बास नबसी गाविस भवन पुगिदैन

सोलुखुम्बु वाकु गाविस वडा नं. ४ सिबुचेका स्थानीयहरुलाई आफ्नै गाविस भवनसम्म पुग्नका लागि पनि बास बस्नु पर्दछ । भौगोलिक विकटताले गर्दा सिबुचेबासीलाई आफ्नै गाविस भवनसम्म पुग्नका लागि बास बस्नु पर्ने बाध्यता भएको हो । 
गाउँ विकास समितिको सेवा सुविधा लिनको लागि त्यस भेगका स्थानीयहरुलाई मर्का परेको उनीहरुको भनाई छ । आफ्नै गाविस भवन पुग्नको लागि दुई दिनको समय लाग्न भएकोले अबको समयमा वाकुको सिबुचेलाई जुभिङ गाविसमा गाभ्न पाएमा सिबुजेबासीलाई सहज हुने स्थानीयहरु बताउछन् ।  
आफ्नै गाविसको भवनसम्म पुग्नका लागि एकदिन भन्दा बढि समय खर्च गर्नु पर्ने अवस्थाले गर्दा धेरै समस्या भईरहेको वाकु ४ सिबुचेका पासाङ नुरु शेर्पाको भनाई छ “आफ्ना गाविस जानु भन्दा धेरै नजिक जुभिङ गाविस पर्छ । सिवुजे गएर कामकाज गरेर आउनको लागि त कम्तिमा तीन दिनको समय खर्च गर्नु पर्छ ।”
भोट हाल्न जाँदा बास बस्नु परेको, गाविसको सिफारिस लिएर घर फर्कदा तीन दिन लागेको, गाविस सचिव नभेद्दा दुईदिनसम्म फर्केर आउनु परेको, यी र यस्ता थुप्रै समस्याहरु यहाँका स्थानीय बासिन्दाहरुले भोगिरहेका छन् । वाकु गाविसको वडा नं. ४ को यो बस्तीलाई जुभिङ गाविससँग गाभ्नका लागी अहिले आएर मात्र महशुस भएको होइन, पञ्चायत कालीन समयदेखि नै पटक–पटक गाउँ भेला गरी निर्णय समेत गरेर पठाएको सिबुचेका पासाङ नुरु शेर्पा स्मरण गर्नु हुन्छ “हामीले पटक पटक हामीलाई गाविस भवन पुग्नको लागि समस्या भयो भनेर माग गरेका नै हौं तर हाम्रो माग सुनुवाई नै भईरहेको छैन ।”
तर हालसम्म भएका प्रयासहरु सबै खेर गएका छन् । उनीहरुका अनुसार सिबुचेलाई जुभिङसँग गाभ्न सकेको खण्डमा राज्यबाट पाउने सेवा सुविधा समेत प्राप्त गर्न सजिलो हुन्छ । गाविसको कार्यालयदेखि टाढाको दूरीमा रहनु परेको कारण उनीहरुले राज्यबाट लिनु पर्ने सेवा सुविधा समेत लिन पाएका छैनन् । सिबुचे बासीले जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता जस्ता पञ्जीकरण सम्बन्धिका कामहरु गरेका छैनन् भने मालपोत कर समेत बुझाएका छैनन् । 
दुर्गम गाविसका यी मानिसहरुले राज्यको नागरिकको हैसियतले पाउनु पर्ने सेवा सुविधा पनि पाएका छैनन् । हालसम्म दुर्गम भेगका जनताको लागि सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको चामल र नुनको स्वाद यहाँका बासिन्दाले लिन  नपाएको  स्थानीय बासिन्दा पासाङ नुरु शेपा  बताउनु हुन्छ । गाविसबाट प्रदान गरिने सेवा सुविधाहरु सिबुचेसम्म कमै पुग्ने गरेको छ ।  

दर्जी दाई टालटुलमा सिमित

परम्परादेखि हाते मेसिन गाँउ गाँउमा घुमाउँदै कपडा सिलाएर जिविकोपार्जन गर्ने कालीगडहरुको व्यवशाय आधुनिक किसिमका खुट्टे मेसिन र विद्युतीय मेसिनका कारण संकटमा पर्दै गईरहेको छ ।
पहिले बाजेको पाला देखि नै हाते मेसिनले कपडा सिलाएर एक परिवारलाई सहजै पाल्न सक्नेहरु अहिले दिनभरी काम गरेर एक दुई सय मात्र हुने गरेको बताउछन् । पहिले जस्तोसुकै कपडा पनि हाते मेसिनले नै सिलाउने गरेको थियो भने अहिले थोत्रो कपडा मात्र टाल्ने गरेका छन् । 
 विगत १४ वर्ष अघिलेखि सल्लेरीमा लाग्ने साप्ताहिक हाटमा हाते मेसिनले कपडा सिलाउदै आउनु भएका तिङलाका मान बहादुर नेपालीले पहिले आफ्नो घरखर्च मजाले जुटाउने गर्नुभएको थियो । तर अहिले काम नभएकोले दुई चार रुपैयांमै चित्त बुझाउनुपर्छ ।  
 पहिले व्यवशायीक रुपमा हातेमेसिन चलाउने गरेका कृष्ण बहादुर नेपाली अहिले आफ्नो व्यवशाय नै आधुनिक मेसिनले ठप्प बनाएको बताउनुहुन्छ “पहिला जुनसुकै कपडा सिलाउनु परेपनि हाते मेसिनले सिलाउने गरेका थियौँ भने अहिले थोत्रो मात्र टाल्ने गरेको छु ।”
 पहिले प्रतिस्पर्धा पनि कम थियो भने अहिले धेरै प्रतिष्पर्धा गर्नु पर्ने हुन्छ भने अहिले आधुनिक किसिमका मेसिनहरु बजारमा आएकोले हाते मेसिनले प्रतिष्पर्धा गर्न नसकिने जोगडाबाट सल्लेरीमा लुगा सिलाउन आउनु भएका कालीगड टेक बहादुर नेपालीको भनाई छ । 
 हाते मेसिन चलाउनेसँग इन्टरलक, आईरन जस्ता सुविधा नभएकोले पनि पाखा लागेको भुपाल नेपालीको भनाई छ । उहाका अनुसार हाते मेसिन चलाउने कालीगडले यस्ता सुविधा दिन पनि गाह्रो भएकोले काम पनि नपाएको हो ।
 पछिल्लो समयमा हाते मेसिन चलाउने कालीगडहरु विस्तारै विस्थापित भईसकेकोले परम्परागत रुपमा हाते मेसिन चलाउदै आएका व्यवशायीलाई समस्या हुने गरेको छ । त्यसैले आधुनिक सामाग्रीको प्रयोग गर्नुको विकल्प नरहेको देखिन्छ । 

