खुम्बुका सरकार ‘पासाङ’ सरकारी तवरबाट हुन नसकेको काम चन्दा संकलन गरेर

विवश कुलुङ
पासाङलेभौतिक सम्पक्ति, सुखसयल र आनन्दको जिन्दगी रोजेनन्, बाटो निर्माण गरेर अरुलाई हिडडुल गर्न सहज बनाउन सके मनले शान्ति पाउने भन्दै अरुको उपकारको बाटो चुने । सायद भौतिक सुखलाई नै परम सुख ठानी धनदौलतको पछाडि लागेको भए उनी यत्तिबेला भव्य महलमा हुन्थे, तर उनी यत्तिबेला बाटो हिड्ने बटुवाहरु संग हुन्छन्, हातमा चन्दा बाकस बोकेर बाटो बनाउने पैसा संकलन गरिरहेका हुन्छन् । उनको नाममा सानो छाप्रो समेत छैन, डेरामै जिन्दगी कटाएर सिंगो जीवन नै बाटो बनाउने काममा अर्पेका उनी हुन् पासाङ शेर्पा (७२) ।

 न कुनै संस्था न उनका सहयोगी साथीहरु । तैपनि एक्लैले यत्ति लामो बाटो निर्माण गरेका छन् कि यसको मापन नै छैन । पाखुरामा बलको तेज चढ्दै गर्दा देखि नै कुटो कोदालो, गैदी र ह्याम्बर बोकेर बाटो बनाउन निस्केका पासाङ जीवनको उत्तराद्र्धमा आईपुग्दा समेत बाटो बनाएर थाकेका छैनन् । आफ्नो घर गृहस्थी सबै त्यागेर सिंगो जीवन नै बिग्रे भत्केको बाटोमा समर्पण गरेका उनी बाटोमै देह अन्त होस् भन्ने अभिलाषा राख्छन् । 

बि.सं. २०१५ सालदेखि नै बाटो निर्माण गर्न थालेका शेर्पाले अनवरत रुपमा आज पर्यन्त पनि यो कार्यलाई निरन्तरता दिईरहेका छन् । बाटो निर्माण गर्न थालेको ५४ बर्षको अवधिमा उनले सगरमाथा क्षेत्रमा ओहोरदोहोर गर्ने मूल बाटोहरु दिङबोचे, तथा फेरिचेदेखि पाङबोचे, तेङबोचे हुदै नाम्चेको खोङ्मा डाँडा नजिक सम्म ल्याईसकेका छन् ।

बाटो संगै जिन्दगीलाई साटेका शेर्पाले आफू जन्मेको ठाउँमा बाटो बनाएका भने होइनन् । उनको जन्म सोलुखुम्बुको काँकु गाविस ४ मूलखर्कमा भएपनि उनले सगरमाथा क्षेत्रका पर्यटकीय पदमार्गहरुको निर्माण गरेका हुन् । जुन बढीजसो खुम्जुङ र केही भाग नाम्चे गाविसमा पर्दछ ।

अरु केही नभएपनि उनी चन्दा बाकस सधैं आफ्नै साथमा बोक्छन् । आफूले गर्ने काम र सहयोगको याचना समेटिएको कागजात पनि त्यही हुन्छ । पासाङले अरुलाई सहयोग गर्नुहोस् भनेर भनिरहनुपर्दैन । नयाँ पर्यटकहरुका लागि उनीसंगै भएको कागज काफी हुन्छ भने पुरानाहरु पासाङ बाटो निर्माण गर्ने समाजसेवी हुन् भन्नेमा चिरपरिचित छन् । पर्यटकलाई चन्दा माग्दै बाटो बनाउदै आएका उनलाई खुम्बुबासी खुम्बुका सरकार भनेर सम्बोधन गर्छन् ।

हुन पनि सरकारको उपस्थिति बिना नै सगरमाथा आवातजावत गर्ने पर्यटकलाई स्वेच्छिक चन्दा मागेकै भरमा उनले यस क्षेत्रमा हजारौं किलोमिटर बाटो निर्माण गरिसकेका छन् ।

