बलात्कृतको बोली कसरी फेरीयो

जबरजस्ती करणी प्रयासको अभियोग लागेका र पीडित सबैलाई हेलिकप्टर मार्फत ल्याइदैछ भन्ने खबर पाएपछि फाप्लु विमानस्थलमा तैनाथ प्रहरीहरु तयारी अवस्थामा थिए । चौरीखर्कको सुर्के हेलिप्याडबाट हेलिकप्टर त उड्यो तर फाप्लुमा अवतरण गर्नुपर्ने हेलिकप्टर तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा लगेर राख्यो । त्यसपछि सबै जना चकित भए । हेलिकप्टर भित्रबाट अभियुक्त दावा शेर्पा, उनकी श्रीमती ल्हमु शेर्पा, पीडित डोमा शेर्पा, हवल्दार गोबिन्द श्रेष्ठ र एक जना प्रहरी जवान निस्किए ।
एकैछिन अघिसम्म आफू अन्यायमा परेको र न्यायिक उपचारको माग गर्दै प्रहरी कार्यालयमा आईपुगेकी डोमाले तत्काल बयान फेरिन् । उनले भनिन् ‘बाबु जस्तो मान्छेलाई म कार्वाही हुनुपर्छ भन्दिन । जाँड रक्सीका कारण त्यसो भएको हुनसक्छ म एक पटकलाई माफ दिन तयार छु बरु कस्तो किसिमको कागजमा सहीछाप गर्नुपर्छ म सहीछाप गर्न तयार छु।’
एकैछिन अघि सम्म अभियुक्तलाई कानुनी कार्वाही गर्नुपर्छ भन्नेमा कट्टर देखिएकी डोमाले बयान फेर्दा र फाप्लु पठाएको हेलिकप्टर लुक्लामा अवतरण हुँदा लुक्लाका सबै सबैजसो मानिसलाई नाटक झैं लाग्यो । झनै अचम्मित र चलचित्रकै दृश्य जस्तो त्यहाँका प्रहरी नायब निरीक्षक प्रेम प्रसाद दाहाललाई लागेछ । आफूले अभियुक्तलाई सुरक्षित साथ हेलिकप्टर मार्फत हवल्दारको कमाण्डमा पठाएको भनी डीएस्पीलाई जानकारी गराईसकेको र ५ मिनेट पछि हेलिकप्टर लुक्लामा अवतरण हुँदा आफूलाई फिल्मकै दृश्य जस्तो लागेको सई दाहालले बताए । ‘घटनासंग सम्बन्धित सबै जना हेलिकप्टर मार्फत आउँदैछन् भनेर डीएस्पीलाई जानकारी गराएको थिएँ, एकातिर जानुपर्ने हेलिकप्टर अर्कोतिर आएर क्षणभरमा बयान फेर्छ भने कसलाई फिल्म जस्तो लाग्दैन र ?’सई दाहालले अचम्मित हुदै घटनाबारे दर्शाए ।
प्रहरी नायब निरीक्षक दाहालका अनुसार आफ्नो श्रीमान्ले शनिबार राती होटलको वेटरलाई जबरजस्ती करणी गर्न खोजेको खबर आएपछि दावाका श्रीमती ल्हमू शेर्पा आइतबार काठमाडौबाट हेलिकप्टर चढेर लुक्ला आएकी थिइन् । लुक्लाबाट हेलिकप्टरबाट सीधै जिल्ला सदरमुकाममा जान लागेका उनीहरुसँग स्थानीयको भनाभन भएपछि हेलिकप्टर सुर्के हेलिप्याडमा अवतरण गरिएको थियो । लुक्ला विमानस्थलदेखि सुर्केसम्मको पैदल यात्रामा उनीहरुले मिलापत्र गर्ने सहमति जनाएछन् । ‘मलाई पनि घटना देखेर आश्चर्य लागेको छ, लुक्लादेखि सुर्केसम्म जाँदा करीब आधा घण्टाको बीचमै कुरा मिलाएछन्’ सई दाहालले भने ।
एकैछिन अघिसम्म अभियुक्तलाई कठोर कार्वाहीको माग गर्दै आएकी डोमाले पीडकबाट ३ लाख रुपैयाँ पाउने भएपछि माफी दिने कुरा गरेका रहेछन् । उनलाई पीडकले तीन लाख रुपैयाँ दिने भएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु ल्याइदै गरेका अभियुक्त दावा शेर्पालाई लुक्ला नै फकाईएको रहेछ ।
पुरानो तर रोचक