संघर्षले मजदुर देखि करोडपति सम्म

तामाखानी सोलुखुम्बुका डिल्ली मगर पर्यटन भरियाको रुपमा खुम्बु क्षेत्र पुग्नुभयो । खुम्बुमा पर्यटन भरिया, होटल कामदार लगायतको मजदुरी गर्नुभएका शेर्पा अहिले स्याङबोचे विमानस्थल नजिक घर तथा होटल मालिक हुनुहुन्छ । 
स्याङबोचे बिमानस्थलमा हेलिकोप्टर उडानको चाँजोपाँजो मिलाउने काममा कहलिएका मगर कामदारबाट खुम्बुमा करोडपती मालिक बन्नुभएको छ । खुम्बुमा अन्यत्रबाट आएकालाई जग्गा किन्न समस्या हुने भएपनि खुम्बुकै युवतीसँग विवाह गरेपछि उहाँले त्यहाँ घडेरी किन्न संभव भएको हो । उहाँ भन्नुहुन्छ “भरियाबाट संघर्ष गरेको अहिले राम्रो छ” । 
त्यस्तै धादिङका दिल थापामगर १९ वर्ष अघि होटल कामदारका रुपमा नाम्चे आउनुभएको हो । करिब नौ वर्ष त्यसरी काम गरेपछि उहाँ आफैंले होटल चलाउन थाल्नुभयो । उहाँ यतिखेर स्याङबोचे स्थित खुम्बु माउन्टेन भ्यु लज, नाम्चेभित्रै होटल एभरेस्ट र नेस्ट गरी तीन होटलका सञ्चालक हुनुहुन्छ । काभ्रे तिमालका राम लामा पनि ११ वर्षअघि खुम्जुङ ६ देबुचेमा काम गर्न आउनुभएको थियो । चार वर्षयता उहाँ स्योमारेमा हिमालयन लन्च स्पट चलाइरहनुभएकोछ । सिजनमा राम्रै कमाइ हुने उहाँले बताउनुभयो । 
यी तीन जना प्रतिनिधि पात्र हुन् । खुम्बु क्षेत्रमा कामदार मालिक बनेका निकै उदाहरण छ । “कम्तीमा दुई दर्जन जतिले कामबाट कमाएको पैसाले आफैं होटल चलाउन थालेका छन्” व्यवसायी डिल्ली मगरले भन्नुभयो । यस क्षेत्रमा घरजग्गा किन्न नपाइने भएकाले भाडामा घरजग्गा लिएर होटल चलाउनुपर्छ अथवा त्यतैका युवतीसँग विवाह गरेमा उनिहरुको नाममा किन्न पाईन्छ । 
चौरीखर्क नाम्चे र खुम्जुङ गाविसलाई खुम्बु क्षेत्र भनिन्छ । यस क्षेत्रमा कम्तीमा हजारभन्दा बढी होटल छन् । लुक्ला, चौरीखर्क घाट, ठाडो कोसी, फाक्दिङ, राङदिङ, टोकटोक, बेंकर, मोन्जो, जोरसल्ले, नाम्चे, खुम्जुङ, स्याङबोचे, पाङबोचे, स्योमारे, दिङबोचे, फेरिचे, थुक्ला, लबुचे हुँदै गोरक्सेपसम्मनै होटल रहेका छन् । 
होटल व्यवसाय सुरुवात गर्ने शेर्पा समुदाय भए पनि बिस्तारै उनीहरु राजधानी र युरोपतिर जान थालेपछि जिल्लाको अन्य गाविस तथा बाहिरी जिल्लाबाट आउने कामदारहरु आफैं मालिक बन्न थालेका हुन् । “पर्यकीय क्षेत्र भएकाले होटल व्यवसाय गर्न चाहनेका लागि खुम्बु क्षेत्र राम्रो सम्भावना बोकेको ठाउँ हो, त्यसैले यहाँ सामान्य तलबमा काम गर्न आउने कामदारहरु करोडपति बन्न थालेका उदाहरण धेरै छन्” खुम्जुङका दोर्जी शेर्पाले भन्नुभयो । यसरी बिभिन्न क्षेत्रबाट आउने थुप्रै कामदारहरु खुम्बुमा मालिक बनेका छन् भने धेरैले उतै वैवाहिक सम्बन्ध पनि गाँसेका छन् । 

विद्यालयको चन्दा बाकस डस्टविनमा परिणत

सोलुखुम्बुको टाक्सिन्धु ८ रिङमु निमाविमा कार्यरत निजि स्रोतमा शिक्षण गर्ने शिक्षकहरुलाई तलव खुवाउनको लागि पर्यटक हिड्ने बाटोमा राखिएको चन्दा बाकस पर्यटक हिड्न छाडेपछि फोहोर फ्याक्ने डस्टविनमा परिणत भएको छ ।
बाह्य तथा आन्तरिक पर्यटक हिड्ने बाटामा पर्ने रिङमु बौद्धस्थित विद्यालयले चन्दा बाकस राखेर विगतको वर्षहरुमा वार्षिक ८० हजारसम्म आयस्रोत जटाउदै गरेको विद्यालयको चन्दा बाकस अहिले पर्यटक हिड्ने बाटो नै सुनसान भएपछि डस्टविनमा परिणत भएको विद्यालयले जनाएको छ । 
पर्यटकको चहलपहल घट्न थालेपछि बाटोमा सञ्चालनमा रहेको होटल पनि चल्न छोडेकोले होटल व्यवशायी समेत चिन्तित भनेका छन् । हिमश्रृङ्खलाको अवलोकन तथा हिमाल चढ्नका लागि वर्षको दुुई सिजन गरेर विदेशी पर्यटकहरु सोलुखुम्बुको सगरमाथा क्षेत्रमा आउने भएता पनि दोलखाको जिरी हुदै आउनेको सँख्या भने ह्वात्तै घटेको नुनथलाका होटल व्यवशायी धनपुरी तामाङले बताउनु भयो ।
 काठमान्डौंबाट गाडीको यात्रामा दोलखा जिरीमा ओलिर्एर आउने पर्यटकको सँख्या घट्नुको मुख्या कारण बाटोमा राम्रो बासको व्यवस्था नभएको पर्यटन व्यवशागीहरु बताउछन् ।  

कुलुङ एक जनजाती

वर्तमानमा नेपालका आदिवासीहरुमध्ये कुलुङ एकछुट्टै पहिचान र इतिहास भएको समुदाय हो । यद्यपि आदिवासीजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले अन्य थुप्रै आदिवासीहरुसँगै कुलुङलाई पहिचान दिन सकेन । जसको परिणाम स्वरुप अहिलेसम्म राज्यबाट पाउने सेवा, सुविधा, श्रोत र अवसरबाट बञ्चित हुँदै आएको अवस्था छ । राज्यले केही सिमित अधिकार दिने गरी बनाएको कानुन र त्यस निर्देशित संस्थाले पहिचान दिन छुटाएकाले लामो समयदेखि कुलुङ समुदाय जातीय स्वपहिचान र सूचिकरणको लँडाइमा छ । कुलुङ समुदाय(जाति)कै अगुवाइमा भएको आन्दोलनले आदिवासी जनजाति सूचिपरिमार्जन उच्चस्तरीय कार्य दल गठन नेपाल सरकार बाध्य भयो । कार्यदलले थप २५ सहित ८१ समूहलाई आदिवासीमा सूचिकृत गर्न सरकारलाई सिफारिस गरेको छ । सिफारिसले कुलुङ भिन्न पहिचान भएको आदिवासी जाति भएको पुष्टि गरेको छ । तथापि कुलुङ समुदाय भित्र ‘को कुलुङ हुन्’ र ‘को होइनन्’ भन्ने बहस सतहमा आएका छन् । यही सन्दर्भमा कुलुङ जाति को हुन् र यसको आधारहरु के छन् ? भन्ने विषयमा यो आलेखमार्फत प्रष्ट पार्ने कोसिस गरिएको छ ।

१. कुलुङ जाति उत्पति
कुलुङ बंशवली र मिथक अनुसार खारकी श्रीमती दुम्दिलिम गल्काम्माले मिनापोङ्खो हाल्कुम्बुमा खोक्चीलिप जन्माइन् । खोक्चीलिपले नागी वंशका पाछोक्सी येरुकाकी छोरी वेइलिम्मासित विवाह गरे । खोक्चिलिपले वेइलिमसँग विवाह गरेपछि उनीहरुले मिनापोङ्खो हाल्कुम्बू(मानव उत्पत्तिस्थल–ब्रह्मपुत्रको मैदान)मा पहिलो मानव बस्ती बसाएर सभ्यताको सुरुवात गरे । खोक्चिलिप र वेइलिमको सन्तानका रुपमा रोदु वा किराँतको जन्म भयो । तिनै किरातका सन्तानहरु फैलिँदै जाँदा ब्रह्मपुत्र किनारबाट गंगाको उत्तरी मैदान र सिन्धू घाँटीसम्म पुगे । अधिकांश इतिहासकारले लेखेका छन् – कामरुप(आसाम) पनि भनिने मिनापोङ्खो–हाल्कुम्बूबाटै किरात सभ्यताको विकास भएको हो । ब्रह्मपुत्र वरिपरिबाट किरातीहरु समग्र उत्तरी गंगाको मैदानी भागमा विफैलिएका थिए । किरात सभ्यता सिन्दूघाँटीसम्म विकसित भएको थियो । किरातहरुले एक समय ब्रह्मपुत्रदेखि गंगाको मैदान हुँदै सिन्दू घाँटीसम्म एकछत्र किरात आवाद चलेको थियो । हड्प्पा र महनजोड्डोको सभ्यता किरातहरुकै थियो भनेर इतिहासकार दुर्गाहाङ याक्खाले दाबी गरेका छन् । खेतीपातीमा रमाएर बसेका किरातहरुको ककेसियाबाट युरोप, मध्यपूर्व हुँदै भारतीय उप–महादिप आइपुगेका आर्यहरुसँग भेट भयो । करिब ५ हजार वर्षपहिले दुई समूहबीच युद्ध हुँदा किरातीहरु हारे । आर्यहरुबाट युद्धमा हारेपछि उनीहरु क्रमशः गंगाको मैदानबाट उत्तरी हिमालय पर्वततिर लागे ।

