विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो सायद सबैलाई लाग्न सक्छ सजिलो होला किनकी सगरमाथा भनेपछि संसारभर चर्चामा छ तर यसको ठिक उल्टो अगाडीको बाटो पहिल्याउनको लागि कतै ढुङ्गाको चाङ त देखिन्छ भने कतै त अघिल्लो पदयात्रीको पाइला पहिल्याउनु बाहेक कुनै विकल्प नै छैन ।
विश्वको सर्वोच्च शिखर सगरमाथा जाँदै हुनुहुन्छ भने तपाईले पनि यस्तै समस्यासँग सामना गर्नुपर्नेछ । विश्वका प्रायः अधिकांश मुलुकका पर्यटकहरु आउने सगरमाथा क्षेत्रको बाटो ठीक यस्तै छ । पूर्वाधार खडा गर्ने कार्यमा राज्यले ध्यान नदिँदा र बर्षेणी ग्लेसियर पग्लेर बाटो भत्किरहने हुँदा सगरमाथा क्षेत्रको बाटोको अवस्था यस्तो बनेको हो ।
तेञ्जिङ हिलारी विमानस्थल लुक्लादेखि नाम्चे, खुम्जुङ, तेङ्बोचे, पाङ्बोचे हुदै फेरिचे र थुक्ला सम्मको बाटो सामान्य भएपनि त्यसभन्दा माथि सगरमाथा आधार शिवीरसम्मको बाटो भने धेरै कठीन छ ।
खुम्जुङ गाविसको लबुचे भन्ने स्थानदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिवीर सम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएकै भरमा पुग्नुपर्छ । यस क्षेत्रमा पर्यटकका लागि संकेत चिन्हको समेत व्यवस्था गरिएको छैन । संकेत चिन्हको अभावमा कयौं पर्यटक बाटो विराएर अन्यत्र समेत पुग्ने गरेका छन् ।
खुम्बुमा रहेका हिमश्रृङ्खलाहरुबाट आरोहण शुल्क बापत उठाएको रकम यस क्षेत्रको विकासमा लगानी नगरिंदा सगरमाथा क्षेत्रले यो नियति भोग्नु परेको यस क्षेत्रका बासिन्दाहरु बताउँछन् । बर्षेणी हजारौंको संख्यामा संसारभरका पदयात्री आउने यस क्षेत्रको बाटो निर्माणका लागि अहिलेसम्म कसैले एक रुपैयाँ पनि खर्च नगरेको आधारशिवीर नजिकैका बस्ती गोरप्सेपका ङवाङ लामाले बताए । ‘पदयात्रीहरु हिड्दाहिड्दै बनेका बाटा मात्र हुन् अरुले कसैले हालसम्म बनाएका छैनन्’ लामाले बताए ।
ढुङ्गा माथि टेक्दै हिड्नु परेकाले एक सिजनका लागि प्रयोग हुने बाटो अर्को सिजनका लागि पत्ता लगाउन समेत नसकिने लामाले बताए । ‘बाटो नै भनेर एकै ठाउँबाट हिड्ने निश्चित बाटो नै छैन, जहाँ मन लाग्यो त्यहीबाट हिड्छन्’ उनले भने ।
विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा जाने बाटो मात्र होइन, गोरक्सेप देखि कालापत्थर, दिङबोचेदेखि छुकुङ हुदै आईस्ल्याड पिक जाने बाटो, यस्तै लबुचे हुदै गोक्यो जाने बाटोको अवस्था पनि यस्तै छ ।
सगरमाथा राष्ट्रिय निकुन्जको कार्यालय नाम्चेमा रहेको अभिलेख अनुसार सन् २०११ मा अहिलेसम्मकै सबैभन्दा सर्वाधिक पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् । कार्यालयका अनुसार सन् २०११ मा ३४ हजार ५ सय ७१ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१२ को अघिल्लो नौ महिनाको पर्यटकको आँकडाले अझ यो बर्ष पर्यटक संख्या बढेको देखाएको छ ।
