुने विद्यालयका प्रधानाध्यपक पूर्ण बहादुर बस्नेत बताउँछन् । उच्च तहमा पुगेर कम नतिजा प्राप्त हुनको कारण पनि घरायसी कारणहरु नै मुख्य जिम्मेवार रहेको शिक्षिका लता थापाको भनाई छ । ‘उदार कक्षोन्नति अनुसार विद्यार्थीलाई अनुत्तीर्ण गराउन नमिल्ने व्यवस्था छ, अनि घरमा पनि काम नगरी स्कुलमा आउन नसक्ने, स्कुलमा सिकेका कुरामा मात्र भर पर्नुपर्ने, यी लगायतका कारणले गर्दा शहरी क्षेत्रका बालबालिकाहरुसँग समान प्रतिस्पर्धा गर्न मुश्किल त पर्छ नै यसका अलावा उच्च तहमा कम नतिजा समेत आउने गरेको छ’ उनले भनिन् ।