सदरमुकाममै माना पाथीको प्रचलन


विवश कुलुङ राई

विश्वभर नापतौलको इकाईमा एकरुपता ल्याउन मेट्रिक प्रणाली लागु भएको कयौं बर्ष वितेपनि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भने अझै मानापाथी प्रचलनमा रहेको छ । चामल, गहुँ, मकै, सिमी जस्ता खाद्यबाली होस् वा तोरीको तेल तथा ढिके नुन होस, मानापाथीमै नाप्ने गरिन्छ । स्थानीय प्रशासन, उद्योग बाणिज्य संघ र बजार व्यवस्थापन समितिको निश्क्रियताका कारण मानापाथी प्रयोग गर्नमै अभ्यस्तै हुदै आएका व्यापारीहरुले अझै मानापाथी त्याग्न नसकेका हुन् ।

माना, पाथी जस्ता परम्परागत नापतौलका साधनहरु प्रायजसो शहरी क्षेत्रमा एकादेशको कथा जस्तै भईसके । शहरबजारमा ढक, तराजु र काँटाले लोप प्रायः बनाईसकेको तिनै मानापाथी बिना सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भने खाद्यन्न लगायत अन्य धेरै चीजबीचको क्रेता र विक्रेता बीच कारोबार नै ठप्प हुन्छ ।

कुनै समय नयाँ बजार व्यवस्थापन समितिले मानापाथीको प्रयोग हटाउनका लागि विक्रेताको मानापाथी खोस्ने, जरीबाना तोक्ने सम्मको काम गरेपनि समितिको सक्रियता त्यत्तिमै सीमित रहेपछि नयाँ प्रचलन ल्याउन नसकेको व्यापारीहरु बताउँछन् ।

क्रेताहरु पनि भरसक आधुनिक नापतौलको साधन नै प्रयोगमा ल्याओस् भन्ने चाहन्छन् । माना पाथीमा किन्नुपर्दा कतिको माना पाथी सानो हुने, ठूलो देखिए पनि पींध कुच्याएर कम अन्न पस्ने बनाउने र राम्ररी भरेर नदिएमा उपभोक्ता ठगिने समस्या हुने उपभोक्ताहरु बताउँछन् ।

क्रेता तथा विक्रेता पनि सन्तुष्टी हुने र नापतौलमा ठग्न नमिल्ने भन्दै व्यापारीहरु पनि अन्तरराष्ट्रिय नापतौल अनुसार चल्नुपर्ने बताउँछन् ।

बजार व्यवस्थापन समिति र उद्योग बाणिज्य संघ भने केही बर्ष पहिले क्रेता र विक्रेताको चेतना स्तर कम भएका कारण आफूहरुको योजना सफल नभएको दाबी गर्छन् । क्रेता र विक्रेताले चाहेमा मात्र यो सफल हुने र अब केही समयपछि मानापाथीको प्रयोग हटाई मेट्रिक प्रणाली अनुरुप अगाडि बढ्ने उद्योग बाणिज्य संघ सोलुखुम्बुका अध्यक्ष जयप्रसाद राईले बताए ।