विवश कुलुङ
गाउँघरमा धान रोप्न, बालीनाली उठाउनको लागि पर्म लगाउँने कुरा कुनै नौलो होइन ? तर पिठो पिस्नकै लागी पर्म लगाउने चलन भने नौलो कुरा हो । जिल्लाको कोशीपारीको विकट गाविस गुदेल स्थित चाचालुङमा पिठो पिस्न पनि पर्म लगाउने चलन रहेको छ । गाउँमा एउटा पनि पानी मिल तथा पानी घट्टा नभएपछि यहाँका स्थानीय बासिन्दाहरुले पिठो पिस्न पर्म लगाउँदै आएका छन् ।
सदरमुकाम सल्लेरीबाट १९ कोष टाढा चाचालुङबासी भौगोलिक विकटतासँगै विकासका क्षेत्रमा पनि निक्कै पछाडि परेको छ । ‘के गर्ने गाउँमा पिउने पानी त भनेको समयमा प्रशस्त पाउन मुश्किल पर्दछ, झन पानी मिल तथा घट्टाको कल्पना गर्नु त दिउँसै सपना देखे जस्तै हो’ गुदेल(६ चाचालुङकी परिसुख राईले भने । गाउँ नजिक कतै पनि पानीको ठूलो स्रोत छैन् । पिउनको लागी पनि करिब १० किलोमिटर टाढाबाट सानो पाईपमा पानी ल्याइएको छ ।
वर्षा याममा गाउँ वरिपरि केही खहरे खोल्सीहरु भएपनि कात्तिक महिना शुरु भएसँगै ती खोल्सीका पानी सुक्ने गर्दछ । भरपर्दो पानीको स्रोत नभएरै यहाँका स्थानीय बासिन्दाहरुले पानी मिल तथा पानी घट्टा निर्माण गर्न नसकेपछि पिठो पिस्न पर्म शुरु गरेका हुन् । ‘घरमा पाहुना आएको बेला पिठो पिस्न पर्म लगाउने चलन छ, किनभने पाहुनालाई मिठो मसिनो खुवाउने भनेको समयमा चामल हुँदैन, त्यसैले ढिडो नै भएपनि मिठो बनाएर दिन्छौं’ गुदेल(७ की भद्रकुमारी राईले भने । उच्च हिमाली गाविस भएकाले यहाँ कुनै प्रकारको धान खेती हुँदैन ।
जाँतोमा पिठो पिस्नका लागी धेरै समय खर्च गर्नु पर्दैन मात्र दुईदेखि साँढे दुई घण्टा समय निकाले काफी हुन्छ । कोदो, मकै, गहुँ, वा, जौ र फापर पिस्दा पर्म लगाउने चलन रहेको छ । ‘एक जनाले पिस्नु भन्दा दुई जनाले पिस्दा बढी मैदा र छिटो हुने भएकाले पर्म लगाएका हौं’ चाचालुङकी कौशिला राईले भने ।
सदरमुकाम सल्लेरीबाट तीन दिनको पैदल यात्रापछि पगिने गुदेल गाविस सोलुखुम्बुको कर्णाली भनेर पनि परिचित रहेको छ । त्यसैले यस क्षेत्रमा विकासे कार्यहरु पनि चित्त बुझ्दो रुपमा अगाडि बढाइएको छैन । यस क्षेत्रका बासिन्दाहरु दुर्गमभित्रको दुर्गमतामा बाँची रहेका छन् ।