सवलाङ्ग भन्दा कम छैन बासु

विवश कुलुङ
   
अरुले खुट्टामा लगाउने चप्पल उनी हातमा लगाउछन् । खुट्टामा जुत्ता चप्पल केही नलगाउने उनी चार पाउ टेकेर मात्र हिड्न सक्छन् । एक ठाउँबाट अर्को ठाउँमा जानका लागि भर्खरै बामे सर्दै गरेको बालक झैं चार हातखुट्टा टेकेर हिड्नुको अर्को विकल्प छैन उनीसँग ।   सानै उमेरमा कम्मरभन्दा तलतिरको भाग नचलेपछि विगत अढाई दशक यता बुङ सोलुखुम्बुका बासु कुलुङ राईको जीवन यसैगरी चल्दै आएको छ । तर पनि सवलाङ्ग व्यक्ति सरह दुरी पार गर्न सक्छन् उनी ।  
सदरमुकाम सल्लेरीदेखि करीब १९ कोषको दुरीमा रहेको बुङदेखि सल्लेरीसम्म साथी बिना नै कयौंपटक ओहोरदोहोर गरेका छन् उनले । पहिलो पटक २०६२ सालमा एस.एल.सी परीक्षामा सामेल हुन सदरमुकाम पुगेका बासु त्यसयता १०÷१५ पटक ओहोरदोहोर गरिसकेको बताउँछन् । ‘अन्य व्यक्तिहरुलाई सल्लेरी पुग्न दुई दिन लाग्छ म पनि अढाई दिनमा त पुग्ने गर्छु’ उनले भने । 
हालसम्म चारपाऊ टेकेकै भरमा उनले जिल्लाको नाम्चे, लुक्ला जस्ता ठाउँको समेत भ्रमण गरिसकेका छन् । कम्मर भन्दा मुनितिरको भाग नचलेपनि उनी धेरैजसो कामहरु गर्न अन्य व्यक्ति झैं सक्षम छन् । भन्छन् ‘ठूला ठूला भारी बोक्ने र दौडने बाहेक अन्य काम गर्नका लागि मलाई सवलाङ्ग व्यक्तिले पनि भेट्न सक्दैन ।’
 बासु साना तिना भारी बोक्न पनि सक्छन् भने कुटो कोदालो खन्न, बाँस तथा निगालोको काम गर्न र हातले गर्न सक्ने अन्य कामहरु सहजै गर्न सक्छन् । उनी अहिले पनि बाँस तथा निगालोबाट विभिन्न सामग्रीहरु बुनी सोही सामग्री बेचेर जीविका चलाउदै आएका छन् ।
केही बर्ष अघि सम्म अपाङग भत्ता पाउदै आएका बासुले अहिले भत्ता पाउन पनि छाडेको छ ।  भत्ता बापत पाउने रकमबाट पढाईलाई निरन्तरता दिदै आएका बासुले भत्ता पाउन छाडेपछि पढाईलाई निरन्तरता दिन हम्मेहम्मे परेको बताए । 
चार पाऊ टेकेर भए पनि आफ्नै गा.वि.स.मा गनिएका कलाकार पनि हुन किनकी बासु सानो छदा विद्यालय छुट्टि भएपछि घरमा बसेर घरको कुखुरा, गाई भैसी लगाएतका बस्तु हेर्ने काम उसको जिम्मेवारी रहेको थिए जति बेला उ घरमा बस्दथ्यौ त्यहि समयमा आफ्नो कर्तव्य निर्वाह सँगै संगित सिक्नु उसको लक्ष्य थियो । 
      संगितमा मोह जमेका बासु संगित कसैबाट संगीत कक्षा नलिए पनि आफ्नै चासोका कारण अहिले बुङमा नै रहेको हिउचुली एकता क्लवका कलाकार हुन । बासुले बाँसुरी र हार्माेनियम राम्रो सँग बजाउन आउछ । साथै विभिन्न प्रतियोगितात्मक कार्यक्रममा बासुले नै गीत रचना गर्ने गरेको बताउछन् ।