हिमालय पर्वततिर लागेका किरात समूहको एउटा गण नायक एलम्बरले करिब ३८ सय वर्ष पहिले काठमाण्डौं उपत्यकामा अधिपत्य जमाए । एलम्बरले स्थापना गरेको राज्य एलाखोममा ३२ पुस्तासम्म किरात किरात शासन चलेको इतिहास छ । जसलाई किरात काल भनेर इतिहासमा पढिँदै आएको छ । जब लिच्छवीहरुले एलाखोम (एलम्बरको भूमि)बाट किरातहरु विस्थापित गराए, त्यसपछि उनीहरु साँखु, बनेपा हुँदै सुनकोशी जलाधार क्षेत्रमा आइपुगे र नदी किनार हुँदै पूर्वतिर लागे । उपत्यकाबाट विस्थापित भएर आएका किरात समूहहरु वर्तमान खोटाङ, ओखलढुङ्गा र सोलुखम्बूका केही ठाउँमा बस्न थाले । वास्तवमा काठमाण्डौ उपत्येकाबाट विस्थापित भएर पूर्वतिर लागेको एक किरात समूहको सन्तान नै अहिलेको कुलुङहरु हुन् । कुलुङ मिथक(लोककथा)ले खोटाङको रावा उपत्यकासँग महाकुलुङ सम्बन्ध रहेको देखाउँछ । यसबाट के भन्न सकिन्छ भने कुलुङका पूर्खाहरु महाकुलुङमा आउनुअघि त्यता बसोबास गर्दथे । किरात मुलका अन्य जातिको इतिहास पढ्दा कुलुङ लगायत सबै एलाखोम उपत्येकाबाट पूर्व लागेका किरात सन्तान नै उनीहरु भएको बताउँछ ।

कुलुङ मिथक अनुसार किरातका सन्तानहरु खम्बुहो, नेवाहाङ, मेत्नाहाङ, मेरात्ती आदि थिए । उनीहरुले अलग अलग ठाउँमा आफ्नो सभ्यता विकास गरेर । उनीहरु अनेकौं उप समूहमा बाँडिए । यसमा विभिन्न नदीको जलाधार क्षेत्रलाई आधार बनाएर कुलुङ मिथकले वर्णनन् गरेको देखिन्छ । लिखु– सुनुवार, सुनकोशी–दूधकोशी– खम्बू, अरुण– मेवाहाङ र तमोर– याक्थुम्बा(लम्बू) भनिएको छ । बसोबासका दृष्टिले यो कुरामा केही मेल खाएको जस्तो देखिन्छ । तर इतिहास मिथक जसरी नबगेका कारण ऐतिहासिक कसीबाट हेर्दा यो भनाइलाई केही संशोधन गर्नु पर्ने देखिन्छ । सुनकोशी र दूधकोशी जलाधार क्षेत्रमा फरक पहिचान भएका दर्जन किरात जातिहरुले सभ्यता विकास गरेको देखिन्छ ।

कुलुङ मिथकमा किरात–आर्य युद्ध, उपत्यकाको किरात शासन आदिका बारेमा संकेत गरिएको पाइन्न । जसरी लिच्छवीले विस्थापित गरेपछि किरात कहाँ गए भन्ने नेपालको इतिहासमा उल्लेख छैन । तर मिथकले के संकेत गर्छ भने किरातहरु सुरक्षित बसोबासकै खोजीमा पहाडतिर लागेका थिए । मिथक अनुसार मिनापोङ्खो हाल्कुम्बूबाट गंगाको मैदान हुँदै हिमालय पर्वततिर लागेका किरातहरुमध्ये खम्बूहो वंशीय छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु नामका चार पूर्खाहरु होङ्गु उपत्यका (वर्तमान महाकुलुङ) शिकार खेल्दै आइपुगे । शिकार खेल्दै आएका उनीहरुले कालान्तरमा यही स्थायी बसोबास गर्न पुगे । तिनै चार पुर्खा र उनीहरुका दर सन्तानले होङ्गु उपत्यकामा साझा सभ्याता र सँस्कृतिको निर्माण गरे । जसले कुलुङ भनेर अन्यत्र चिनाए । कुलुङ सभ्यता, कुलुङ भाषा र कुलुङ सँस्कृतिको निर्माण गरे । नश्लीय रुपमा एउटै समूहका छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु चार पर्खाका सन्तानहरुलाई साझा भाषा–सँस्कृति र इतिहासले कुलुङ जाति बनाएको देखिन्छ ।

२. जातिको निर्माण कसरी ?
सामान्यतः संसारमा जातिको निर्माण सँस्कृति र भूमिको आधारमा हुने गर्दछ । एउटा निश्चित भूगोलमा बस्नेहरुले साझा संँस्कृतिको निर्माण गरेका हुन्छन् र त्यसलाई अन्यले पछ्याउँछ । एउटै सँस्कृति हुनेहरुबीच भाषाले अपनत्व वा हामी भन्ने भावनाको सृजना गर्छ । समाज एउटा सुत्रमा बाँध्ने काम भाषाले गरेको हुन्छ । एउटै नश्लका मानिसहरु पनि फरक सँस्कृति, फरक भूगोल, फरक भाषा र मनोविज्ञानले अलग जातिको पहिचान बनाएको पाइन्छ । जाति निर्माणमा नश्लको नभइ सँस्कृति र भाषाको भूमिका महत्वपूर्ण हुन्छ ।

नेपालमा नेवार समुदायलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । दर्जनौ नश्लका मानिसहरु नेपाल उपत्यकामा प्रवेशपछि नेवारी सँस्कृतिलाई स्वीकार गरे, नेवारी भाषा बोले । अहिले एउटै नेवार, जातिको रुपमा साझा भाषा र सँस्कृतिले एउटा मालामा उनेको छ । नेवारी भाषा बोलेको र नेवारी सँस्कृति अंगालेकै आधारमा उनीहरु नेवार जाति भए र त्यसमा गौरव गर्छन् । नश्लीय आधारमा हेर्ने हो भने नेवार समुदायभित्र आर्य, किरात, ड्रविड, मङ्गोलियन लगायतका छन् । अर्को एउटै नश्लका भएपनि धर्मका कारण तामाङ र गुरुङहरुले किरात भन्दा अलग जातीय पहिचान बनाएका छन् । नेपाल लगायत दक्षिण एशियामा यसको दर्जनौ उदाहरण देख्न सकिन्छ ।

३. जातिको परिभाषाः कसैले आफूलाई अलग जातिको रुपमा दावी गरीरहँदा केलाई जाति भनिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्दछ । सामान्यतः जाति राष्ट्रियताको आधारमा छुट्टिने मनुष्यको एक इकाइ, भौगालिक आधारमा अलग मानिसहरुको एक इकाइ, संस्कार वा धर्म अनुसार छुट्टिने मानव शाखा, शारीरिक बनोट वा गुण वा आकारप्रकारबाट छुट्टिने एक जीव वा निर्जीव वस्तुको इकाइ नै जाति हो । अंग्रेजीमा race (नश्ल÷जाति)को अर्थ : One of the main groups that humans can be divided into according to their physical differences for example color of their skin, the Caucasian, the Mongolian etc.भनिएको छ । यसले बताउँछ कि जाति भनेको मानिसको त्यो समूहगत विभाजन हो जहाँ शारीरिक भिन्नताले छुट्ट्याइएको हुन्छ ।

