हमालले सिकाए ओलीलाई अभिनय


रेडियो नेपालको समाचार वाचिका एवं गायिका कोमल ओली फिल्म राजनीति मार्फत अभिनयमा होमिएकी छिन् । भदौ २८ गते देशभरबाट प्रदर्शनमा आउने राजनीति फिल्ममा ओलीलाई राजनीतिज्ञको भुमिकामा देख्न पाइनेछ ।
 
बसन्त निर्रौला निर्देशित फिल्ममा कोमलको अपोजिटमा अभिनेता राजेश हमाल प्रस्तुत छन् । राजनीतिमा हमाल कोमलका पती हुन् । सुटिङ सेटमा आफ्नो को-स्टारसँग घुलमिल नहुने भनिएका अभिनेता हमालले कोमललाई भने अभिनयको टिप्स समेत दिएछन् । कोमल सम्झिन्छिन्- 'मैले उहाँलाई सुरुमै भनेकी थिएँ, मेरो कारणले गर्दा तपाईलाई बोर हुन सक्ला । त्यसकारण मलाई तपाईको सहयोगको खाँचो छ ।'
 
कोमलको अपेक्षा जस्तै हमालले पनि कोमललाई अभिनय सिकाए । कोमल भन्छिन्- 'सँगै हुने दृश्यमा हामी एक आपसमा छलफल गर्थ्यौं । उहाँ मलाई सहयोगी लाग्यो ।' तीज गीतको झुमी झुमी एल्बम बजारमा ल्याएकी कोमल थप्छिन्- 'उहाँले थप्पड हानेर म लड्नु पर्ने दृश्य थियो । यसमा उहाँले धेरै सहयोग गर्नुभयो ।'
 
 
बागबजारस्थित सिने जोन स्टुडियोमा राजनीति फिल्मको डविङमा व्यस्त कोमलले महानायक हमालको खुलेरै तारिफ गरिन् । फिल्मीखबरसँगको कुराकानीमा उनले विशेषगरी हमालको अभिनय क्षमतालाई मुक्तकण्ठले प्रसंशा गरिन् । 'उहाँको वन टेक ओके अभिनय क्षमताबाट म प्रभावित भएँ,' अविवाहित कोमलले भनिन्- 'अभिनय दक्षतासँगै उहाँ सहयोगी पनि पाएँ ।'
 
केही वर्ष अघि साप्ताहिक पत्रिकाले कोमल र राजेशको वैवाहिक सम्बन्धलाई लिएर प्रतिक्रिया सहितको फिचर न्यूज तयार पारेको थियो । यसलाई आधार मान्दै फिल्मीखबरले राजेशसँगको बिहेको विषयमा सोधेको प्रश्नमा कोमल भन्छिन्- 'उहाँसँग मेरो वैवाहिक सम्बन्ध कल्पना भन्दा बाहिरको कुरा हो ।' आफ्नो नजरमा राजेशलाई आदर्श व्यक्तित्वको रूपमा हेर्ने कोमल थप्छिन् -'जीवन साथीको रुपमा उहाँको तस्बिर मेरो नजरमा कहिल्यै आएन ।'