आफै श्रम गर्न वाध्य छन् विद्यार्थीहरु


 विवश कुलुङ 

सोलुखुम्बुको दुर्गम गाविस भनेर चिनिने गुदेल छेस्काम र बुङका विद्यार्थीहरुले आफै श्रम गरेर आफ्नो कापी कलम किन्ने गरेका छन् । घरको आयस्रोत पनि नभएको र आफ्ना आमा बुबाले अधिकांश विद्यार्थीको स्कुल खर्च नगरेको हुदा आफैले श्रम गर्न वाध्य भएको हो । छोरारोरीका लागि कापी कलम किन्नको लागि बुबासँग पैसा भए पनि गाउमा रक्सी किनेर खान पछि पर्देन तर कहिले पनि छोराको खर्च भनेर एक रुपैया खर्च नगरेको गुदेल माविमा अध्ययनरत लक्ष्मि प्रसाद कुलुङले बताए । 
    कुलुङले थप्दै भने,“ म सुरुमा विद्यालय जादा पनि भागेर गएको थिए, बुबाले स्कुल त जान दिनुभयो तर खर्च दिनु भएन त्यसैले अहिले सम्म पनि साहुको भारी बोकेर नै पढेको हु, एसएलसी सम्म त पढ्ने धोको छ साहुको भारी बोकेर भएपनि घरमा बसेर दैनिक ज्यालामा काम गरेर भएपनि मेरो पढ्ने ईच्छा पुरा गर्छु ।” 
   यस्तै सोहि विद्यालयमा अध्ययन गर्ने अर्को बिद्यार्थी हिमन कुलुङले पनि विद्यालयमा पाईला टेकेको ८ वर्ष पुरा भई सकेको छ । बुबाले खर्च नगरे कै कारण अहिले सम्म ५ दिनको बाटोमा पर्ने नेलेसम्म गएर साहुको भारी बोकेर नै आफ्नो विद्यालयको पोशाक किन्नु, कापी कलम किन्नु लगायतको स्कुल खर्च जोहो गर्नु पर्ने बाध्यता रहेको छ । 
    आफुले काम नियमित रुपमा गर्न पाए त काम गर्ने भएपनि त्यस क्षेत्रका विद्यार्थीहरु खोजेको समयमा साहुको भरिया समेत जान नपाउदा स्कुल खर्च नै टुट्ने गरेको छ । आफ्नो खर्च जुटाउनको लागि साहुको भरिया जान समेत होडबाजी चल्ने गरेको छ । 
    आफुसँग खर्चको अभावमा कारण घरमा बस्दा पनि विद्यालय पोशाकमा नै बस्नु पर्ने त्यस क्षेत्रका विद्यार्थीको बाध्यता रहेको छ । छेस्काम माविमा अध्ययनरत एक विद्यार्थीका अनुसार आफुसँग पैसा नभए कै बेला कापी सिद्धिन्छ के गर्नु र कयौ पटक साथीसँग २ पन्ना कापी मागेर चलाएको पनि छु । 
    नेलेसम्म साहुको भरिया गएपछि आउदा एक हप्ता समय बितिहाल्छ त्यसपछि आफु नियमित कक्षामा उपस्थित हुन नसकेपछि एउटा कक्षामा नै धेरै वर्षसम्म बस्नु पर्ने बाध्यताका कारण औसतरुपमा वर्षमा १०÷१२ जना विद्यार्थीले बिचैमा विद्यालय छोड्ने गरेको गुदेल माविका प्रधानाध्यपक खड्ग राज कार्की बताउनु भयो ।
   यस क्षेत्रका बालबालीकालाई बाल अधिकार भनेको के हो भनेर सोध्दा पढ्न पाउनु र विद्यालय खर्चको लागि आफुले खोजेको सायमा काम पाउनु र कसरी हुन्छ पैसा कमाउनु नै बाल अधिकार हो भनेर बुझ्ने गरेको पाईएको छ ।