४. आदवासी जाति हुने आधारहरु
कुलुङ समुदायले विगत लामो समयदेखि आफूलाई अलग आदिवासी जातिका रुपमा दावी गर्दै आएको छ । कुलुङ समुदायकै अगुवाइमा आदिवासी सूचिकरण अभियानले एउटा उचाइ पायो । आदिवासी जनजाति सूचि परिमार्र्जन उच्चस्तरीय कार्यदल बनाउन सरकार गठन गर्न बाध्य भयो । कार्यदलले आफ्नो प्रतिवेदनमा पहिलेको सूचिलाई केही परिमार्जन गर्दै कुलुङसहित थप नयाँ आदिवासी जातिको सिफारिससमेत गरी सकेको छ । कुलुङ आदिवासी जातिमा सूचिकरणका लागि सिफारिस भएपछि दाबी सही भएको पुष्टि भइसकेको छ । संसारमा आदिवासी जाति बन्नका लागि केही निश्चित आधारहरु हुन्छन् । समाजशास्त्री÷मानवशास्त्री र भाषाशास्त्रीहरु तथा अन्तराष्ट्रिय महासन्धि र घोषणा–पत्रले आदिवासी जाति हुने आधारका रुपमा छुट्टै भाषा, छुट्टै सँस्कृति, लिखित वा अलिखित इतिहास, छुट्टै आदिभूमि, हामी भन्ने भावनालाई मानेका छन् । कुलुङ समुदायसँग उल्लेखित सम्पूर्ण आधार र प्रमाणहरु रहेको छन् । छेम्सी, ताम्सी, पिल्मो, सोत्तो र नाम्लुको साझा भाषा कुलुङ, सँस्कृति कुलुङ, मौखिक इतिहास, महाकुलुङ भुमि र हामी भन्ने भावना रहेको छ ।

५. कुलुङ जातिको निर्माण
कुलुङ किम्बदन्ती अनुसार खम्बूहो वंशका चारजना पूर्खाहरु हुङ्गु उपत्यका प्रवेश गरेको थिए । छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु नामका ति दाजुभाइहरु कोही अघि र कोही पछि महाकुलुङ आएका थिए । सबैभन्दा पहिले छेम्सी आएका थिए । छेम्सीपछि राताप्खु आए । समयक्रममा ताम्सी र खप्दुलु दुई भाइ हुङ्गु उपत्येका प्रवेश गरेर बस्न थाले । राताप्खु, ताम्सी र खप्दुलु छेम्सिले बोलेकै भाषा बोल्दथे । खास उनीहरु दाजुभाइका सन्तान थिए । एउटै भाषा बोल्ने र समान सँस्कार भएका उनीहरुले आपसमा सामुहिकता जनाउन आफूलार्ई कुलु’ र्वा केई कुलु’ भनेर सम्बोधन गर्दथे । जसको अर्थ हामी सहगोत्री भन्ने हुन्थ्यो र्। कुलु’ शब्द्ध कालान्तरमा रुपान्तरण भएर्र कुलुङ’ भएको विश्वास गरिन्छ । अर्को भनाइ के छ भने व्यवस्थित बसोबासको विकास भइनसकेको अवस्थामा पहिलेका पुर्खाहरु ओडारमा बस्दथे । ओडार सामान्यतः पानी नजिकै पाइने स्थानमा हुन्थ्यो । महाकुलुङमा पहिलो प्रवेश गर्ने छेम्सी त्यस्तै ठाउँ खोजेर वर्तमान सोलुखम्बूको पावै गाविसमा पर्ने हुलु क्षेत्रमा बसे । कुलुङ भाषामा पानीसहितको ढुङ्गालाई ‘काउलुङ’ भनिन्छ । यस्तै ओडारमा बसेका छेम्सी र उनका दाजुभाइहरु ‘कुलु’ हुँदै ‘कुलुङ’ भनिए वा भए । कुलुङ पूर्खाहरु ‘काउलुङ’वाट कुलु वा कुलुङ भएको बताउँदछन् । महाकुलुङ उपत्येकालाई ‘कुलु’ नामले सम्बोधन गर्ने पुरानो चलन पनि छ । ताम्सी, छेम्सी, खप्दुलु(पिल्मो) र राप्खु(सोताङ) सबै आफुले बोल्ने भाषालाई ‘कुलुरिङ’ वा ‘ईरिङ’ भन्दथे । चारदाजुभाइले उनीहरुबीच सामुहिकता जनाउन आफ्नो भाषा र संस्कारलाई ‘कुलु रिङ–रिदुम’ नामले पुकारे । त्यही कुलु शब्द कालान्तरमा कुलुङ भयो । ‘कुलु’ शब्दले एउटै वंशका स्वःजातीय भन्ने जनाउँदछ । छेम्सि, ताम्सी, खप्दुलु र राताप्खुका सन्तानबीच कुलुङ शब्दले सामुहिकतालाई बुझाउँछ र यो साझा सँस्कृति र सभ्यता पनि हो । यही कुलुङ शब्दलाई ती चार दाजुभाइको आफ्नो साझा पहिचान बनाए र आफूलाई कुलुङ जाति भनेर चिनाए । महाकुलुङबाट संसारभर फैलिएका मानिसहरु कुलुङ भनेर चिनिन्छन् ।

मानवशास्त्री चार्लस मेकडुगलका अनुसार छेम्सी सुरुमा हुलुमा आएर बसे । पछि शिकार खेल्ने क्रममा वर्तमान छेस्काम गाविसको छेम्सीसम्म पुगे । धेरै शिकार पाइने भएकोले छेम्सी अधिकांश त्यतै बस्न थाले । त्यो कुरा पहिल्यैदेखि बस्दै आएका रुपिहाङ्छा वंशका मान्छेहरुलाई मन परेन र उनीहरुले छेम्सीलाई लखेट्ने प्रयास गर्न थाले । रुपिहाङ्छाहरुको अत्याचार सहन नसकेपछि दाइ ताम्सीलाई लिन छेम्सी रावा गए । ताम्सीलाई लिएर आएपछि छेम्सी र ताम्सी दुई दाजुभाइले युद्धमा रुपिहाङ्छाहरुलाई पराजित गरेर महाकुलुङ उपत्येकामा अधिपत्य जमाएका थिए । युद्ध सघाएको पुरस्कार स्वरुप छेम्सीले ताम्सीलाई बर्तमान छेस्काममा भूमि दिएर बसाए । (चार्लस मेकडुगल, द कुलुङ राई, अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज, पेज १८) मानवशास्त्री चाल्र्स मेकडुगलले छेम्सी, ताम्सी, पिल्मो, सोत्तो र नाम्लु कुलुङका उप–जातिहरु हुन् भनेका छन् । मेकडुगलका अनुसार हुङ्गु उपत्येका र वरिपरिको क्षेत्र समावेशित भू–भाग कुलुङ आदिवासी जातिको किपट हो– जसलाई महाकुलुङ(विस्तारित कुलुङ भुमि) भनेर चिनिन्छ । (चार्लस मेकडुगल, द कुलुङ राई, अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज, पेज १९)

६. छेम्सी, ताम्सी, पिल्मो र सोत्तो एउटै कुलुङ जाति
व्यक्तिगत स्वार्थ र अलगाववादी जनजाति मानसिकताका कारण केहीले इतिहासको अपव्याख्या गरीदिँदा कुलुङ समुदायका प्रमुख वंशहरु छेम्सी, ताम्सी, पिल्मो, सोत्तो अलग जातिका हुन् की भन्ने केहीमा भ्रम सृजना भएको पाइन्छ । तर हाम्रो पूर्खाले भनिल्याएको कैरन र लिखित इतिहासले देखाउँछ उनीहरु अलग नभइ एकै जातिका हुन् । यस विषयलार्ई गहिरो गरी हेर्नु आवश्यक छ । अगाडि भनिसकिएको छ एउटा स्वाधिन जाति बन्नलाई त्यो समुदायसँग छुट्टै साझा भाषा, छुट्टै साझा सँस्कृति, साझा लिखित वा अलिखित इतिहास, छुट्टै साझा आदिभूमि र हामी भन्ने भावना आवश्यक छ । सोत्तो, पिल्मो, छेम्सि र ताम्सीमा एउटै जाति हुने सबै किसिमका सामुहिकताहरु छन् । उनीहरुको सामुहिक भाषा ‘कुलुङ’ छ, सामुहिक संस्कृति ‘कुलु रिदुम’ छ । जन्मदेखि मृत्युसम्मको संस्कार तथा संस्कृतिहरु, चाडपर्वहरु, भेषभूषा साझा छन् । सबै संस्कार गराउने मोप, सातिपुस, नोक्छो आदि सामुहिक छन् । साझा इतिहास छन् । उनीहरु सबै विकसित भएको साझा भूगोल हुङ्गु उपत्यका हो । महाकुलुङ छेम्सी कुलु, ताम्सी कुलु, पेल्मो कुलु, सोत्तो कुलु, पावै कुलु सबैको साझा ऐतिहासिक भूमि हो । कुलुङ जातिकै नामबाट महाकुलुङ, कुलुङ जस्ता ठाउँहरुको नाम रहन गएको पाइन्छ । उनीहरुमा संस्कार संस्कृति, चाल चलन (जीवन शैली) समान छ । हामीमा भन्ने भावना छ । छेम्सी, ताम्सी, पिल्मो, सोत्तो सबै एक दाजुभाइ भएकै कारण नेपाल एकिकरणपछि ‘महाकुलुङ’ किपट राज्यले प्रदान गरेको थियो । वंशवलीकै आधारमा भन्ने हो भने छेम्सी, ताम्सी, पिल्मो, नाचिरी आदि हाम्रा पुर्खाका नामहरु थिए । संसारमा एउटै पूर्खाको नामबाट जातिको निर्माण भएको इतिहास पाइन्न । जाति निर्माणमा सँस्कृतिको मूख्य भुमिका हुन्छ । किनभने कोही व्यक्तिको सनकमा एकैपटक सँस्कृतिको निर्माण सम्भव छैन । कुलुङ जातिसँग नजिकैको क्षेत्रमा बसोबास गर्ने थुलुङ(थुलु) र खालिङ(ख्याल) कुनै व्यक्तिको नाम थिएन । स्थान विशेष र सँस्कृति थियो । राम्ररी नबुझी एउटा पूर्खाको नामबाट जाति विभाजन गर्ने हो भने त्यो भन्दा दुर्भाग्य केही हुन्न ।