प्रवेशद्धारमा ट्रेकिङ गर्ने विदेशी पर्यटकको संख्या मात्र समावेश गरिएकाले यो संख्या अझ अधिक रहेको राष्ट्रिय निकुन्जका कर्मचारीहरु बताउँछन् । विदेशी पदयात्री, हिमाल आरोही र नेपाली सहित करीब एक लाख मानिस बर्षेणी यसक्षेत्रमा आउने गरेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत भूमीराज उपाध्यायले बताए ।
यत्तिका धेरै मानिसको आवातजावत हुने यसक्षेत्रको बाटो निर्माण नहुँदा कयौंले बाटो भुल्ने गरेको र झनै हिउं परेको बखत सबैभाग सम्म जस्तै देखिने हुँदा लडेर अंगभंग समेत हुने गरेको आईसफल ट्रेक्स् एण्ड एक्स्पिडीसन्का आरोही सोनाम शेर्पाले बताए । ‘पर्यटकहरु हिड्ने एउटै बाटो भए बाटो भुल्ने सम्भावना पनि हुने थिएन, कसैलाई सोधेर हिड्नुपर्ने पनि थिएन’ शेर्पाले सगरमाथा जाने बाटोको आवश्यकताबारे औल्याए ।
सगरमाथाको आरोहण शुल्क बापत उठाएको रकमको १ प्रतिशत मात्र खर्च गर्ने हो भने पनि सगरमाथा जाने बाटो निर्माणका लागि रकम पर्याप्त हुने ट्रेकिङ गाईड लाक्पा दोर्जी तामाङले बताए ।
सगरमाथाको रोयल्टी बापतको रकम राज्यले उठाएर नेता पोस्ने काम मात्र गरेको उनको आरोप छ । ‘सगरमाथाको रोयल्टी उठाएर सगरमाथा जाने बाटो समेत निर्माण नगरेर यसक्षेत्रलाई राज्यले अन्याय गरेको उनको आरोप छ । सगरमाथा आरोहण शुल्कबाट मात्र राज्यले बर्षेणी ३० करोड भन्दा बढी राजश्व संकलन गर्दै आएको छ ।
सगरमाथाको कुल रोयल्टीको तीसप्रतिशत मात्र जिल्लाले नियमित पाएमा आफूहरुले जिल्ला विकास समितिसंग लडेरै भए पनि लिने स्थानीय ला फुटी शेर्पाले बताईन् । राज्यले आफ्नै क्षेत्रमा रहेको सगरमाथाको रोयल्टी उठाएर पनि विकास निर्माणका लागि चासो नदिंदा स्थानीय विकास निर्माणको काम गर्न समेत विदेशीलाई भिख माग्नु परेको शेर्पाले गुनासो गरिन्
।
स्थानीय स्वयत्त शासन ऐन २०५५ र नियमावली २०५६ अनुसार हिमाल आरोहण बापत राज्यबाट सोलुखुम्बुले प्राप्त गर्नुपर्ने १८ करोड रकम अझै पाउन सकेको छैन । रोयल्टी बापत जिल्लाले प्राप्त गरेको हिस्साको एक प्रतिशत रकम पनि खुम्बु क्षेत्रको पर्यटन विकासका लागि खर्च नहुँदा पर्यटकीय क्षेत्रका पूर्वाधारहरु निर्माण हुन नसकेको खुम्बुबासी बताउँछन् ।
‘जिल्लाको विकास बजेटमा हाम्रा लागि एक अंश पनि बिनियोजन हुदैन, जसले गर्दा विश्व सम्पदा सूचीमा समेत परेको सगरमाथा क्षेत्रले समेत विकासको अभाव झेलिरहनुपरेको छ’ नाम्चेका छिमी शेर्पाले गुनासो गरे ।
अर्थमन्त्रालयले बजेट नभएको भन्दै पर्वतारोहण रोयल्टी बापत जिल्लाले प्राप्त गर्नुपर्ने रकम निकाशा नगरेपछि जिल्लाको पर्यटकीय गुरुयोजना अन्तर्गत विभिन्न गाविस जोड्ने पर्यटन मार्ग निर्माण कार्य समेत अलपत्र परेको जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बुले जनाएको छ ।