शुरुमा पर्यटक भरिया भएर कालापत्थर ट्रेकिङमा जाँदा बाटोघाटो विग्रेको, भत्किएको र धेरै पर्यटकहरु लडेर खुट्टा मर्किने भाँच्ने लगायतको समस्या देखेपछि उनलाई बाटो बनाउने चहाना बढेको रहेछ । त्यसको बर्षदिनपछि उनले एउटा जुक्ति निकाले र त्यो जुक्ति पर्यटकलाई पैसा माग्दै त्यही बाटो बनाउने थियो । यसका लागि उनले सगरमाथा राष्ट्रिय निकुञ्जसंग अनुमति मागे र स्वीकृति पत्र पनि बनाउन लगाए ।

सगरमाथा पदमार्गमा पर्ने दिङ्बोचेबाट बाटो निर्माण गर्न थालेका उनलाई जीवन नै बाटो बनाएर बिताउछु भन्ने लागेको थिएन । ‘बाटो निर्माण गर्दै जाँदा प्रशंसक र पर्यटकको स्याबासीले गर्दा यो क्षेत्र त्यागेर जान मनै लागेन, बाटो बनाउने मोहका कारण आज म बाटोमै मर्ने अवस्थामा पुगेको छु’ पासाङले भने ।

उनले बनाएका बाटोहरु पुनः निर्माण गर्नुपर्ने तरीकाले बनाएनन् । सिजनमा प्रायः व्यस्त रहने यस क्षेत्रको बाटोमा ओहोरदोहोर हुन मिल्ने गरी बनाएका छन् । जस्तो सुकै अफ्ठ्यारो बाटोमा पनि उनले कम्तीमा चार फुट चौडा बाटो निर्माण गरेका छन् । शेर्पा भन्छन् ‘दिङबुचे र फेरिचे देखि यता यहाँ (नाम्चेको खोङ्म डाँडा) सम्म मेरो पसीना र रगत बगेको छ ।’

बाटो बनाउँदा शुरुका दिनमा कतिले असहयोग समेत गरेको उनको तीतो अनुभव छ । ‘रकम संकलन गरेर भाग्छ होला भन्दै मलाई कतिले पैसा दिएनन् पछि थोरै रकमबाट धेरै काम भएको प्रत्यक्ष आँखाले देखेपछि उनीहरु मलाई सहयोग गर्न हौसिए ’ पासाङले भने ।

उनलाई देखेर अचम्मित हुनेहरु धेरै छन् । शुरुका दिनमा उनलाई देख्नेहरु उनीहरुको देशमा पुगेर पाँच÷सात पटक नेपाल आउँदा समेत उनको त्यही कामको निरन्तरता देखेर आश्चर्य मान्ने गरेको उनले बताए । हुन पनि उनको बाटो निर्माण यात्रा संगै ट्रेकिङ गर्न शुरु गरेकाहरुले बूढो भएर ट्रेकिङ पेशा नै छाडिसकेका रहेछन् तर पासाङ भने बाटो बनाएर कहिल्यै थाकेका छैनन् । बरु अझ धेरै बर्ष बाँच्न पाए हुन्थ्यो भन्ने इरादा राख्छन् पासाङ । ‘मैले बाटो बनाउन शुरु गर्दा ट्रेकिङ शुरु गरेकाहरु कोही बूढो भए कोही मरिसके, यो बाटोमा देखिन छाडेका छन् । म पनि कुन दिन मर्छु होला अलि बढी बाँच्न पाए बाँकी बाटो निर्माण गर्थें’ उनले बढी बाँच्ने चहाना व्यक्त गरे ।

चाउरी अनुहार, कुप्रो शरीर, फुलेका कपाल अनि पावरवाला चश्मा लगाएका उनको बाटो बनाउने शैली विगत चार÷पाँच बर्ष यता बदलिएको छ । आफै ढुंगा फुटाउने, ढुंगा उचाल्ने र गारो लगाउने काममा तल्लीन हुदै आएका उनको भूमिका चार ÷पाँच बर्ष यता अह्राउने र रकम जम्मा गर्ने काममा मात्र सीमित हुन थालेको छ । बुढ्यौलीले छुँदै गएपछि शारीरिक अशक्तताका कारण उनको भूमिका साँघुरिएको पासाङ बताउँछन् । ‘दिनको दुई जना कामदार लगाएको छु अरुले गरेको काम चित्त बुझ्दैन आफैले काम गरेजस्तो हुदैन, ढुंगा उचाल्न मन लाग्छ तर सक्दिन’ उनले शारीरिक असक्षमता बारे दर्शाए ।