कुलुङ समुदायका अध्येता भूध्वज थोमरोसद्धारा लिखित सबै पुस्तक र प्रकाशनमा सोत्तो, पिल्मो, छेम्सी र ताम्सी कुलुङ भएको बताएका छन् । थोमरोसकै भनाइलाई हेरौं ः कुलुङ किम्दन्ती अनुसार कुलुङ जातिको उद्गम स्थल महाकुलुङ हो । महाकुलुङभित्र वर्तमान सोलुखुम्बू जिल्लाको पावै, सोताङ, बुङ, छेस्काम र गुदेल गाविसहरु पर्दछन भनेर कलुङ साँस्कृतिक अध्ययन–२०५७ पुस्तकको पेज ३ लेखेका छन् । सोही पुस्तकमा कुलुङ जातिहरुको नागीको ‘नाताबम(कुलुङ पूर्खा हिँडेको प्रमुख ठाउँहरुलाई पुकार्नु)’ पुर्खाले चर्चेको भूमिहरुलाई पुकारिन्छ । महकालुलङबाट केन्पा भञ्ज्याङ पार गरेर संखुवासभा, सुनसरी, मोरङ, झापा, इलाम, दार्जीलिङ, सिक्किम पुगेकाहरुले पुगेको ठाउँमा नागी पुज्दा पहिले पूर्खाले टेकेका सबै भूमिहरु पुकार्दै केन्पा भञ्ज्याङ भएर महाकुलुङ प्रवेश गर्दछन् । महाकुलुङबाट कुलुपोङ्खो–साल्पा भञ्ज्याङ हुँदै भोजपुर र अन्यत्र पुगेका कुलुङहरुले आफ्नो पूर्खा वा आफुले टेकेको÷चर्चेको भूमिहरु पुकार्दै आएर कुलुपोङ्खो भन्ज्याङ भएर महाकुलुङ प्रवेश गर्दछन् । महाकुलुङबाट नेपाल वा अन्यदेशमा गएर बसोबास गरेका कुलुङहरुको नागी पुज्दा महाकुलुङ प्रवेश गरेपछि मात्र महाकुलुङमा बस्ने कुलुङहरुले पुकार्ने ठाउँहरु पुकार्दै नागी पुज्दछन् । संसारका जुनसुकै भूभागमा बसेका कुलुङहरुको नागी पुज्दा छेस्कामको ‘दिन्दोरोउ’ नपुगी हुँदैन ।

त्यस्तै थोमरोस्ले लेखेका छन् ः मृत्यु सम्बन्धि संस्कारलाई हेर्दा सबै कुलुङ जाति(सोत्तो, पिल्मो, छेम्सी, ताम्सी)को मृतात्मालाई पोम्लालुङ पु¥याउने गरिन्छ । पोम्लालुङको अर्थ मृतात्मा राख्ने ढुङ्गा हो । सोलुखम्बु गुदेल गाविसको लिम्चोला गाउँमाथिको ओडारलाई पोम्लालुङ भनिन्छ । कुलुङ पुर्खाको महाकुलुङ प्रवेशपछि भएको पहिलो मृतकको लास पोम्लालुङमा लगेर गाडिएको थियो । किम्बदन्ती अनुसार रावाखोलाबाट राताप्खु नाम गरेको कुलुङ पुर्खा वर्तमान गुदेल शिकार खेल्दै पुगेछन् । उनका दुई छोराहरु रितिवेल र काचीबुइवारिन्दो साथमै लगेछन् । वर्तमान पोम्लालुङ भएको ठाउँमा शिकार खेल्दै पुग्दा राताप्खुका छोरा काचिबुइवारिन्दोको मृत्यु भएछ । राताप्खुले मृतक छोरालाई आफू बसेकै ओडारमा गाडीराखे । त्यसपछिका मृतकहरुको आत्मापनि पोम्लालुङ नै पु¥याउने गरिएको विश्वास गरिन्छ । कुलुङ समुदायका मान्छे संसारको जहाँ मरेको भएपनि मृतात्मालाई पोम्लालुङ नै पु¥याउने गरिन्छ । कुलुङहरुको मृत्यु संस्कारका बेला मृतात्मालाई बुङ– ७ सोमरो डाँडामा भएको पोम्लाकाऊ पानी खाएर जान भनिन्छ । 

थोम्रोसले पछिल्लो पटक सोताङ–कुलुङ वंशवली–२०६४ मा ‘सोताङ र कुलुङ एउटा भाषा र सँस्कृतिमा उनिएको माला हो, उनीहरुको उद्गमथलो महाकुलुङ मानिन्छ । महाकुलुङ नेपालको सोलुखुम्बू जिल्लाको सोताङ, पावै, बुङ, छेस्काम र गुदेल गाविसले ओगटेको भू–भाग हो ।’ प्रष्टसँग लेखेका छन् । भूपध्वज थोमरोस्द्वारा लिखित तथा दुर्गामाया होलुम्बूद्वारा २०५० मा प्रकाशित ‘कुलुङ संक्षिप्त परिचय’ नामक पु।स्तकमा उल्लेखीत तलका पक्तिहरु उल्ले खगरेका छन् ।
1. ‘‘कुलुङ रीतिथिति अनुसारका पाछाहरु राताप्खू, कुलुङ र पिल्मोङ तीन वंशमा विभाजित छन्’’ । (पृष्ठ १०)
2. ‘खाप्दुलूको सन्तान पिल्मोङ गाउँमा विकसित भएकोले पिल्मोङ वंश भनिन्छ । पिल्मो वंशको कुलुङ पाछाहरु सुर्बा, होनित्ती, गोक्तुलू, लोवात्ती, मोरोमूल, थोप, छेन्हो, देउराम, राजित्ती, थोमरोस्, गुरुत्तीस, होलोत्ती, हिन्दुखू, छेइमाहो, येइसा, यातिहो, छानिती, श्रीपोस्, रोजीपोस् आदि हुन् ।’’ (पृष्ठ ११)
  
