मर्मतको पर्खाईमा मेरापिक मार्ग

विवश कुलुङ
सोलुखुम्बुमा रहेका पिकहरुमध्ये सबैभन्दा बढि आम्दानी गर्ने पिकको रुपमा परिचित मेरापिकबाट राज्यले बर्षेणी धेरै राजश्व प्राप्त गरिरहेकोछ । बिभिन्न ट्रेकिङ कम्पनीहरुले सो पिकमा पर्यटकहरु पु¥याएर धेरै कमाएका छन् । तर त्यही पिक जाने बाटो भने जिर्ण बन्दै गएकोछ ।
     जिल्लाको वाकुको सिबुचेदेखि कोठे हुँदै मेरापिकसम्मको मुख्य पर्यटन मार्ग जीर्णबन्दै जान थालेपछि अहिले त्यहाँका पर्यटन व्यवसायी तथा पर्यटकहरु समेत चिन्तित बन्न थालेकाछन् । निर्माण भएको एक दशक बितिसक्दा समेत मर्मत तर्फ कसैको ध्यान नजाँदा पर्यटन मार्ग जीर्णबन्दै गएको हो । पासाङ ल्हमु सिबुचे–मेरापिक पर्यन मुख्य मार्ग नाम दिइएको पदमार्ग मर्मत नहुँदा ठाउँ–ठाउँमा भत्किनुका साथै पहिरोले बाटो अवरुद्ध भएको पदयात्रीहरु बताउँछन् । त्यस बाटो हिड्ने पदयात्रीहरुका अनुसार कुनै ठाउँमा बाटो साँघुरो भएका कारण दुईतर्फी हिँड्न सकिने अवस्था छैन । 
     पर्यटकको भारी बोकेर हिँडिरहेका गुदेलमा निरमान् कुलुङले भन्नुभयो “भर्खर निर्माण गर्दा त बाटो निकै सजिलो भएको थियो तर आजभोली त हिड्दा पनि ज्यान जोगाउन मुस्किलपर्छ” । विसं २०५७ मा निर्माण सम्पन्न भएको उक्त बाटो हालसम्म मर्मत भएको थाहा नभएको सिबुेचका सोनाम शेर्पाले बताउनुभयो । विसं २०५५ देखि तीन वर्ष लगाएर वाकुको सिबुचेदेखि मेरापिकसम्मको पर्यटन मार्गकोे निर्माण गरिएको थियो । कुल १९.२५० किलोमिटर लामो पर्यटन मार्ग अहिले े जिर्ण बन्दै गएको कारण बाटो हिड्न समस्या आएकोछ ।
     पिके पिक ट्रेकिङ प्रालिका बुद्धिबहादुर तामाङ भन्नुहुन्छ “कुनै कुनै ठाउँ यस्तो हुन्छ कि बिहान हिँडेको स्थान र बेलुकी वास बस्ने स्थानको उचाइ दुई हजारकै फरक पर्छ यसो हुँदा पर्यकले लेक पचाउन सक्दैनन् र बिरामी हुन्छन्, तर यहाँ त बिहान र बेलुकीको उचाइको अन्तर करिब १०० मिटरमात्र हुन्छ” ।
     पर्यकहरुका लागि मेरा पिक जान उपयुक्त पदमार्गको मर्मत नहुँदा समस्या भएकोले यस बाटोमा राज्यको दृष्टि पुग्नुपर्ने स्थानीयवासीको माग छ । अन्तराष्ट्रिय स्तरमा परिचित र धेरै पर्यटकहरु हिड्ने तथा राज्यलाई धेरै आम्दानी दिईरहेको मेरापिक पुग्ने सो मार्ग तत्कालै मर्मत गर्नुपर्ने स्थानीय ङवाङ ल्हाक्पा शेर्पा बताउनुहुन्छ ।  शेर्पा भन्नुहुन्छ “स्थानीय स्तरमा श्रमदानबाट सम्भव भए हामी राज्यसँग गुहार माग्दैन थियौँ, तर हाम्रो प्रयास मात्र सम्भव छैन, राज्यको लगानी पनि चाहिन्छ” उहाँका अनुसार मेरापिकबाट बर्सेनि सङकलन हुने आरोहण शुल्कको केही प्रतिशत मात्र यस भेगको मर्मत संभारका लागि लगानी गरेमा मर्मतकै लागि दाता वा सरकारको मुख ताकिरहनु पर्दैन ।