सोलुखुम्बुको पर्यटन तीन गाविसमा मात्र सिमित

विवश कुलुङ,
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु मध्ये करीब वार्षिक ३० हजार पर्यटकले  सोलुखुम्बुको भ्रमण गरेको हुन्छ ।  विश्व सम्पदा सूचीमा समेत सुचीकृत विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बुको नाम झट्ट सुन्ने जो कोहीलाई लाग्न सक्छ यो पर्यटकीय जिल्ला हो र यसको सबै भुभागमा पर्यटन विस्तार समान ढंगले भईरहेको छ । तर यथार्थ ठीक उल्टो छ, सोलुखुम्बु जिल्लामा प्रवेश गर्ने पर्यटकहरु मध्ये ९९ प्रतिशत पर्यटक जिल्लाको तीन गाविसमा मात्र पुग्ने गर्दछन् ।
कुल ३४ वटा गाविस रहेको सोलुखुम्बुको उत्तरी क्षेत्रमा रहेका गाविसहरु चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसमा मात्र जिल्लाको पर्यटन सीमित हुदा तल्लो क्षेत्रका व्यवशायीहरुको व्यवशाय फस्टाउन  सकेको छैन । अझ सोलुखुम्बुको तल्लो क्षेत्रका गाविसमा बाह्य पर्यटक आईहालेमा सोलुखुम्बुका स्थानीयहरु रमिता हेर्न झुम्मीने गर्दछन् कारण हो तल्लो क्षेत्रमा आउने पर्यटकको संख्या न्युन हुनु । 
यसरी सोलुखुम्बु भित्रिएका पर्यटकहरु ३ गाविसमा मात्र सिमित हुदा तल्लो क्षेत्रका व्यवशायीहरुलाई धेरै मर्का भईरहेको छ । 
अधिकांश पर्यटकहरु हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न आउँछन्, यसका लागि हवाई मार्गबाट लुक्ला विमानस्थलमा ओर्लन्छन् त्यसैले पनि पर्यटनको विकास यी तीन गाविसमा मात्र भएको हो । सोलुखुम्बुको चौरीखर्क, नाम्चे र खुम्जुङमा मात्र सिमित हुदा तल्लो क्षेत्रका व्यवशायीलाई पर्यटनको सिजन हो भन्ने समेत थाहा नभएको सल्लेरीका व्यवशायी गेहेन्द्र कुमार श्रेष्ठको भनाई छ । 
जिल्लाको अन्य गाविसमा भएका पर्यटकीय सम्भावनाहरुलाई प्रचारप्रसार गर्न नसक्दा अन्य गाविसहरु पर्यटकीय दृष्टिकोणबाट ओझेलमा परेकोले तल्लो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नको लागि जिल्ला विकास समिति, राजनितिक दल तथा सरोकारवालाले चासो दिनु पर्ने अर्काे व्यवशायी   छिन्डी ल्हमु शेर्पा बताउनु हुन्छ । 
सोलुखुम्बु जिल्लामा आउने अधिकांश पर्यटक तीन वटा गाविसमा मात्र खुम्चिंदा पर्यटकबाट पाउनुपर्ने लाभ पनि ३ गाविसमा नै खुम्चिएको छ । जिल्लाको तीन गाविसमा मात्र केन्द्रीकृत पर्यटकले धनी र गरीब बीचको खाडललाई समेत ठूलो बनाएको छ । तल्लो क्षेत्रमा फाट्टफुट्ट मात्र देखिने गरेको सल्लेरीमा होटल व्यवशाय गर्दै आउनु भएका बुङका शुशिल कुमार राईको भनाई छ । 
सोलुखुम्बुको तल्लो क्षेत्रमा पनि त्यतिकै सास्कृतिक सम्पदा, धार्मिक पर्यटनको सम्भावना रहेको भएपनि पर्यटकलाई भित्र्याउन नसकेको हो भने सोलुखुम्बुको कृषि व्यवशायलाई केहि सुधार गर्न सकेमा पनि पर्यटक भित्रिन्छ ।  त्यसैले जिल्लाको समग्र विकासलाई जोड दिने निमित्त स्थानीय विकास अधिकारी राजेन्द्र केसीको भनाई छ  । उहाका अनुसार विकासको पुर्वाधार राम्रो भएमा पर्यटकको संख्या बृद्धि गर्न सकिन्छ । त्यसैले जिल्लाको समग्र विकासमा जिल्ला विकास समिति लागि गरेको छ उहाको भनाई छ ।  
सोलुखुम्बु जिल्ला एक भए पनि यहाको वातावरण, भौगोलिकता र पर्यटनलाई हेर्दा तल्लो सोलुमा बस्ने नागरिकको जीवनशैली र माथिल्लो सोलुमा बस्ने नागरिकको जीवनशैलीमामा धेरै फरक पाईन्छ । समग्र जिल्लाको आयस्तर बढाउन तल्लो क्षेत्रमा पर्यटकीय संभावना खोज्नुको साथै आयआर्जनका अन्य उपायहरु पनि खोज्नुपर्छ ।