Traditional dress

कुलुङ वंशवली २०५४ र कुलुङ जनगणना सचेतना अभियान २०६८ को अपिल अनुसार १०५ पाछाका कुलुङहरु रहेका छन् । कुलुङ जातिका पाछा(थरहरु)
क्र.स.    पाछा    क्र.सं.    पाछा    क्र.सं.    पाछा    क्र.सं.    पाछा    क्र.स.ं    पाछा    क्र.सं.    पाछा    क्र.सं.    पाछा
०१.    होनित्ती    १६.    सोम्फोरु    ३१.    छेन्दिसी    ४६.    लोवात्ती    ६१.    जेठाबुस    ७६.    छानीबुस    ९१.    मायात्ती
०२.    कुवित्ती    १७.    बुक्खो    ३२.    छेइमाहो    ४७.    गोमना    ६२.    लाम्लछा    ७७.    छेइमाहो    ९२.    राजीपोस
०३.    हानिबुस    १८.    गेब्दुलु    ३३.    ताम्नीहो    ४८.    होलुम्बू    ६३.    हासिबु    ७८.    पिदिसै    ९३.    हिन्दूखू
०४.    फोनिबु    १९.    होदिबु    ३४.    छाम्नीहो    ४९.    येइमुछा    ६४.    ङोपोचो    ७९.    वालाखाम    ९४.    गुदहो
०५.    आयाबुस    २०.    तोमोछा    ३५.    छेन्हो    ५०.    सभामुख    ६५.    लोमरुस    ८०.    हिमार    ९५.    होङेलु
०६.    थोमरोस्    २१.    होबेर्मी    ३६.    सानालुङ    ५१.    वादिरी    ६६.    श्रीपोस    ८१.    ङोपोबू    ९६.    कुलुखाम
०७.    तोर्ङो    २२.    रिङालु    ३७.    देम्रा    ५२.    गाजीमुक    ६७.    तोरेम्खुस    ८२.    थोप्छा    ९७.    येइसा
०८.    छाप्दुलु    २३.    थिम्रा    ३८.    लामाबुस्    ५३.    ताम्बुछा    ६८.    रिसिगोङ    ८३.    पोखोती    ९८.    मोरोखु
०९.    खम्नीबुस    २४.    गान्खु    ३९.    मुम्हो    ५४.    गुरुत्तिस    ६९.    चारखुस्    ८४.    थोरेप्पा    ९९.    छानित्ती
१०.    तोङेर्बु    २५.    येइमाखुस    ४०.    दिरित्तिस    ५५.    बुङ्माछास    ७०.    मानेथा    ८५.    रिन्हो    १००.    सायोपोस
११.    बार्सी    २६.    सुर्वा    ४१ं    देऊराम    ५६.    मोन्दुलु    ७१.    हारिम्बू    ८६.    रेम्निसिङ    १०१.    गोक्तुलु
१२.    दुङीछास्    २७.    मोतिम्बू    ४२.    मुलुखस्    ५७.    होपोती    ७२.    छामाछा    ८७.    रोङ्गेन्दा    १०२.    मान्थेर्बू
१३.    मोरोमुल    २८.    याप्युछा    ४३.    छाप्कोत्ती    ५८.    राजीत्ती    ७३.    पायात्ती    ८८.    राजीबुस    १०३.    सेकती
१४.    छाक्खोस    २९.    रेप्खोस    ४४.    रिसिङ्खोस    ५९.    रोतेम्बुस    ७४.    देनिखु    ८९.    वारोखु    १०४.    फोनेलु
१५.    रुखुपो    ३०.    दुन्ते    ४५.    रिबित्ति    ६०.    निचित्ती    ७५.    पङ्कीरी    ९०.    थोमनाम्    १०५.    बिजिदेउ

७. कुलुङ संघ निर्माणको इतिहास
कुलुङ समुदायमा जातीय पहिचानको खोजी धेरै पहिलेदेखि हुँदै आएको देखिन्छ । तिलकशंकर सोम्फोरु, कृष्णबहादुर गान्खू लगायतका मानिसहरुको भुमिका महत्वपूर्ण छ । अन्य व्यक्तिहरुले पनि यसमा चासो राखेका थिए । संगठित रुपमा पहिलो कुलुङ जातिको ऐतिहासिक भेला २०४९ पौषमा सम्पन्न भएको थियो । त्यही भेलाले कुलुङ जातिलाई पहिलो पटक संगठित स्वरुप प्रदान ग¥यो । त्यही भेलाले नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ स्थापना ग¥यो । पछि काठमाण्डौंमा हुने कुलुङ समुदायका केही व्यक्तिहरुले कुलुङ राई भाषा सँस्कृति उत्थान संघ, काठमाण्डौं गठन ग¥यो । कुलुङ जातिलाई पहिचान दिलाउने क्रममा त्यसको महत्वपूर्ण योगदान रह्यो । कुलुङ वंशवली २०५४ सालमा सोही संस्थाले गरेको थियो । त्यो वास्तवमै कोशेढुंगा थियो । कुलुङ भाषा सँस्कृति उत्थान संघको संस्थापक महासचिव भूपध्वज थोमरोस कुलुङ थिए । उनकै नेतृत्वमा २०५५ सालसम्म कुलुङ संघ सञ्चालन भएको थियो र वंशवली प्रकाशनको नेतृत्व उनीबाटै भएको थियो ।

छेम्सी, ताम्सी, पिल्मो, सोत्तो, नाम्लु समूहका सवै कुलुङहरु मिलेर कुलुङ संघ ‘नेपाल किरात कुलुङ भाषा, संस्कृति उत्थान संघ’ स्थापना भएको थियो । कुलुङ संघको दस्तावेजहरु अध्ययन गर्दा अधिकांश नेतृत्व पिल्मो र सोत्तोहरुबाटै हुँदै आएको देखिन्छ । छेम्सी, ताम्सी, पिल्मो÷दिस्मी, नास्मी÷नाचिरी आदिका सन्तानहरु कुलुङ भएकै कारण उनीहरुको भाषा, संस्कृति, वंशावली, रहनसहन साझा छ । उनीहरुमा सामुहिकता छ । यसै अनुरुप यी दाजुभाइहरु मिलेर कुलुङ संघ ‘नेपाल किरात कुलुङ भाषा, संस्कृति उत्थान संघ’ को स्थापना गरिएको हो । वर्तमान कुलुङ संघको प्रमुख नेतृत्वमा पिल्मो र सोत्तो समुदायबाट सम्हाल्ने काम भइरहेको छ ।

तर केही व्यक्तिहरु (अध्ययन कमी र इतिहास नवुझेका)वाट समय समयमा भ्रम सृजना गर्ने गरेको पाइन्छ । यसले हाम्रो सोझा, सिधा दाजुभाइ, दिदीवहिनीहरुमा अन्योलता छाएको छ । विभिन्न क्षेत्र, विदेशवाट पनि प्रश्न उठीरहेको छ । यस किसिमको भ्रमवाट मुक्त भै हाम्रो पहिचान र परंपरागत सामुहिकतालाई वलियो वनाउन सवै कुलुङ समुदायको कर्तव्य हो ।

८. पिल्मोहरु किन कुलुङ नै हुन् ?
केही मानिसहरु पिल्मोलाई कुलुङ होइनन् भन्ने भ्रम छरिरहेका छन् । माथि भनि सकिएको छ, चार आदिम कुलुङ पूर्खाहरुमध्ये पिल्मो(खप्दुलु) एक थिए । बुझ्नु पर्ने कुरा केहो भने पिल्मो वंश अन्यत्र जातिको रुपमा विकसित भएर महाकुलुङ आएका होइनन् । कुलुङ सभ्यताकै रुपमा छेम्सी, ताम्सी, सोत्तोसँगै पिल्मो विकास भएको हो । राताप्खु र खप्दुलुहरु महाकुलुङ प्रवेश गर्दा नाछिरिङ भन्ने कुनै जातिको विकास भएको थिएन । नाछिरिङ जाति हो भने त्यसअघि कतै अलग सभ्यताको रुपमा विकसित भएर आएको देखिनु पर्दछ । मिथक आफैँमा इतिहास होइन तथापि लिखित इतिहास नहुँदा यसैको साहारा लिइन्छ । कुलुङ मिथकलाई हेर्दा छेम्सी जस्तै राताप्खु र खप्दुलु घुमन्ते शिकारीका रुपमा, अहिलेको जस्तो सभ्यताको विकास हुनुअघि हुङ्गु उपत्येका आएका हुन् । उनीहरुले छेम्सीसँगै कुलुङ भाषा, सभ्यता र सँस्कार विकास गरेर स्थायी बसोबास गरेको देखिन्छ । कुलुङ सभ्यताको शुरुवातकर्ता छेम्सी थिए । पछि छेम्सी, ताम्सी, खप्दुलु राताप्खु सबै मिलेर साझा कुलुङ सभ्यताको विकास गरे । कुलुङ सभ्यताबाट कुलुङ जातिको विकास भएको हो ।