पूरै घर गृहस्थी त्यागेर अविचलित रुपमा बाटो निर्माण गर्ने काममै होमिएका पासाङको जीवन भने त्यत्ति सुखद रहेन । वि.सं. २०१६ सालमा पहिलो विवाह गरेका उनले २०३६ सालमा माईली विवाह गर्नुपरेको थियो । पहिलो श्रीमतीको देहान्त भएपछि माईली विवाह गरेका उनले माईली श्रीमतीबाट खुसी भन्दा पनि पीडा बढी पाएका रहेछन् । उनको कामप्रति सन्तुष्ट नरहेकाले माईली श्रीमतीले गाली गरिरहने र सन्तान समेत नभएपछि बीचैमा छाडेर गइन् । फलस्वरुप उनले सात बर्ष अघि कान्छी श्रीमतीको रुपमा ल्हमू शेर्पालाई भित्र्याए । खुम्जुङ गाविसको एउटा घरको कोठामा पासाङलाई उनै ल्हमूले लालनपालन र साथ सहयोग गर्ने गर्छिन् ।

अरुको खुसीमा आफ्नो खुसी देख्ने, अरुलाई सघाउन पाउँदा आत्मा प्रफुल्ल हुने बताउने पासाङ कयौंको स्याबासीको पात्र मात्र बनेका छैनन् उनलाई नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उ८यन मन्त्रालयले समेत दोसल्ला ओढाएर सम्मान गरेका छन् । उनले गरेको कार्यको सराहना गर्दै पर्यटन मन्त्रालयले दुई बर्ष अघि १६ हजार रुपैयाँ नगद र ताम्रपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको पासाङले बताए । भौतिक रुपमा दरिद्र भए पनि प्रशंसा र स्याबासीको ओहिरो लाग्दा धनी भएको महसुस हुने उनको अनुभव छ । भन्छन् ‘मेरो देख्ने सम्पक्ति छ भने सरकारले दिएको ताम्रपत्र मात्र छ, अरु त जीवनभरि बनाएको बाटो नै हो’

धनले धनी मानिसहरु मरेर जाँदा उनका सन्तानले बनाए माने चौतारा सम्म हुने नत्र केही नहुने भन्दै आफूले हजारौं किलोमिटर बाटो निर्माण गरेको बताए । जुन उनको मृत्यु पर्यन्त पनि चर्चा हुनेछ ।

विस्तारै उमेर ढल्किदै गएपछि बाटो बनाउने कामबाट निबृत्त हुनुपर्ने अवस्थाले पासाङलाई धेरै सताउन थालेको छ । पाँच बर्ष अघिसम्म ढुंगा उचाल्दै आएका उनलाई अबको एक दुई बर्षपछि चन्दा बाकस समेत बोक्न सकिन्न कि भन्ने पीर छ । ‘अब एक दुई बर्ष पछि यो चन्दा बाकस पनि बोक्न सक्दिन होला ? अनि कसले दिन्छ पैसा ? अनि कसरी बनाउने बाटो ? साह्रै चिन्ता लागिरहेको छ’ उनले चिन्ता व्यक्त गरे ।

रोग व्याधि लागेर नथलिए आपूmले बनाउने गरेको बाटोमा खट्दा खट्दै मर्ने उनको इरादा छ । ‘मैले बाटोमै रगत, पसीना बगाए, जीवन पनि यही बिताएँ अरुको घरमा भन्दा यही बाटोमा मर्न पाए मलाई आनन्द हुनेछ मेरा शुभ चिन्तकहरुले श्रद्धा व्यक्त गर्नेछन्’ गहभरि आँशु पार्दै उनले आफ्नो अन्तिम इरादा व्यक्त गरे ।