मोरोमुललाई पिल्मो समूहको पाछाका रुपमा कुलुङ वंशवलीमा समावेश छ । मोरोमुलको कथा यस्तो रहेको छ । धेरै वर्ष पहिले सोलुखुम्बूको जुभिङ गाउँबाट एकजना खालिङ युवा बरालिँदै पिल्मो गाउ आइपुगे । उनी पिल्मोमा नै बस्न थाले । तिमी को हौ ? भनेर सोध्दा कुलुङ भाषामा ‘मोरोङ मोरोङ’ मात्रै भन्थे । पछि पिल्मोकै कुलुङ युवतीसँग विवाह गरेर त्यही बसोबास गरेछन् । पिल्मो गाउमाँ बसोबास गरेपछि उसलाई पनि कुलमा राख्नु पर्ने भयो । कुलुङ परम्परा अनुसार कुल संस्कारमा राख्न दप्स्निङ राख्नु पर्ने हुन्छ । दप्स्निङ दिने कार्यक्रममा उस्ले राँगा काटेर ठूलो भोज लगाए । पुर्खा सम्मेलनमा उस्लाई ‘जुन्जुलु कुरिक्सा निङ्वारी लोरिसा’ दप्स्निङ दिइयो । जुभिङबाट आएको र भोज लगाई दप्स्निङ राखेकाले नाम प्रचलित भएको अर्थमा उक्त दप्स्निङ दिइएको थियो । मोरोमुल कुलुङ संस्कार अनुसार विधि गरेर पिल्मो समूहका कुलुङ भएका थिए । यसले पनि देखाउँछ जातिको निर्माण कसरी हुन्छ भनेर । तर भ्रम छर्नेहरुले मोरोमुललाई अर्कै रुपमा प्रस्तुत गरेका छन् ।

९. जातीय विभाजन वा खण्डिकरणका दुस्परिणामहरु
अहिले एउटै भाषा, सँस्कृति र इतिहास भएका केही कुलुङहरु स्वार्थीहरुको भ्रममा परेर नाछिरिङ हौं भनिरहेका छन् । आफ्नो समृद्ध सभ्यता र पहिचान त्यागेर नाछिरिङ बन्ने प्रकृया पहचिानको खोजी नभइ जातीय अन्तरध्वंस हो । पहिचानको खोजी भन्नु भएको पहिचानलाई मेटेर नभएको काल्पनिक चीज अंगाल्दै अन्तरध्वंसमा जानु कदापि होइन । आफ्ना आदिम पूर्खाहरुले निर्माण गरेरको भाषा–सँस्कृतिलाई त्याग्दै कसैले आवेगात्मक निर्णय गरे भोलिको सन्ततीले सराप्ने छ । अहिले लहडका भरमा कोही कुलुङबाट नाछिरिङ बने त्यसले भविश्यमा आपसी द्धवेष उत्पन्न हुने पक्का छ । भएको गौरवपूर्ण पहिचान त्यागेर अरु नै केही हुनु सँस्कार विहिन ‘कुसुण्डा’ करण हो । हामी कुलुङहरु कुसुण्डाकरण जानु पक्कै सही छैन । इतिहासको विरासत नबुझ्दा हामी जंगली अवस्थामा फर्कने दिन आउने अवस्था बन्छ । संसारमा भाषाको कारण धेरै द्धन्द्धहरु भएका छन् । बंगलादेश, तमिलनाडु, गोर्खाल्याण्ड, श्रीलङ्कन गृहयुद्ध आदि दर्जनौ यसका उदाहरण छन् । अहिले देखा परेको विभाजनको भोलीको दृष्य दाजुभाइ र छिमेकीबीच काटाकाट हो । हामी आदिवासी अगुवा भनिएकाहरुले खोजेको भोली त्यो दुर्दान्त दिन होइन ।

दश वर्षबढीको पहिचानको लँडाइबाट हामी कुलुङहरु एउटा सार्वभौम अलग आदिवासीको रुपमा मान्यता पाउने अवस्थामा पुगेका छौं । यो बेला इतिहासले विभाजनको होइन थप एकता र सशक्तताको जिम्मेवारी हामीलाई दिएको छ । अहिलेको यो स्वर्णिम अवसरलाई नचिन्ने हो भने हामी फेरी दुर्भाग्यको गर्तमा फस्ने पक्का छ । नाछिरिङ भन्नेहरुले आफुलाई पहिचान दिलाउन त सक्ने छैनन् नै कुलुङलाई पनि डुबाउने छन् । सचेत कुलुङ पूर्खाहरु जोसमा होइन होसमा आएर जातीय एकतामा जुट्नु जरुरी छ । भएको हातखुट्टा काटेर आफैँ अपाङ्ग बन्नमा तर्फ कोही लाग्ने छैनौं ।

१०. बंशवलीको आलोचना ः
अहिले नाछिरिङको वकालत गर्नेहरुले छेम्सी र राताप्खुको मामा–भाञ्जा साइनो थियो भनिरहेका छन् । तर कुलुङ वंशवलीलाई हेर्ने हो भने छेम्सी राताप्खुको मामा नभएर दाजु थिए । उनीहरु काका बडाबाका छोराहरु थिए । कुलुङ वंशवलीमा भूपध्वजले खुवोलुङ(बराहक्षेत्र ?) भनेर लेखेका छन् । इतिहाससँग छेउटुप्पो मिल्दैन । किराती मिथक र इतिहासले किरात सभ्यताको विकास ब्रहम्पुत्र नदीको मैदान–कामरुप(मिनापोङ्खो–हाल्कुम्बू)मा भएको बताउँछ । पछि गंगाको उत्तरी मैदान हुँदै सिन्धुघाँटीसम्म पुगेको थियो । किरातीहरु शिकार खेल्नेक्रममा पहिल्यै हिमालय पर्वततिर आउने गर्दथे । पहाडी क्षेत्रमा बाक्लो बसोबास भने गंगाको मैदानमा आर्यहरुको अतिक्रमण बढ्दै गएपछि भएको हो । आदिम किरात पूर्खा खम्बुहोङ बराह क्षेत्रमा थिएनन् ।

कुलुङ पूर्खा महाकुलुङ प्रवेश हुँदा आफैँबीचमा विहेबारी हुने चलन अन्त्य भइसकेको थियो । जबकी खम्बुहोङको पालामा आफ्नै परिवारको चेली विहे गर्ने चलन थियो । खम्बुहोङ कम्तिमा ३० हजार वर्ष पहिलेका पूर्खा थिए । यहाँ आउने कुलुङ पूर्खाहरु खम्बूहोङ नातीहरु थिएनन् । धेरैपछिका दर सन्तानहरु थिए । किन भने त्यो बेलासम्म सभ्यताको पूर्ण विकास नभएपनि आफ्नो परिवार भन्दा बाहिर विहे गर्ने चलन सुरु भइसकेको थियो । त्यसलाई मिथकले पनि स्वीकार गरेको छ । कुलुङ पूर्खाहरु थुलुङ, साम्पाङ या खालिङ मात्रै विहे गर्दथे ।

यलम्बर अगाडि कि खम्बुहोङ ? कुलुङ बंशवली बोल्दैन । पक्कै खम्बुहोङ अगाडिका हुन् । तर उनको वा उनको कुन दाजुभाइको दर सन्तान यलम्बर भए त ? खासमा पहिले साँघु र पुलहरु नहुने भएकाले सोझै सप्तकोशी तर्ने सम्भावना थिएन । नदीको साँघुुरो ठाउँ खोज्दै साँघु थापेर वारिपारि तर्दै तराईबाट पहाडमा प्रवेश गरेका थिए । खुवोलुङ बराह क्षेत्र नै हो भनेर दाबी गर्न सकिने कुनै आधार छैन । बराहक्षेत्रलाई खुवोलुङ भनिदिँदा किरात इतिहास साँघु¥याउने मुर्खतापूर्ण अपराध बाहेक केही हुन्न ।

खासमा किरातीहरु पूर्वबाटै उपत्यका प्रवेश गरेर राज्य गरेको थिए । पछि युद्धमा हारेपछि पूर्वतिरै फर्किए र सुनकोशी पूर्वको पहाडी क्षेत्रमा सदासदालाई बसे र पूर्खाको विरासतलाई निरन्तरता दिए । बंशवलीमा छोराहरुको नाम अनुसार थर भएको लेखिएको छ । कुलुङ परम्पराअनुसार ७ पुस्तामा हाडफोड्न मिल्ने भएकोले एउटै वंशजमा विहेबारीपछि मात्रै थर(पाछा) फेर्ने चलन छ । त्यसो भएको हुनाले छोराहरुको नाम नै थर राखिएको सत्य होइन । छेम्सीका सन्तानहरु धेरै समय त्यही मात्रै भएर रहे । ताम्सी, खप्दुलु राताप्खुको पनि त्यही भयो । बाटोघाटोको असुविधा र फरक समुदायबीचको बेमेलका कारण पछि हुङ्गु उपत्येकामा रहेका चार कुलुङ पूर्खाका सन्तानहरुले आपसमानै विवाह गर्ने निर्णय गरे । हाडफोडियो र फरक–फरक दप्स्नीङ र पाछा दिन थालियो । अद्यपि कुलुङ समाजमा त्यही चलन छ । उदाहरणको लागि तोमोछाबाट हाडफोडेर मोरोखु नामाकरण गरियो । मोरोखुका तीन छोराहरु गोत्ती, छतिङ्खो र बाच्छो भए । उनीहरुको नाम फरक फरक भएपनि त्यो पाछा भएन, एउटा बंश(गोङ) मात्रै भयो । अहिले समग्रमा सबैले मोरोखु नै भन्दै आएका छन् । गोत्ती र छतिङ्खोमा केही हाडफोडिएको भएपनि मुइकुमले मोरोखु नै भन्दै आएकाछन् ।

११. अबको हाम्रो बाटो र युवा दायित्व
अहिले हामी इतिहासको एउटा कठीन घडिमा छौं । हजारौं वर्षको प्रयासबाट निर्माण भएको कुलुङ सँस्कृत, इतिहास र गौरवलाई उँचो बनाउने हामी सबैको दायित्व हो । मानवशास्त्रीय÷समाजशास्त्रीय तथा भाषाशास्त्रीय अध्ययन – अनुसन्धानले कुलुङहरु छुट्टै पहिचान भएका सार्वभौम आदिवासी जातिहरु हुन भन्ने प्रमाणित गरी सकेको छ । यस अवस्था हामीले विभाजनको विषाक्त रेखाहरु कोरेर विनासको बाटो रोज्नु बुद्धिमानी हुन सक्दैन । कुलुङ समुदायका बुद्धिजीवि, महिला, युवा सबै जातीय, भाषिक, साँस्कृतिक र सामाजिक एकतामा लाग्नुको विकल्प छैन । हामीसँग धेरै समय उपलब्ध छैन । अलमलमा पर्नु हुँदै हुन्न । ओलोनुव !

रित्तो सुझाब पेटिका

जुनसुकै सरकारी कार्यालयमा पनि कार्यालयले प्रदान गरेको सेवा सुविधा प्रति गुनासो तथा सुझाव लिनका लागि सुझाव पेटिका राखिएको हुन्छ । कार्यालयको मुल प्रवेशद्धार नजिकै राखिने सुझाव पेटिका जोकोहीले पनि कार्यालय छिर्ने बेलामा सजिलै देख्न सक्छन् ।
कार्यालयवाट सेवा लिँदा सबै सेवाग्राहीहरु पक्कै सन्तुष्ट हुँदैनन् । सेवामा सुधारका लागि सेवाग्राहीकै सल्लाह, सुझाब र गुनासो लिन राखिने त्यस्ता सुझाब पेटिका सोलुखुम्बुमा भने प्रयोगवीहिन बनेको छ । सरकारी कार्यालयहरुमा राखिएका त्यस्ता सुझाब पेटिकामा बर्षौदेखि सुझाब तथा गुनासोहरु पर्न सकेको छैन ।
जिल्ला प्रशासन कार्यालयमा राखिएको सुझाब पेटिकामा विगत ६ महिनादेखि एउटै पनि सुझाब परेको छैन । कामु प्रमुख जिल्ला अधिकारी चोमोन्द्र न्यौपाने भन्नुहुन्छ “सुझाब पेटिकामा सुझाबै पर्दैन, ६ महिनादेखि खाली छ ।” सुझाब पेटिकामार्फत् कसैले उजुरी समेत नदिएको न्यौपानेले बताउनुभयो ।
जिल्ला प्रशासनको मात्रै हैन जिल्ला प्रहरी कार्यालयको सुझाब पेटिकाको हालत पनि उस्तै छ । उजुरी दिनु परे सेवाग्राहीहरु सिधै कार्यालयमा नै पुग्ने गरेकाछन्, सुझाब पेटिका तिर ध्यान नै दिँदैनन् । “दिनहुँ दर्जनको हाराहारीमा उजुरी आउने गरेको भएपनि सुझाब पेटिकामा केही छैन” प्रहरी नायब उपरिक्षक योगबहादुर पालले भन्नुभयो ।
जिल्लाका अरु सरकारी कार्यालयका सुझाब पेटिकाहरुमा पनि सुझाब नपर्ने सम्बन्धित कार्यालय प्रमुखहरुको भनाई छ । सुशासन व्यवस्थापन ऐन २०६४ अनुसार प्रत्येक कार्यालयमा सुझाब पेटिका राखिएको छ ।

हटेन मानापाथीको चलन

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाटमा अझैपनि मानापाथीको प्रयोग भईरहेकोछ । नापतौलको व्यवस्था अनुसार खरिद बिक्री गर्दा मानापाथीको चलन अबैधानिक हुने भएपनि सदरमुकाम सल्लेरी स्थित सार्वजनिक हाटमा नै मानापाथीको प्रयोग भईरहेको हो । 
आफ्नै घरमा उत्पादन भएका अन्न लगाउत बिक्रीका लागि ढक तराजु खरिद गर्न नसक्नु र मानापाथीकै चलन हुनुले यसको प्रयोग भईरहेको व्यापारीहरु बताउँछन् भने ग्राहक कसको मानापाथी ठुलो र सानो भन्दै खोजी गरिरहेका हुन्छन् ।  नेलेबाट मकै बिक्री गर्न आउनु भएका भिम बहादुर कार्की मानाले भरेर मकै बेच्दै हुनुुहन्थ्यो । उहाँ भन्नुहुन्छ “केही पाथी अन्न बेच्न कहाँबाट ढक तराजु किन्नु र ?” । नापतौलको सर्वमान्य ईकाईको प्रयोग गर्नुपर्ने व्यवस्था रहेको भएपनि सल्लेरीको साप्ताहिक बजारमा परम्परागत नापतौलको साधन मानापाथी चलनमा छ । 
मकै किन्न लाग्नुभएका सल्लेरी ५ का गोपी निरौला कसको माना ठुलो भनेर खोज्दै हुनुुहुन्थ्यो उहाँले भन्नुुभयो “मानापाथी व्यक्तिपिच्छे साना ठुला छन्, कहाँ ठुलो छ भन्दै खोज्दैछु” । बजारमा मानापाथीको प्रयोग खुल्ला रुपमा भईरहेकोछ भने मानापाथीको आकार सानो ठुलो हुने गरेको ग्राहकहरुको भनाईछ । तिंलाका व्यापारी रेवतकुमार कार्की आफै मानापाथी सानो ठुलो हुने स्विकार्नुहुन्छ । 
जिल्ला बजार अनुगमन समिति सोलुखुम्बुले पछिल्लो समयमा बजार अनुगमनको कामलाई तिब्रता दिईरहेको छ । तर मानापाथीमा भने उसको ध्यान नगएको पाईन्छ । किन त ? जिल्ला बजार अनुगमन समिति सोलुखुम्बुका संयोजक चौमेन्द्र न्यौपाने भन्नुहुन्छ “प्राय गाउँबाट आफ्नै उत्पादन ल्याएर बेचिरहेका छन्, त्यसैले हामीले कडाई नगरेको हो, अहिलेका लागी आफ्नो उत्पादन बिक्री गर्नेलाई कारबाही नगरेको भएपनि मानापाथीको प्रयोग बिरुद्ध कारबाही शुरु हुन्छ” 
सदरमुकाम स्थित साप्ताहिक हाटमा अहिलेपनि खुलेआम मानापाथीको प्रयोग भईरहेकोछ । चलनमा रहेको कारण परम्परागत मानापाथीको प्रयोग तत्काल हटाउन व्यवहारीक कठिनाई भएपनि चेतनामुलक कार्यक्रम गरी निस्चित अबधिभित्र यस्ता नापतौलका साधनलाई बिस्थापित गर्नुपर्छ । अहिलेपनि मानापाथी सानोठुलो हुने गुनासो रहेकोले बजार अनुगमण समितिले यसमा ख्याल गर्नैपर्छ ।